खेलकुदशुक्रबार, साउन १२, २०६९

यसरी शुरु हुँदैछ गृष्मकालिन ओलम्पिक २०१२

हिमालखबर

ओलम्पिक शुरु हुनुअघि लण्डनस्थित रंगशाला । तस्बीरः एपी

सन् १९०४ मा पहिलो पटक ग्रीसमा आयोजना गरिएको ओलम्पिकका २९ वटा संस्करण सम्पन्न भैसकेका छन् । तीसौं संस्करण आयोजना गर्न लागेको बेलायतले यस अघि सन् १९०८ र सन् १९४८ मा पनि आयोजना गरिसकेको छ । ओस्कार अवार्ड विजेता निर्देशक डेनी बोएलद्वारा निर्देशन गरिएको यस उध्घाटन समारोहलाई “आएल्स अफ वन्डर ” नाम दिइएको छ ।

समारोहमा हुने कार्यक्रमबारे विस्तृत विवरण आइनसके पनि रङ्गशालालाई ग्रामीण बेलायतको झल्को दिने गरी रुपान्तरण गरिनेछ । साथै एलिस इन वन्डरल्यान्ड, पिटर प्यान र ह्यारी पोट्टरका चरित्र लाई पनि प्रस्तुत गरिने कुरा सञ्चार माध्यमले बताएका छन् । समारोहमा भारतीय सङ्गितकार ए.आर. रहमानको सङ्गित पनि गुन्जिनेछ । समारोहको अन्त्यतिर प्रख्यात साङ्गितिक समुह बिटल्सका पुर्व सदस्य पल मकार्ट्नी र अभिनेता ड्यानिएल क्रेगले पनि प्रस्तुति दिनेछन् ।

ओलम्पिक ज्योति प्रज्ज्वलन गर्ने क्रममा चर्चित फुटबल खेलाडी डेविड बेकहमको पनि भूमिका रहने छ । यस ओलम्पिकको खर्च कारीब आठ अर्ब पाउन्ड अनुमान गरिएको छ भने उद्घाटन समारोहको लागत करीब दुइ करोड ७० लाख पाउन्ड बताइएको छ ।

करीब ८०००० दर्शकले रङ्गशालामै हेर्ने आँकलन गरिएको यस कार्यक्रममा बेलायती महारानी एलिजाबेथ द्वितियका साथै विश्वका थुप्रै मुलुकका बिशिष्ट पाहुनाहरु पनि उपस्थित हुने छन् । १२ अगष्टमा समापन हुने यस उत्सवमा २०४ देशका कारीब १०५०० खेलाडीहरुले २६ खेलका ३०२ इभेन्टहरुमा प्रतिस्पर्धा गर्नेछन् । आयोजक बेलायतका सर्वाधिक ५४२ खेलाडी सहभागी हुने छन् भने संयुक्त राज्य अमेरिकाका ५३४, रुसका ४४१, अस्ट्रेलियाका ४१४, जर्मनीका ३९५ र चीनका ३७९ खेलाडीहरु प्रतिस्पर्धामा उत्रीनेछन् । खेलाडीहरुको मार्च पाष्टमा सबैभन्दा पहिले ग्रीसका खेलाडी हुनेछन् भने अन्तिममा आयोजक बेलायत को टोली हुनेछ ।

२००८ मा बेइजिङमा भएको अघिल्लो ओलम्पिकमा ५१ स्वर्ण पदक सहित पहिलो स्थानमा रहँदै चीनले लामो समयको अमेरिकी वर्चश्वलाई तोडेको थियो । यस पटक भने अमेरिका फेरी पदक तालिकाको अग्र स्थानमा आउने विश्वास विश्लेषकहरुले लिएका छन् ।

नेपालको सहभागिता
नेपालको तर्फबाट यस ओलम्पिकमा ५ खेलाडी सहभागी रहनेछन् । एथ्लेटिक्सको १०० मिटर इभेन्टमा महिलातर्फ प्रमिला रिजाल र पुरुषतर्फ तिलकराम थारुले प्रतिस्पर्धा गर्नेछन् भने शुटिङको १० मिटर एयर राइफलमा स्नेह राणा सहभागी हुनेछिन् । पौडीतर्फ पुरुष ५० मिटर फ्री-स्टाइलमा प्रसिद्ध जङ शाह र महिला १०० मिटर फ्री-स्टाइलमा श्रेया धिताल प्रतिस्पर्धामा उत्रीनेछन् । प्रसिद्ध जङ शाहले नेपाली टोलीको मार्चपाष्टमा राष्ट्रीय झन्डा बोक्नेछन् । बिधान लामाले प्रदर्शन खेलमा पदक जिते पनि नेपाल ओलम्पिक इतिहासमा अहिलेसम्म पदक विहिन रहेको छ । यस पटक पनि नेपाली खेलाडीहरुबाट पदकको आशा नराखिए पनि राष्ट्रीय किर्तिमान तोड्न सफल हुनेछन भन्ने बिश्वास नेपाली खेलप्रेमीहरुले गरेका छन् ।

१७ दिन सम्म चल्ने यस महान् खेल मेलामा उत्कृष्ट खेल हेर्न पाइने कुरामा कसैको दुइ मत छैन । युसेन बोल्ट्, माइकल फेल्प्स्, ब्राड्ली विगिन्स्, कृस होए, साइनानेह्वाल्, मार्टा, लेब्रोन जेम्स्, टाइसन गे जस्ता हस्तीहरुले दर्शकहरुलाई रोमान्चित बनाउने छन् । के अमेरिकाले अघिल्लो ओलम्पिकमा गुमेको साखलाई फेरी हात पार्न सफल रहला ? के लन्डन ओलम्पिक्सले २००८ को बेइजिङ ओलम्पिक्स , जसलाई अहिलेसम्मकै उत्कृष्ट र सफल मानिएको छ, लाई माथ दिन सक्ला ? उत्तर भने आउने दिनले बताउने नै छ ।
सन्देश पन्त

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...