खेलकुदसोमबार, साउन १५, २०६९

ओलम्पिकमा चीनको अग्रता कायमै

Sandesh Panta

पौडीमा चीनको उत्कृष्ट प्रदर्शन

पहिलो दिन चीनले जितेका चार स्वर्ण मध्ये दुई पौडीबाट हात पार्यो । सन याङले ४०० मिटर फ्रीस्टाइलको फाइनलमा प्रथम हुँदै पौडीमा स्वर्ण जित्ने पहिलो चिनियाँ पुरुष खेलाडी बने । त्यस्तै १६ वर्षिय किशोरी ये शिवेनले ४०० मिटर इन्दिविजुवल मेड्लीमा विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितिन् । अझ रमाइलो कुरा त के छ भने शिवेनले आफ्नो अन्तिम ५० मिटरको फ्री स्टाइल पुरुष तर्फको इन्दिविजुवल मेड्लीका विजेता रायन लोक्टीले भन्दा ०.१७ सेकेन्ड चाँडो पुरा गरेकी थिईन् । चीनले २ स्वर्ण शूटिङमा जित्यो भने भारत्तोलन र डाइभिङबाट एक-एक स्वर्ण हात पार्यो । तर उसका महिला आर्चरी खेलाडीहरु रोमन्चक फाइनलमा दक्षिण कोरियाली टिमसँग २१०-२०९ ले पराजित भए । दक्षिण कोरियाले १९८८ मा आर्चरी ओलम्पिक्समा समावेश भए यता सबै संस्करणका टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।

अमेरिका : कतै सन्तोष कतै निराशा

हाल सम्म तीन स्वर्ण जितेता  पनि पौडीका केहि इभेन्टमा भने अमेरिकाले स्वर्ण गुमाउनु परेको छ । पुरुष ४०० मिटर रिले  र  महिला ४०० मिटर फ्री स्टाइलमा उसलाई फ्रान्सले रजत मै सिमित राख्यो । आफ्नो ओलम्पिक्स करियरको १५ औँ स्वर्ण जित्ने दाउमा रहेका माइकल फेल्प्सलाई अझै सफलता नमिलेकाले उनको प्रभाव सकिएको अड्कल काटिएको छ ।  यता  पुरुष बास्केटबलको पहिलो खेलमा अमेरिकाले फ्रान्सलाई ९८-७१ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।

घरेलु टोलीलाई पहिलो पदक :

श्रावन १४ गते साइक्लिङको महिला तर्फ रोड रेसमा दोश्रो हुँदै लिजी आर्मिट्स्टीडले आफ्नो टोलीको लागि पहिलो पदक दिलाईन् । आइतबारनै पौडीको महिला ४०० मिटर फ्रीस्टाइलमा रेबेका एड्लिङ्टनले काँस्य जित्दै वाहवाही बटुल्न सफल भईन् । तर स्वर्णको आशा गरिएका साइक्लिस्ट मार्क क्याभेन्डिस भने शनिबारको प्रतिस्पर्धामा पदक विहिन रहे ।

स्पेन समुह चरणबाटै बाहिर

सुरुका दुई खेलमा पराजित भएपछी स्पेनको ओलम्पिक फुटबल यात्रा पहिलो चरणमै समाप्त भएको छ । पहिलो खेलमा जापनसँग १-०    आइतबार राति होन्डुरससँग १-० ले नै  पराजित भएपछी उसको चुनौती समाप्त भएको हो । समुह ए मा बेलायतले युएईलाई ३-१ हराएपछी उसको अन्तिम आठमा पुग्ने सम्भावना बलियो भएको छ भने सेनेगलसँग २-० ले पराजित भएको उरुग्वेको यात्रा कठिन बनेको छ । समुह बी मा मेक्सिको र दक्षिण कोरिया समान ४ अंक सहित अग्रस्थानमा छन् । समुह सी मा पाटो, नेमार र ओस्कारको गोलले बेलारूसलाई ३-१ ले हराउँदै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको छ । इजिप्टले न्युजिल्यान्ड सँग १-१ को बराबरी खेलेपछी उसको सम्भावना केहि कमजोर बन्न पुगेको छ ।

सोमबार पौडीका चार,  भारत्तोलन र जुडोका दुई-दुई तथा डाइभिङ्, जिम्न्यास्टिक्स्,  शूटिङ्,  फेन्सिङ्का एक-एक स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...