टिप्पणीबिहीबार, पौष २५, २०७०
आम आदमी पार्टीको भविष्य
भ्रष्टाचार विरोधी लोकपाल विधेयक ल्याउन गरिएको आन्दोलनबाट गठन भएको आम आदमी पार्टी (आप) ले चमत्कारी शैलीमा दिल्लीमा सरकार गठन गरेपछि यसका मुख्य नायक अरविन्द केजरीवाल चर्चाको शिखरमा छन्। भारतको राजनीतिमा देखापर्ने उतारचढाव र साना झिल्काहरूले प्रभाव पार्ने नेपालमा पनि आपको उदय र यसको भविष्यबारे चासो छ। आकर्षक सरकारी जागीर त्यागेर सामाजिक कार्यकर्ता हुँदै राजनीतिमा होमिएका केजरीवाल कुन विचार र दर्शनका सहाराले यहाँसम्म आइपुगे भन्ने पनि धेरैलाई कौतुहल छ।
आपको गठन ‘स्वराज’ र ‘भ्रष्टाचार’ शब्दको जगमा भएको हो। स्वराज भारतमा अंग्रेज उपनिवेशवाद विरुद्धको आन्दोलनको वेला जनमानसमा भिजेको शब्द हो। भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीले सन् १९०९ मा ‘हिन्द स्वराज’ भन्ने पुस्तक लेखेका थिए। केजरीवालले पनि ‘स्वराज’ शीर्षककै किताब २०१३ मा लेखेका छन्। आपले आफ्नो विधानमा पनि संविधान प्रदत्त अधिकार जनतालाई फिर्ता गराएर स्वराजको महसूस गराउने उल्लेख गरेको छ। उसको दोस्रो उद्देश्यमा भ्रष्टाचारमुक्त भारत बनाउने लेखिएको छ।
कसरी बन्यो आप?
लोकपाल विधेयकको माग गरेर दिल्लीको रामलीला मैदानमा सामाजिक कार्यकर्ता अन्ना हजारेले अनशन शुरू गरेपछि भारतभरि आश्चर्यजनक जागरण प्रवाह भयो। भारतीय सेनाबाट निवृत्त भएर महाराष्ट्रको गाउँ रालेगण सिद्धिमा समाज सुधार गर्दै ख्याति कमाएका हजारेले त्यसअघि नै महाराष्ट्र सरकारलाई अनेक पटक आफ्ना माग पूरा गर्न बाध्य पारेका थिए। भारत सरकारले उनलाई सन् १९९२ मा भारतको तेस्रो ठूलो पदक पदम भूषण दिएको थियो।
त्यसअघिको सूचनाको हकको आन्दोलनले भारतका चर्चित सामाजिक अभियन्ताहरूलाई एकठाउँमा ल्याएको थियो। हजारे उनीहरूमध्येका सबैभन्दा पाका थिए। अविवाहित रहनु, घर नहुनु र नाम मात्रको निजी सम्पत्ति हुनु उनका विशेषता थिए। दिल्लीमा ठूला विकासका पूर्वाधार निर्माण गर्दा र कमन वेल्थ खेलकुद आयोजना गर्दा भएका भ्रष्टाचार र कमिसनबारे सञ्चारमाध्यम भरिएको त्यो वेला सूचनाको हकको अधिकार विधेयक पारित गरेर सुस्ताएका सामाजिक कार्यकर्ताहरू लोकपाल विधेयकका लागि एकत्रित भए र केजरीवालको नेतृत्वमा रहेको ‘इन्डिया एगेन्स्ट करप्पसन’ लाई धुरी बनाए। सरकारले आन्दोलनकारीको माग स्वीकार गरेपछि त्यो आन्दोलन फिर्ता भए पनि संसद्मा रहेका दलहरूले लोकपाल विधेयकका अधिकांश धारा संशोधन गरिदिए।
संसद्मा रहेका दलहरूको त्यो प्रवृत्ति देखेर दिक्क बनेका सामाजिक कार्यकर्ताहरूले राखेको दल खोल्ने प्रस्तावलाई आन्दोलनका नायक हजारेले स्वीकार गरेनन्। हजारेको भनाइ थियो– पार्टीहरूका स्वच्छ र राम्रालाई चुनावमा समर्थन गर्नु उपयुक्त हुन्छ। केजरीवालले तर्क दिए– व्यक्ति जति राम्रो भए पनि संसदीय व्यवस्थामा दलको ह्वीप मान्नै पर्ने भएकाले जनताले चाहेको काम गर्न दलभित्रका व्यक्ति छानेर सम्भव हुँदैन, छुट्टै दल खोल्नु उपयुक्त हुन्छ।
त्यसपछि खुलेको आपलाई हजारेले गाली गर्दै हैरान पार्ने कोशिश गरेका थिए, अहिले सफलताको शुभकामना दिए पनि। आपका विचारक योगेन्द्र यादव भन्छन्, “लोकतन्त्रमा जसले राजनीतिक पार्टीप्रति न्यूनतम विश्वास नराखेर घृणा भाव राख्छ, ऊ लोकतन्त्र विरोधी हो।”
महात्मा गान्धीले पनि भारत स्वतन्त्र भएपछि भारतीय कंग्रेस पार्टीलाई लोक सेवक संघमा रूपान्तरित गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यो प्रस्ताव सफल नभए पनि भारतीय अंग्रेजी बोल्ने खान्दानी जमिन्दार र वकीलहरूको क्लबबाट कंग्रेसलाई मास बेस पार्टी बनाउन भने उनले सफलता पाए। नेहरूले गान्धीको राजनीतिक उत्तराधिकार प्राप्त गरे पनि उनीहरूबीच धेरै विमतिहरू थिए।
समाजवादी पार्टीका युवाहरूसँग गान्धीको विशेष अपेक्षा थियो। पहिलो आम चुनावमा चरम असफलता हात लागेपछि जयप्रकाश (जेपी) ले समाजवादी पार्टीबाट हात झिके र गान्धीले भने अनुसार ‘रचनात्मक कार्यक्रम’ मा लागे। समाजवादी पार्टीलाई निरन्तरता दिएका राममनोहर लोहियाको पनि असमयमै निधन भयो। इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाउँदा जेपी सत्ता विरुद्धको आन्दोलनको केन्द्रमा फेरि आइपुगे। जसको लाभ जनता पार्टीले १९७७ मा पायो। त्यही कारण ७० को दशक स्वतन्त्रता संग्रामपछि भारतलाई तरङ्गित पार्ने समय बन्यो। यो दशकले पनि राजनीतिक महत्वका हिसाबले भारतलाई झ्न्डै त्यही रूप र आकारमा तरङ्गित पारेको छ। र, यसको केन्द्रमा आप छ।
महात्मा गान्धीले स्वतन्त्रतापछि परिकल्पना गरेको ग्राम पंचायतको अवधारणा भारतीय संविधानमा उल्लिखित हुन यही समय पर्खनुपर्यो। ‘ग्राम स्वराज’ को लागि पर्याप्त अधिकार नपाएको भन्दै भारतका स्थानीय निकायका निर्वाचित अधिकारीहरूले प्रदेश र केन्द्र सरकारसँग संगठित असन्तुष्टि अहिले पनि राखिरहेका छन्। जसबारे आपको धारणा स्पष्ट देखिन्छ। गान्धीले पनि ६० लाख भारतीय गाउँहरूको स्वराजको धारणा राखेका थिए। जेपीले ग्राम सभा, ग्राम पंचायतको अधिकारको विषय उठाए पनि राजनीतिक दलको अनिवार्यता स्वीकार गरेका थिएनन्। हजारेको गाउँमा स्वराज चले पनि चुनाव भन्दा अन्य विधि अपनाइएको आलोचना सुनिन्छ। नेपालमा पनि तत्कालीन कांग्रेसका महामन्त्री महेन्द्रनारायण निधिले २०५४ को स्थानीय निर्वाचनमा पार्टीले उम्मेदवारी दिन नहुने तर्क गरेका थिए।
संसद्प्रति गान्धीको कहिल्यै सकारात्मक सोच रहेन। उनले हिन्द स्वराज पुस्तकमा संसद्बारे लेखेका छन्– ‘संसद्को जननी भनिएको बेलायतको संसद् बाँझ्ी आइमाई र वेश्या जस्तो छ। संसद्ले एक्लै केही पनि गर्न नसक्ने भएकाले मैले यसलाई बाँझी आइमाईसँग तुलना गरेको हुँ। संसद्को प्राकृतिक अवस्था यस्तो छ कि– बाहिरी दबाब विना यसले केही गर्न सक्दैन। यो वेश्या जस्तै किन छ भने यो बारम्बार फेरिरहने मन्त्री र सदस्यहरूको कब्जामा हुन्छ।’ (गान्धीले संसद्लाई आइमाईको उपमा दिनुपरेकोमा माफी चाहेका थिए।) लोकपाल विधेयक पनि सडकको दबाबबाट तयार भयो र दिल्लीमा आप दोस्रो शक्ति बनेपछि मात्र लोकसभाबाट पारित भयो।
जनताको सपना
भारतका दुई प्रमुख मुद्दा ‘स्वराज’ (सुशासन र जनप्रतिनिधिसँग जनताको पहुँच) र भ्रष्टाचार विरुद्ध स्थापना भएको आप भारतभरि फैलने सम्भावना छ। किनभने, यो पार्टी आसामको अजेण्डा बोकेको आसाम गण परिषद् जस्तो होइन।
आपले रणनीतिक चालहरू पनि चालिरहेको छ। समाजवादी पार्टी हराएको देखेका अनुभवी सल्लाहकारदेखि निरन्तर जोखिम मोल्न सक्ने युवा नेतृत्व योसँग छ। आप वंशवाद विरुद्ध उभिनु अर्को महत्वपूर्ण पक्ष हो। एउटै परिवारको दुई व्यक्ति एउटै चुनावमा खडा हुन नपाउने र एकै तहको कार्यसमितिमा पनि बस्न नपाउने व्यवस्था यसले गरेको छ। आपले जनतासँग आफूलाई निरन्तर जोडेको छ। शपथ समेत आन्दोलन भएको रामलीला मैदानमा खानु यसैको उदाहरण हो। हुन त सन् १९७७ मा जनता दलका सांसदले पनि गान्धी समाधिमा शपथ लिएका थिए। तर, त्यो दल तीन वर्ष पनि एक ढिक्का रहन सकेन। आप भने पार्टी गठनदेखि दिल्ली सरकार निर्माण गर्दासम्म पारदर्शी देखिन्छ। यो पार्टीमा गान्धी, जेपी र लोहियाको दर्शनबाट प्रेरित बुद्धिजीवीहरूको बाहुल्य छ। केजरीवालको पुस्तक स्वराज मा पनि बहुराष्ट्रिय कम्पनीको चंगुलबाट देशलाई मुक्त गर्ने विचार छ। तर, यो पार्टी भारतीय कंग्रेस जस्तै मध्यबाट देबे्रतिर ढल्केको देखिन्छ।
तर, लोकप्रिय नाराले सधैं जनताको सपना पक्रन सम्भव हुँदैन। आदर्श अघि राखेर शुरू हुने आन्दोलनलाई सरकार चलाउने ठाउँमा पुगेपछि व्यावहारिकता चाहिन्छ। दिल्ली सत्तारोहणको पहिलो हप्तामा आपले देखाएको व्यवहारले ऊ यो कसीमा पनि खरो उत्रन सक्ने सम्भावना देखाएको छ। केजरीवालले शपथ खाएपछिको सम्बोधनमा भनेका थिए, “आम आदमी कसैको घमण्ड चूर गर्न खोलेको पार्टी हो। यस्तो समय नआओस् कि, आम आदमी पार्टीको घमण्ड चूर गर्न फेरि कसैलाई नयाँ पार्टी खोल्नु नपरोस्।” बीसौं शताब्दीमा अभ्यास भएका पूँजीवादी संसदीय र साम्यवादी व्यवस्था दुवै असफल भएको मान्दै नयाँ व्यवस्थाको खोजी गर्ने चिन्तकहरूले पनि आपका प्रत्येक कदमलाई अहिले रुचिपूर्वक हेरिरहेका छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट