अर्थ/बजारशुक्रबार, पौष २६, २०७०
गन्तव्य अस्ट्रेलिया
– रामजी दाहाल
पछिल्लो समय नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया प्रमुख शैक्षिक गन्तव्य बनेको छ। अस्ट्रेलियाले विदेशी विद्यार्थी सम्बन्धी नीति खुकुलो बनाउँदै २४ मार्च २०१२ बाट ‘स्ट्रिमलाइन भिसा’ प्रक्रिया शुरू गरेपछि नेपाली विद्यार्थीलाई सजिलो पनि भएको छ। अस्ट्रेलियाका ४१ विश्वविद्यालयले ‘स्ट्रिमलाइन प्रोसेस’ मार्फत विद्यार्थी आकर्षित गर्ने गरेका छन्। विश्वका १०० उत्कृष्ट विश्वविद्यालयमध्ये ७ वटा अस्ट्रेलियामै छन्।
आफूलाई उच्च शिक्षाको गन्तव्य बनाउन चाहेको अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा बिक्री भइने र पीआर प्रक्रियामा सामेल हुन पाउने भएकोले सन् २०१३ मा अहिलेसम्मकै धेरै विद्यार्थी अस्ट्रेलिया पुगेको कन्सल्टेन्सी संचालकहरू बताउँछन्। उनीहरूका अनुसार अस्ट्रेलिया पढ्न जान चाहेकामध्ये ८६ प्रतिशतको भिसा लाग्ने गरेको छ।
विदेशको पढाइलाई नेपालमा सामाजिक प्रतिष्ठाको रूपमा हेरिन्छ। उच्च वर्ग त यसमा छँदैथिए, अब छोराछोरीलाई पढ्न जसोतसो विदेश पठाउन थालेको मध्यमवर्ग पनि यसमा थपिएको छ। यो अवस्थामा अस्ट्रेलिया सबैको पहिलो रोजाइमा पर्न थालेको हव इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक उद्धव खड्का बताउँछन्। उनका अनुसार भरपर्दो सार्वजनिक यातायात र पार्टटाइम कामको कमाइले पनि अस्ट्रेलियाको आकर्षण बढाएको छ। ब्याचलर वा मास्टर्स गर्न आउने विद्यार्थीले अस्ट्रेलियामा दुई वर्षको वर्क परमिट पाउँछन् भने पीएचडीका विद्यार्थीले चार वर्षको। “तर, विदेशी विद्यार्थी आकर्षित हुनुको पहिलो कारण अस्ट्रेलियाका शिक्षण संस्थाहरूको गुणस्तर नै हो”, युनिक्याम्पस एजुकेशन नेटवर्कका घनश्याम घिमिरे भन्छन्।
अस्ट्रेलियामा अध्ययन पूरा गरेर स्वदेश फर्केकाहरूले नेपालमा उदाहरणीय काम गरेका छन्। तिनैमध्येका एक गगन प्रधानले १९९९ मा अस्ट्रेलियाबाट होटल म्यानेजमेन्टको पढाइ पूरा गरी स्वदेश फर्केर हिमालयन जाभा (रेस्टुरेन्ट) खोलेका थिए। अस्ट्रेलिया पढाइ मात्र नभई कमाइ र बसाइका हिसाबले उत्कृष्ट भएको उनको अनुभव छ। नेपाली विद्यार्थीले अध्ययनपछि विदेशमै बसेर नेपालमा कमाइ भित्र्याएको मात्र होइन, विदेशमा सिकेको ज्ञान–सीपले नेपालमा रोजगारी सिर्जना गरेका छन्।
जापान, अमेरिका लगायतका मुलुकबाट समेत विद्यार्थी आउनुले बेलायती शिक्षा प्रणाली रहेको अस्ट्रेलियामा पढाइको आकर्षण देखाउँछ। अस्ट्रेलियामा विद्यार्थीमाथि राष्ट्रियताजनित कुनै भेदभाव छैन, जहाँ व्यवस्थापन, नर्सिङ, सूचनाप्रविधि, वातावरण विज्ञान र इन्जिनियरिङ विषय अध्ययनका लागि बढी विदेशी विद्यार्थी जान्छन्।
घाँटी हेरी हाड निलौं
विद्यार्थीले शैक्षिक डिग्री लिने/नलिनेबारे एजुकेशन कन्सल्टेन्सीदेखि विश्वविद्यालय र अस्टे्रलियन हाइ कमिसनसम्मले ध्यान दिएका हुन्छन्। बरु अभिभावक नै यसप्रति उतिसारो गम्भीर नभएको बताउँछन्, रोयल एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डे। आफ्ना छोराछोरीले विदेशमा पढेर नाम र दाम दुवै कमाउन् भन्ने चाहना हरेक अभिभावकमा हुने भए पनि कहाँ, कसरी पठाउने भन्नेबारे चाहिए जति ध्यान दिनसकेका छैनन्।
एक जना विद्यार्थीका लागि १२ कक्षा उत्तीर्णपछिको समय जीवनकै सर्वाधिक महत्वपूर्ण हुन्छ। कुन विश्वविद्यालयमा, के विषय पढ्ने, कोसँग बस्ने भन्ने कुरा विद्यार्थीका लागि धेरै महत्वको हुन्छ। हिमालयन जाभाका संचालक गगन प्रधान यसमा अभिभावकको प्रत्यक्ष निगरानी हुनुपर्ने बताउँछन्। विदेशमा पढ्न जानुअघि विद्यार्थी र अभिभावकले जति सजिलो सोचेका हुन्छन्, त्यहाँ गइसकेपछि धेरै भिन्नता पाइने काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्र रिजाल बताउँछन्।
त्यसकारण पढ्न विदेश जानुअघि विद्यार्थी र अभिभावकले सबभन्दा पहिला आर्थिक योजना बनाउनुपर्छ। आफ्नो आर्थिक, सामाजिक र पारिवारिक अवस्थालाई ध्यानमा राखेर कलेज तथा विश्वविद्यालयको छनोट गर्नुपर्ने सुझाव दिन्छन् दि नेक्ष्ट एजुकेशन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारी। नत्र, सपना साकार पार्न विदेश जाने विद्यार्थीले समस्याको पहाड उठाउनुपर्ने हुन सक्छ। काम गर्दै पढ्ने योजना बनाएर विदेश गएका मध्यम वर्गका कतिपय विद्यार्थीहरू सही कोर्षमा भर्ना भए पनि चर्को अध्ययन शुल्क र आफू बसेको ठाउँबाट विश्वविद्यालयको दूरीका कारण पढाइ छाड्न बाध्य भएको ल्याण्डमार्क एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक कुमार कार्की बताउँछन्।
एक सेमेस्टर एउटा कलेजमा पढेर अर्को कलेजमा सर्ने समस्या नेपाली विद्यार्थीमा बढी देखिएको छ। अस्ट्रेलिया जाने मात्र सोच बनाएका विद्यार्थीले दीर्घकालीन योजना नबनाउँदाको परिणाम हो यो। अहिले बीबीए पढेका अधिकांश विद्यार्थी एमपीए (मास्टर्स अफ प्रोफेसनल एकाउन्टिङ) गर्न चाहन्छन्। यसको अर्थ अस्ट्रेलियामा छिटो स्थायी बसोबास अधिकार पाइहालौं भन्ने पनि हो। आफूलाई रुचि नभएको विषयमा भर्ना भएर भोलि मन नलागेमा के गर्ने भन्ने विषयमा पनि विद्यार्थीले अगाडि नै सोच्नुपर्ने बताउँछन्, एजुकेशन पार्कका अध्यक्ष सुरेन्द्र सिटौला।
पहिलो सेमेस्टरको पैसा लगेर बाँकी उतै कमाउँछु भनेर ढुक्क पनि हुनुहुँदैन। सिटौलाको बुझाइमा विद्यार्थीले पढाइ छाड्ने मुख्य कारण यही हो। इन्स्पायर एजुकेशन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गोकुल क्षेत्री अभिभावकले पनि छोराछोरीले दोस्रो सेमेस्टरदेखि पढ्न पुग्ने पैसा कमाएन भने यताबाट सहयोग गर्छु भनेर मानसिक रूपले तयार भएपछि मात्र विदेश जाने अनुमति दिनुपर्ने बताउँछन्। प्राविधिक कलेजहरूमा तुलनात्मक रूपले कम शुल्क लाग्ने भए पनि पार्टटाइम जागीरले पुग्छ भन्न सकिन्न। यसैगरी, भिसाको आवेदन दिंदा विशेषगरी अनुभवको प्रमाणपत्रमा नक्कली कागजात पेश गरेको देखिएको छ। धेरैले त्यही कारण भिसा पाएका छैनन्। त्यसैले झूटो व्यहोरा पेश गर्नै हुँदैन।
नियमन आवश्यक
नेपाली विद्यार्थीहरू सन् १९८४ बाट अस्ट्रेलिया जान थालेका हुन् भने पढाइ सम्बन्धी सरसल्लाह दिने शैक्षिक परामर्श केन्द्रहरू १९९४ बाट। हिजोआज विदेश जाने विद्यार्थीलाई परामर्श दिने बोर्डहरू छ्याप्छ्याप्ती देख्न सकिन्छ। नेपाल शैक्षिक परामर्श (इक्यान) का अध्यक्ष राजेन्द्र बरालका अनुसार त्यस्ता ७०० परामर्श संस्था दर्ता भएकोमा हाल ४०० जति संचालनमा छन्। काठमाडौंकेन्द्रित यस्ता संस्थाहरू पछिल्लो समय पोखरा, विराटनगर, धरान, नारायणगढ, बुटवल, नेपालगञ्जसम्म फैलिएका छन्।
परामर्श केन्द्रहरूबीच अस्वस्थ प्रतिस्पर्धा चुलिएपछि शिक्षा मन्त्रालयले २०६८ मा शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका जारी गर्यो। मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डे कन्सल्टेन्सीहरूलाई व्यवस्थित गर्न र उनीहरूलाई जिम्मेवार बनाउन निर्देशिका जारी गरिएको बताउँछन्। परामर्श केन्द्र, भाषा कक्षा र शैक्षिक मेलाको अनुगमन शिक्षा मन्त्रालय अन्तर्गतको छात्रवृत्ति महाशाखाले गर्छ। निर्देशिका जारी गरेसँगै अनलाइन फर्म दर्ता गर्न दिइएको एक महीनाको म्याद पूरा भइसकेको छ।
कसरी जाने ?
नेपाली विद्यार्थी आइटी, बिजनेश, एकाउन्टिङ, हस्पिटालिटी, नर्सिङ, फिजियोथेरापी, मेडिकल, बायोमेडिकल, बायो टेक्नोलोजी, फुड टेक्नोलोजी, वातावरण विज्ञान, इन्जिनियरिङ जस्ता विषय पढ्न अस्ट्रेलिया जान्छन्। जुनसुकै विषय अध्ययनका लागि पनि अंग्रेजी भाषा परीक्षा उत्तीर्ण हुनै पर्दछ। यसका लागि आईएलटीएस, टोफेल, पियर्सन टेष्ट वा सर्टिफिकेट एड्भान्स इङ्गलिस (सीएई) लगायतका कोर्स डिजाइन गरिएका छन्। ६ साताको यस्ता कोर्षका लागि एजुकेशन कन्सल्टेन्सीहरूले रु.५ हजारदेखि रु.१२ हजारसम्म लिने गरेका छन्। कलेज वा विश्वविद्यालयले भर्ना स्वीकृति दिएपछि ब्रिटिश काउन्सिलले लिने परीक्षामा सामेल हुन विद्यार्थीले रु.१३ हजार ८०० बुझाउनुपर्छ।
अंग्रेजी भाषा परीक्षामा मात्र होइन, भिसा आवेदनदेखि अस्ट्रेलियामा बस्दा लाग्ने खर्चसम्मको बन्दोबस्त गर्नुपर्ने हुन्छ, विद्यार्थीले। तीनवर्षे स्नातक पढ्न जाने विद्यार्थी ६ महीनाका लागि कम्तीमा रु.१५ लाखसम्म खर्च गर्न सक्ने हुनुपर्छ। पहिलो ६ महीनाको ट्यूसन शुल्क, टिकट, ट्राभल चेक, भिसा आवेदन शुल्क जस्ता खर्च यही पैसाबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ। ६ महीनाको ट्यूसन शुल्कमा १० हजार डलर बुझाउनुपर्छ। अस्ट्रेलियामा विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउँछन्। दुई सातामा ४० घण्टा काम गरेर यत्रो शुल्क बुझाउनु असम्भवप्रायः हुन्छ।
अस्ट्रेलिया नै किन?
** विश्वसनीय विश्वविद्यालय
** अन्तर्राष्ट्रिय स्तरको पढाइ
** पीआर प्रक्रियामा सामेल
** सामाजिक प्रतिष्ठा
** नाम र दाम दुवैको आकर्षण
** कुनै किसिमको भेदभाव नहुनु
** स्वदेश फर्केकाहरू उदाहरणीय काममा जम्नु
विद्यार्थीको तयारी
** अंग्रेजी भाषा परीक्षा उत्तीर्ण
** सही कलेज र विषयको छनोट
** भिसा आवेदन, कलेजको ट्यूसन तथा बस्दा लाग्ने खर्चको जोहो
कन्सल्टेन्सीले के सिकाउँछ ?
** राम्रा कलेजको खोजी
** आवेदन, भिसा प्रक्रियामा सहयोग
** लाग्ने खर्चको विवरण
** पढाइसँगै काम खोज्ने उपाय
साप्ताहिक खबरपत्रिका हिमालबाट