रिपोर्टआइतबार, पौष २१, २०७०
अरूको बढेन एमाओवादीको घट्यो
२०६४ सालको संविधानसभा निर्वाचनमा काभ्रे, सिन्धुपाल्चोक र दोलखाका ९ क्षेत्रमध्ये ८ वटामा जितेको एमाओवादीले यो पटक एउटा क्षेत्रमा मात्र जित्यो। गत निर्वाचनमा एक क्षेत्र मात्र जितेको एमालेले यो पटक पाँच क्षेत्र जित्यो भने पहिले नजितेको नेपाली कांग्रेस तीन ठाउँमा विजयी भयो।
आश र त्रास देखाएर जितेका माओवादीका उम्मेदवार निर्वाचनपछि गाउँ नफर्केकाले पराजित भएको स्थानीय बताउँछन्। सिन्धुपाल्चोक–३ मा पर्ने हेलम्बु, टिम्बुका जङ्बु शेर्पाका अनुसार गत निर्वाचनमा माओवादीबाट त्यो क्षेत्रमा जितेका दावा तामाङ निर्वाचनपछि गाउँमा देखा नपरेकाले एमाओवादीबाट यो पटक उठेका बिलबहादुर रायमाझी चौथो बने। गत निर्वाचनमा दावासँग १०० मतले हारेका एमालेका शेरबहादुर तामाङले मतदातासँग निरन्तर सम्पर्कमा राखेकाले यो पटक दुई हजारभन्दा बढी मतान्तरले राप्रपाका पशुपति शमशेर राणालाई हराएको उनको भनाइ छ।
मतदाताको मनोविज्ञान फेरियो
दुई जना प्रधानमन्त्री बनाउँदै तीन पटक सरकारमा गएर पनि कुनै काम नगरेकोले मतदाताले एमाओवादीलाई मत नदिएको सिन्धुपाल्चोकको किउलका पीताम्बर भण्डारी बताउँछन्। एमाओवादी कार्यकर्ताको धाक र रवाफ गाउँमा अझ्ै भए पनि सर्वसाधारण डराउन छाडेकाले एमाओवादीले मत कम पाएको उनको भनाइ छ। एक पटक चुनाव जितेपछि सधैं जितिन्छ भन्ने मनोविज्ञानका कारण एमाओवादीले संगठन निर्माण नगरेकाले पनि ऊ पराजित भएको उनको निष्कर्ष छ। “उनीहरूले आफ्नो सतही संगठनलाई सुधार गरेनन् भने अर्काे पटक अझ् नराम्रोसँग हार्नेछन्”, भण्डारी भन्छन्।
निर्वाचनमा दलहरूले पाएको मतले अरू दलहरूले जितेको भन्दा एमाओवादीले हारेको बढी देखाउँछ। सिन्धुपाल्चोक–३ मा १४ हजार ५२७ मत ल्याएर यो पटक विजयी बनेका एमालेका तामाङले गत निर्वाचनमा पराजित हुँदा पनि १४ हजार ११६ मत ल्याएका थिए। तर, त्यो वेला १४ हजार २१६ मत ल्याएको एमाओवादीले यो पटक चार हजार ५८४ मत मात्र ल्यायो।
यो पटक जितेका एमाओवादीका अग्नि सापकोटाको मत पनि उल्लेखनीय रूपमा घटेको देखिन्छ। पहिले २० हजार मतान्तरले जितेका उनले यो पटक १८ हजार मत कम ल्याउँदै एमालेका सुवास कर्माचार्यलाई ६५० मतले मात्रै जिते। कर्माचार्यले दुवै निर्वाचनमा पाएको मत भने झ्न्डै उत्ति नै छ।
सिन्धुपाल्चोक–१ मा पनि पहिले २१ हजार ३२० मत ल्याएर माओवादीका राजकुमार श्रेष्ठले जितेकोमा अहिले एमाओवादी उम्मेदवार सरल सहयात्री पौडेलले १० हजार ३३० मत मात्रै पाए। त्यो वेला निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका अरुण नेपालको मत उस्तै छ भने कांग्रेसका मोहनबहादुर बस्नेतले साढे ६ हजार मत बढाएर जिते।
काभ्रेका ४ क्षेत्रमा पनि एमाओवादीको मत उल्लेखनीय रूपमा घटेको देखिन्छ। क्षेत्र नम्बर १ मा २७ हजार मत ल्याएका माओवादीका सूर्यमान दोङले यो पटक सात हजार ७०० मत मात्रै ल्याएर कांग्रेसका तीर्थ लामासँग पराजित भए।
दोलखा–१ मा पहिले २२ हजार मत ल्याएर माओवादीकी देवी खड्काले जितेकोमा अहिले उनकै भाइ विशाल उम्मेदवार बन्दा ९ हजार मत मात्र ल्याए। क्षेत्र नम्बर २ मा पनि एमाओवादी उम्मेदवार शंकर लामाले पहिलेभन्दा १० हजार कम मत पाए।
अघिल्लो पटक र यो निर्वाचनमा कांग्रेस र एमालेले पाएको मत उस्तै रहेको र एमाओवादीको मत मात्र घटेकाले उसले गत निर्वाचनमा पाएको मत बरु शंकास्पद देखिएको सिन्धुपाल्चोक किउलका भण्डारी बताउँछन्।
जातीय मुद्दा पत्याइएन
एमाओवादीको जातीय पहिचानमा आधारित संघीय राज्य निर्माण गर्ने नारा जनजातिले नै नपत्याएको देखियो। एमाओवादीले भन्ने गरेको ताम्सालिङ राज्यमा पर्ने यी तीन जिल्लाका तामाङहरूले एमाओवादीलाई मत नदिएको परिणामले देखायो। ५२ हजार मतदातामा ४० प्रतिशत तामाङ रहेको सिन्धुपाल्चोक–३ मा एमाओवादीले खसेको मतको १० प्रतिशत मात्र पायो। मेलम्चीका तीर्थ लामा राज्य दिने एमाओवादीको नारा जनताले नपत्याएको बताउँछन्। शिक्षित जनताले मात्र भाषा, संस्कृति र पहिचान जोगाउन सक्ने उनको बुझाइ छ।
काभ्रे कुशादेवीका प्रकाश दोङको विचारमा पनि २१औं शताब्दीमा ऐतिहासिक पहिचान जोगाउने विश्वव्यापी मुद्दा नेपालको सन्दर्भमा ठीक भए पनि राजनीति नै त्यही आधारमा चलाउन खोज्नु उपयुक्त होइन।
जातीय नाराले भन्दा गाउँमा विकास निर्माणले यो निर्वाचनमा प्रभाव पारेको देखियो। सिन्धुपाल्चोक–३ टिम्बुका जङ्बु भन्छन्, “मेलम्ची खानेपानीका कारण १० वर्षअघि शुरू भएको हेलम्बु जिरोकिलो बाटो पीच भएको छैन भने यो जात र ऊ जातको राज्य भन्ने नारा लगाउनुको के अर्थ हुन्छ ?’
साप्ताहिक खबरपत्रिका हिमालबाट