रिपोर्टबुधबार, पौष २४, २०७०
सानो ठाउँ समृद्ध सपना
सर्लाही, लालबन्दीको तरकारी बजारमा भेटिएकी मञ्जुदेवी महतो (२५) लाई सोधें, “तरकारी बेचेर के गर्ने?” वरिपरि झुम्मिएका छोराछोरी देखाउँदै उनले भनिन्, “यिनीहरूलाई राम्रो स्कूलमा पढाउने। अहिले ठेक्कामा कमाउँदै आएको दुई बिघा जमीन आफ्नो बनाउने। घर बनाउने। र, व्यापारमा तरक्की गर्ने।” देशमा आएका र गएका राजनीतितन्त्र बारे मञ्जु बेखबर नै थिइन्। तर यति चाहिं थाहा थियो, अहिले मधेशमा अमनचयन छ।
सडकछेउमा बसेर तरकारी बेच्दै उद्यमी बन्ने सपना देख्ने उनको मात्र होइन भ्याई नभ्याई तरकारी ओसारिरहेका अरू व्यापारीको क्रियाशीलता र संभावना भरिएको अनुहारले लालबन्दी बजारको बिहानी समयले समृद्ध भविष्यको भाषा बोलिरहेको थियो। तरकारी बजारको व्यस्तता यति तीव्र थियो एकछिन अडिएर अनुहारमा कोही हेर्दैनथ्यो। तिनका हात मशीन झैं चलेका देखिन्थे।
लालबन्दी भन्दा पर महोत्तरीको बर्दिबासमा भेटिएका तन्नेरी व्यापारीको योजना पनि सुन्न लायक थियो। मोहम्मद मुजाहिद (२५) दुई वर्ष भारतको मुम्बईस्थित मामाघरमा बसेर कम्प्युटरमा डिप्लोमा गरेर फर्किए। त्यो विश्वविख्यात कस्मोपोलिटनबाट फर्किनुमा लाग्थ्यो, उनी फर्केका होइनन् बरु मधेशको यो सानो बजारमा बढ्दै गएको संभावनाबाट निम्त्याइएका हुन्। उनी भन्छन्, “मुम्बईमा म जस्ता धेरै छन्। त्यहाँ बस्दा व्यापार मात्र हुनेमा आफ्नो ठाउँमा त्यही पेशा गर्दा सेवा र सम्बन्ध पनि जोडिन्छ। सीपीयु पनि थाहा नपाएकालाई कम्प्युटर सम्बन्धी सेवा दिन पाउँदा म हरदिन खुशी हुन्छु।” मुजाहिदका योजना ठूला छन्। आफ्नो ठाउँलाई आइटीको क्षेत्रमा नामी बनाउने र आफ्नो शोरुम विस्तार गर्ने। यति सानो ठाउँमा यति ठूलो सपना? मुजाहिदको उत्तर सहज थियो, “व्यापार भनेको वर्तमानमा हुन्छ तर यसले भविष्यका लागि अनन्त संभावना राख्छ। र, त्यो म यहाँ देख्छु।”
हुन पनि उनले भने जस्तै स्थानीय व्यापारीको अनुहारमा देखिएको चमक, बजारको चहलपहल, बढिरहेको आधुनिक शैलीका कपडा पसल र विस्तार हुँदै गरेका होटलहरूले यो ठाउँ त्यस्तै बन्दै गरेको देखाउँथ्यो। महीनाको रु.३० हजार सटर भाडा तिरेर आधुनिक शैलीको फेन्सी पसल खोलेका भीम कार्की (२०) भन्छन्, “यो ठाउँमा व्यापार जम्ने देखेर नै काठमाडौंको पसलको शाखा यता पनि विस्तार गरेका हौं।”
बर्दिबासमै सानो टहराबाट पाँच वटा डिलक्स रुम सहित विस्तार भएको गौतम होटलमा काठमाडौंबाट नै कोठा बुक गरेर आउनेको संख्या बढिरहेको संचालक हीरा गौतम (३७) बताउँछन्। सुरक्षा र सुविधाका कारण धनुषा, महोत्तरी र सिन्धुली पुग्नेहरूका लागि बास बस्ने थलो बनेको छ, यो होटल। सरकारी, गैरसरकारी वा अन्तर्राष्ट्रिय संस्थाहरूको कार्यक्रमका लागि जनकपुर धाउनुपर्दैन। एउटै राम्रो होटल पनि स्थानीय विकासको मानक बन्ने देखाउँछ, गौतम होटलले। छेउछाउमा दुई–चार वटा राम्रा होटल खुल्नु त्यसकै प्रमाण हो। बर्दिबासको नाम अगाडि शहरको विशेषण लागोस् भन्ने कामना बोकेका हीरा भनेजस्तो हुँदै गए तारे होटलमा बदल्ने आफ्नो योजना सुनाउन चुकेनन्।
लालबन्दीस्थित ‘नेशनल अडियो एन्ड बाच सर्भिस’ मा फ्रिज, टीभी, सोफा, दराज, कुशन, पर्दा, म्याट्रेस लगायतका सामान देखिन्छन्। जसको मुख्य ग्राहक गाउँका किसान रहेको पसलकी संचालक सविता अर्याल (३४) ले सुनाइन्। पत्याउन गाह्रो तर एलसीडी र एलइडी जस्ता अत्याधुनिक टेलिभिजन र नयाँ प्रविधियुक्त फ्रिज किन्ने किसानको संख्या वितेको तीन वर्षयता ह्वात्तै बढेको छ। पहिला थोरै हुनेखानेहरूमा सीमित यस्ता सामानका लागि वीरगञ्ज पुग्नुपर्थ्यो। अहिले किसानको जीवनमा आएको समृद्धिका कारण यस्ता सामानको पसल लालबन्दीमै चाहिएको सविताको अनुभव छ।
काठमाडौंमा सँगालेको अनुभवसहित गाउँ फर्केका अच्युत न्यौपाने उत्साहित देखिन्थे, चन्द्रनिगाहपुरस्थित ‘नमस्ते फुड ल्यान्ड क्याफे’ को व्यस्तताले। बदलिएको परिस्थितिले दिएको आशकै कारण उनी आफ्नो ठाउँमा व्यापार गर्न फर्केको बताउँथे। एउटा पनि आधुनिक र चिटिक्कको क्याफे नभएको ठाउँमा अहिले उनको क्याफे ‘चिज’ भएको छ। आफ्नो ठाउँका मान्छेले पहिलो पटक पिज्जा खानुको मज्जा उनी हेर्छन् र रमाउँछन्। उनको क्याफेमा मःम, पिज्जा र चाउमिन खान आउने पनि गाउँका किसानका तन्नेरी छोराछोरी नै बढी छन्। व्यापारको अलावा पुरानो र नयाँ पुस्तालाई आधुनिक परिकारको स्वाद दिंदा उनमा सन्तोष पनि थपिएको छ।
किसानले दिलाएको समृद्धि
नगरोन्मुख यी राजमार्गका बजारका यस्ता व्यवसायका मुख्य उपभोक्तामा एकनम्बरमा किसान पर्नुको राज सर्लाहीको पिपरिया पुगेपछि खुल्यो। स्थानीय चियापसलमा भेटिएका दुखा रायले भने “एउटा नहर के आयो सब कुरा बदलिदियो। पहिला पाँच बिघाको जमीनमा लगाएको खेतीले केही हुँदैनथ्यो, अहिले दुई बिघाको खेतीबाटै आठ जनाको परिवारको सम्पूर्ण आवश्यकता पूरा हुन्छ।” आफ्ना दुई वटी छोरीलाई बोर्डिङमा पढाइरहेको उनले सगर्व सुनाए। उखु, धान, गहँु र मसुरोको खेतीले उनको परिवारमा सुख भित्र्याएको छ। उनी भन्छन्, “मान्छेका चाहना त कति होलान् तर एउटा परिवारको जीवन सहज रूपमा धान्न यतिले काफी छ।” उनीसँगै चियापसलमा भेटिएका अरू किसानहरूको पनि उस्तै उस्तै अनुभव थियो।
उनीहरूको एकस्वर थियो, “हामीलाई कसैले केही गर्नुपर्दैन, बस् खेती गर्ने जमीन र सिंचाइको पानी होस्। बाँकी काम हामी आफैं गर्छौं।” हुन पनि भत्कँदै गएका खपडाका घर र थपिंदै गएका ढलाने भवनले त्यो गाउँको समृद्धि चूपचाप बोलिरहेको थियो।
अलिकति पनि भनेजस्तो हुँदा जुर्मुराउँदै लागि पर्ने यी कर्मशीलहरूले नेपालीहरू भाग्यवादी हुन्छन् भन्ने दर्शनलाई नै चुनौती दिइरहेको देखिन्थ्यो। खान–लाउन र बस्न पाउने आधारभूत आवश्यकता छिचोल्दै रोजेर खाने, लाउने र अत्याधुनिक सामानको उपभोग गर्ने हैसियतको विकास हुनु त्यसकै संकेत पनि हो। साना ठाउँका सपना र बदलिंदै गएका वास्तविकता गुजारामा सीमित नभई भविष्यको आकलन र समृद्ध शहरको चित्र कोर्नमा देखिएको व्यस्तताले भाग्यवादको सीमा मेट्दै गरेको प्रष्टै थियो।
तस्वीरहरुः सरला गौतम
साप्ताहिक खबरपत्रिका हिमालबाट