ब्लगबिहीबार, पौष १८, २०७०

मिस्टर राइट

महेश थापा

ग्राफिक्स: बिलाश राई

बुझकीलाई अबुझहरूमाझ् काम गर्न अचाक्ली गाह्रो हुँदोरहेछ गाँठे! डेढ अक्कलीहरू न आफू जान्दछन्, न त भनेकै मान्दछन्। हुन त तिनको त्यति बुद्धि भइदिए मैजस्तो पढाकू भइहाल्थे। आफ्नै सोच र प्रतिबद्धता लागू गर्न आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत नभएर मात्र, दुई/तीन दशकका लागि यो देशको जिम्वाल तिमी नै भयौ भन्दिएको भए छलाङ्ग मारेर देखाइदिन्थें म। भोकाहरूले के दिन्थे?

पार्टी र दस्तावेजले जेसुकै भनोस्, व्यक्तिगत रूपमा मैले सापेक्षतामा सही सोच राखें, सही कुरा उठाएँ। म जे बोल्छु, त्यही सत्य हो। नमान्नेहरू अज्ञानी हुन्। एकादेशमा हाम्लाई लाग्यो कि रूखबाट चरा खसाले झैं सत्ता बन्दूकको नालबाट फुत्त खसालिन्छ। कोशिश गरेर हेर्दा चरा नखसे पनि रूखको फल खसालेर डकार्न सक्ने भइयो। अहिले त्यस्ता दुस्साहसी कुरा गर्नेहरू देख्दा कुरीकुरी भन्न मन लाग्छ। दुवै अवस्थामा हामी नै सही हौं भन्ने हामीलार्ई लागिरा’छ। के भयो हाम्रो कुरा बदलिएर? घोडा चढ्ने मान्छे लड्छ पनि। परिणाम खराब आए’नि प्रयत्नमा कुनै खोट देख्दिनँ।

अधिपति होइएला भनेर राष्ट्रपति, पशुपति, सेनापतिमा खेल्न मन लाग्यो, खेलियो। गोल गरम्ला भन्नेथ्यो, आफैं भकुण्डो होइएला भन्ने जान्न ज्योतिष परिएन आफू। सोलोडोलो पारम्ला भनी संविधानसभा विघटन गर्‍या हो, यस्तो दुर्दिन लेराउला भन्ने के जान्नु? उद्देश्य पवित्रै हो, तर घरका भेदीहरूले बिताए। आफ्नो हातको डाडुपन्यूँ अर्कालाई बुझाएर कहीं अघाउँजी खान पाइन्छ?

छिमेकीकोमा जुवा खेल्न जानु हुन्नथ्यो भनी फत्तुर लाउँछन्। उहिल्यै खुइलिइसकेको कुरालाई अहिले दाँजेर हुन्छ? हात्तीको त दुईथरी दाँत हुन्छ, हामी झ्न् माहुते। बुद्धुहरू कनिकुथी तीन आयाम देख्छन्, चौथो आयाम थाहा छैन। खोटाहरूले जति बात लाए’नि केही लछार्ने होइन।

अरूलाई के दोष दिनु? ओरालो लाग्या वेलाँ आफ्नैले ख्यार्दा र’छन्। हुँदाहुँदा अब त छुसी भुर्कुण्डाहरूले समेत फेसबुके र ट्वीटे नेता होइएला भनेर होला अर्ति–बुद्धि दिन थालेका छन्। मान्छेलाई आफ्नै मगजको तौल किन था’नभा होला। के भा’हुन् यी ठेट्नाहरू? खुलेआम अडबाङ्गे कुरा गर्ने ठेउके कसरी सरल होस्। त्यो त हाम्रो सहयात्री नभई अर्कै बसको टिकट काटिसक्या यात्री हो। हैन भने, जनताले नबुझे पनि सदावहार सही बोल्ने मान्छेको कुरा आफ्नाले त पत्याउनुपर्छ नि! खसोखास कुरो के भने हामीले चुनाव आफ्नै कारणले हारेको हो। त्यसलाई कहिले हामी हो भन्छम् त कहिले होइन भन्दै डुक्रिन्छम्। भ्रम नरहोस्, ती दुवै पूर्ण सत्य हुन्। रनभुल्लमा पर्नुभो होला, तर घुमिफिरी कुरो चौथो आयामकै आउँछ, जुन सबैले बुझदैनन्।

नैया पार लगाउने हो भने समावेशी लोकतान्त्रिक ढंगमा पार्टी र देश चलाउनुपर्छ। तात्तो न छारो बहुलवाद/सहुलवादको कुरा झिकेर मेरो पारो तताउने हैन। एकदलीय लोकतन्त्र र बुर्जुवा लोकतन्त्रको फ्युजनबाट जन्मने वर्णशंकर व्यवस्था आजको आवश्यकता हो। नेतृत्वमा हाम्ले’नि पालो पाउने व्यवस्था गरिएन भने लोकतन्त्र समावेशी हुन्न। अब जात–जातको अलग्गै प्रत्यक्ष निर्वाचनको प्रपञ्च पनि मिलाउनुपर्छ। अर्को कुरा, चुनावी खर्च राज्यले दिएन भने लोकतन्त्र जिम्दो रहन्न। चिलगाडी विना हलचल गर्न नसक्ने भइहालियो। यस्तो महँगो चुनाव हारियो भने जोगी बन्न कतिन्जेल लाग्ला र?

राजनीतिको चिम्टे माटोलाई गँड्यौलीकरण गरेर जम्मा पार्‍या सम्पत्ति ह्वारह्वार्ती खर्चेर सन्न्यासी बन्न राजनीति गर्‍या होइन नि! चुनाव आउँदै–जाँदै गर्छ, जनताले मैमाथि बेपत्ता आशा, भरोसा राख्या छन्। ज्ञानी बनी भन्या मान्ने कि सदा अज्ञानी रहने, आफैं विचार गर्नु।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>