रिपोर्टसोमबार, पौष २२, २०७०
घातक बिस्कुन
-श्रीलाल साह
बिरामी उपचारको क्रममा निस्कने फोहोरले नेपालका अस्पतालदेखि डम्पिङसाइटसम्म संक्रमित पारिरहेको छ । केही अस्पतालले फोहोरलाई इन्सिनेटरमा जलाइरहेका छन्, तर त्यसबाट पनि मानिसलाई दीर्घकालीन असर पार्ने डाइअक्सिन र फ्यूरान नामक ‘पप्स्’ उत्सर्जन भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) को अनुसन्धानले देखाएको छ ।
इन्सिनेटरबाट धूवाँ–खरानीसँगै उत्सर्जन हुने विषाक्त धातुहरूले हावा, पानी र माटोको माध्यमबाट धेरै टाढासम्मको वातावरणलाई प्रदूषित पार्छ । अहिले देशभर सरकारी, गैरसरकारी, निजी र सामुदायिक गरी करीब २५० अस्पताल छन् । यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्र र क्लिनिक गरी ८२ हजार १५३ स्वास्थ्य संस्था रहेको सिफेडको तथ्याङ्कले देखाउँछ ।
तीन वर्षअघि सिफेडले गरेको अध्ययन अनुसार यी सबै संस्थाबाट वार्षिक १४ हजार ८२६.४ टन फोहोर निस्किन्छ, जसमध्ये १० हजार ५१९.५ टन (७१ प्रतिशत) जोखिमरहित हुन्छ भने ४ हजार ३०६.९ टन (२९ प्रतिशत) फोहोर हानिकारक । तर, संक्रामक फोहोर पनि सँगै मिसिएको हुनाले सबै फोहोर जोखिमयुक्त छ, जुन विना प्रशोधन विसर्जन भइरहेको छ ।
अनुपयुक्त प्रविधि
अस्पतालका १० देखि २५ प्रतिशतसम्म फोहोर मानव स्वास्थ्य र वातावरणको लागि अति हानिकारक मानिन्छ । बाँकी ७५ देखि ९० प्रतिशत फोहोर घरेलु फोहोर जस्तै जोखिमरहित हुन्छ । तर, अस्पतालजन्य फोहोरको अलग–अलग संकलन, ओसारपसार, भण्डारण, प्रशोधन, विसर्जन आदि नहुनु व्यवस्थापनको मूल समस्या बनेको छ ।
सीधै खुला वातावरणमा मिसिने अस्पतालजन्य फोहोरमा रहने ‘पर्सिस्टेन्ट अर्गानिक पोलुट्यान्टस्’ (पप्स्) बाट मानिसमा क्यान्सर निम्त्याउने डाइअक्सिन र फ्यूरान उत्सर्जन हुन्छ । जसले अस्पतालका डाक्टर, नर्स, हाउसकिपर, स्वीपर, बिरामी, बिरामी कुरुवा आदि सबैलाई प्रभावित पारिरहेको हुन्छ । फोहोर व्यवस्थापन र भष्मीकरणमा संलग्न जनशक्ति यसबाट जोगिने कुरै हुँदैन ।
देशभरका अस्पतालका दैनिक फोहोर साधारण फोहोरसँगै खुला ठाउँ, नदी किनार वा डम्पिङसाइडमा पुगिरहेको छ । फोहोर व्यवस्थापनका नाममा जलाउनेहरूले पनि इन्सिनेटर, ड्रम वा खुला ठाउँमा जलाउने गरेका छन् । पहिले फोहोर व्यवस्थापनको राम्रो उपाय मानिएको इन्सिनेटरलाई अहिले पप्सबाट न्यूनीकरणको उपयुक्त प्रविधि मानिंदैन ।
५ अप्रिल २००२ मा पप्स् महासन्धिमा हस्ताक्षर गरेको नेपालले पप्स् न्यूनीकरणका लागि अहिलेसम्म गरेको काम प्रभावकारी देखिएको तथ्यहरूले देखाउँछ । पप्स् महासन्धिले अल्ड्रिन, एन्ड्रिन क्लोर्डेन, मिरेक्स, टोक्साफेन लगायत २२ वटा पप्स्लाई सूचीकृत गरेको छ । यीमध्ये डाइअक्सिन र फ्यूरान पप्सले मानिसमा बाँझेपन, मधुमेह, सिक्ने क्षमतामा ह्रास, क्यान्सर, मानसिक तथा शारीरिक विकासमा अवरोध, प्रजनन् प्रणालीमा गडबडी, रोग प्रतिरोधात्मक क्षमता नाश लगायतका असर गर्ने विज्ञहरू बताउँछन् ।
युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यशचेञ्को यीमध्ये डाइअक्सिन पप्स्बाट प्रभावित थिए, जसबाट उनको छालाको रंग परिवर्तन भएको थियो । यशचेञ्को पप्सप्रति सचेत मुलुकमा पनि पप्स् संक्रमणमा परेको उदाहरण हुन् । पप्स् न्यूनीकरणको खासै प्रयास नभएको नेपाल जस्तो मुलुकमा संक्रमणको अवस्था अज्ञात छ । सिफेडले केही वर्षअघि भक्तपुर अस्पतालका नर्सहरूलाई ‘मेडिकल वेष्ट’ संक्रमण भएको भेटेको थियो ।
गम्भीर छैन सरकार
पप्स् महासन्धि कार्यान्वयनको क्रममा नेपाल सरकारले म्याद गुज्रिएका ७४ टन विषादी व्यवस्थापनका लागि जर्मनी पठाइयो । अहिले फोहोरको वातावरणमैत्री व्यवस्थापन सम्बन्धी केही कार्यक्रम चालु छ । अस्पताल स्थापना पूर्व वातावरण प्रभाव मूल्याङ्कन गराउनुपर्ने प्रावधान पनि त्यसैको उपज हो । तर, कार्यान्वयन पक्ष कमजोर हुँदा अस्पतालजन्य फोहोर व्यवस्थापन हुनसकेको छैन । अस्पतालहरूलाई फोहोर निर्मलीकरणको अटोक्लेभ प्रविधि अपनाउन उत्साही पारिएको छैन, जुन इन्सिनेटर भन्दा निकै सस्तो पनि छ । अटोक्लेभ आकार अनुसार रु.२ लाखदेखि रु.१६ लाखसम्म पर्छ भने इन्सिनेटर रु.४०-४५ लाख ।
नेपाल सरकार जनस्वास्थ्यप्रति गम्भीर नबनेको स्वास्थ्य सम्बन्धी ऐन परिवर्तनले पनि देखाउँछ । जस्तो, वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ पहिलो संशोधनमा २५ शैय्याभन्दा बढीको अस्पताल स्थापनाअघि वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने प्रावधान थियो । तर, वातावरण संरक्षण नियमावली २०५४ को दोस्रो संशोधन (२०६६) मा १०० भन्दा कम शैय्याको अस्पतालले त्यसो गरिरहनु नपर्ने व्यवस्था गरियो । त्यसमाथि, सरकारी कार्बाही कागजमै सीमित रहने भएकोले पप्स् उत्सर्जनमा कुनै कमी आएको छैन ।
नमूना कार्यक्रम
ललितपुरको जावलाखेलस्थित १०० शैय्याको अल्का अस्पतालले गत वैशाखदेखि फोहोरको स्रोतमै व्यवस्थापन थालेको छ । अस्पतालले सबै वार्डका फोहोर जम्मा गरी संक्रमित फोहोर छुट्याएर अटोक्लेभमा निर्मलीकरण गर्छ । अल्काबाट दिनहुँ निस्कने १२८.६८ केजी फोहोरमध्ये २०.२५ केजी (१५.७४ प्रतिशत) विषाक्त हुने फोहोर व्यवस्थापन अधिकृत पुना बिनाह बताउँछिन् ।
अस्पतालका निर्देशक राजेन्द्र श्रेष्ठ संक्रमित फोहोरको स्रोतमै व्यवस्थापन र अटोक्लेभ मशीनमा निर्मलीकरण गरेपछि रिसाइकलबाट पुनः प्रयोगका लागि बिक्री हुन थालेको बताउँछन् । “त्यो आय फोहोर व्यवस्थापनमै खर्च गरिरहेका छौं”, निर्देशक श्रेष्ठ भन्छन् ।
संक्रमित फोहोरलाई अटोक्लेभ मशीनमा राखेर १२१ डिग्री सेल्सियस तापक्रममा ४५ देखि ६० मिनेटसम्म पकाएपछि साधारण फोहोरमा परिणत हुन्छ । सिफेड र विभिन्न दातृ निकायको सहयोगमा सम्भव भएको यो नमूना कार्यक्रम अहिले त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल र धुलिखेलको काठमाडौं युनिभर्सिटी अस्पतालसम्म पुगेको छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट