खेलकुदबिहीबार, पौष १८, २०७०
न्यूजिल्याण्डमा नेपालको जीत
वान–डे विश्वकप क्रिकेट छनौटको तयारीमा रहेको नेपालले न्यूजिल्याण्डको क्यान्टबरी सेलेक्सन टीमलाई हराएको छ । १८ पुसमा नेपालले ८ विकेटको जीत हात पारेको हो ।
क्यान्टबरीले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले ३३ दशमलव २ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ९९ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले ५१ र सुवास खकुरेलले ३१ रन जोडे ।
पहिले ब्याटिङ गरेको क्यान्टबरीले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । नेपालका सागर पुन र सोमपाल कामीले चार–चार विकेट लिए । वसन्त रेग्मीले दुई विकेट झारे ।
श्रीलंकामा चार वटा अभ्यास खेल खेलेर नेपाली टीम विश्वकप छनौट खेल्न न्यूजिल्याण्ड पुगेको हो । नेपालले २९ पुसदेखि १८ माघसम्म आईसीसी विश्वकप क्रिकेट छनौट खेल्नेछ ।
त्यसअघि राष्ट्रिय टीमले २६ पुसमा नामिबिया र २७ पुसमा केन्यासँग आईसीसीको आधिकारिक अभ्यास खेल खेल्नेछ । छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान–डे विश्वकपमा सहभागिता जनाउने छन् भने शीर्ष चारभित्र पर्ने टीमले वान–डे मान्यता पाउने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
