रमझममंगलबार, पौष १६, २०७०
राजेश खन्नाका क्रेजी
बलिउड अभिनेता राजेश खन्नाका डाइहार्ट फ्यान हुन् दिनेश अर्याल । ३ साउन २०६९ मा राजेश खन्नाको मृत्यु भएको दिन दिनेशका लागि निकै दुखद रह्यो । उनले पसल बन्द गरे । आफ्ना प्रिय अभिनेताको मृत्यु शोकमा डुबेका उनले खाना पनि खाएनन् ।
वीरगञ्जको माईस्थान चोकमा रहेको उनको घरमाथि झुण्ड्यइएको राजेश खन्नाको पोष्टर उनले चार हजार रुपैयाँ खर्च गरेर बनाएका हुन् । ४८ वर्षीय औषधि पसले दिनेशलाई राजेश खन्नाका चलचित्र र गीतहरु कण्ठस्थ छन् ।
प्रत्येक वर्ष २९ डिसेम्बरमा राजेश खन्नाको जन्मदिन उनले धुमधामका साथ मनाउँछन् । दुई छोराका पिता दिनेशको घरका भित्ता, पसल, कम्प्युटर, ल्यापटप र मोबाईलमा पनि राजेश खन्ना कै फोटो देखिन्छन् । उनको फेसबुकको भित्ता खन्नाकै फोटोले भरिभराउछन् । उनलाई फोन गर्नेले राजेश खन्ना अभिनित चलचित्रका गीत सुन्नै पर्छ । हरेकरात उनी राजेशका गीत सुनेर निदाउंछन् ।
२० वर्ष पहिलेदेखि औषधीको ब्यवसाय गरिरहेका अर्याल सानैदेखि आफू राजेशको फ्यान भएको बताउंछन् ।
ब्यवसायबाट फुर्सद हुनासाथ उनी राजेशको चलचित्रको गीत सुन्ने, फोटो हेर्ने र फेसबुकमा फोटो अपडेट गरेर बस्छन् ।
कसैले आफ्नो अगाडि राजेश खन्नाको नराम्रो कुरा गरेमा मारौंला झैं गर्ने दिनेशका लागि राजेश खन्ना भगवान जस्तै हुन रे ।
बिम्मी शर्मा, वीरगञ्ज