थप समाचारशुक्रबार, पौष २६, २०७०
आफू प्रअ हुन सप्तरीका विद्यालय स्थापनाः अख्तियार
सप्तरीको विद्यालयको अनुगमन गरेपछि अख्तियारले ४० प्रतिशतभन्दा बढी विद्यालय आपसमा गाभ्नुपर्ने अवस्थामा रहेको ठहर गरेको हो । २६ पुस बिहान राजविराजमा पत्रकारहरुलाई अनुगमन टोलीले धेरै वटा विद्यालय गाभ्नुपर्ने अवस्थमा पुगेको जानकारी दियो ।
अख्तियारका वरिष्ठ प्रहरी उपरीक्षक योगेश्वर रोमखामीको नेतृत्वमा खटिएको टोलीले पाँच दिनसम्म सप्तरीका विभिन्न विद्यालय पुगेर अनुगमन गरेको थियो । सप्तरीका १२० वटा प्राथमिक विद्यालयमा चार टोली अनुगमनका लागि खटाइएको रोमखामीले जानकारी दिए ।
सप्तरीमा झोले विद्यालय फेला नपरे पनि आवश्यकता नै नभएको स्थानमा पनि विद्यालय भेटिएको र १० मिनेटकै दूरीमा दुई÷तीन वटासम्म विद्यालय पाइएको उनले बताए । उनले भने, “विद्यार्थीलाई शिक्षा दिनुभन्दा पनि आफू प्रधानाध्यापक बन्न र आफन्तलाई जागिर लगाउने नियतले विद्यालय खोलिएको भेटियो ।”
त्यहाँका ४० प्रतिशतभन्दा बढी विद्यालयलाई खारेज वा ‘मर्ज’ गर्नुपर्ने उनको भनाई छ । अनुगमनका क्रममा कतिपय विद्यालयमा बाहिरका विद्यालयबाट विद्यार्थी ल्याइएको, कतिपयमा त थोरैमात्र विद्यार्थी पाइएको र त्यसमा पनि १ कक्षाका विद्यार्थीलाई ३ कक्षामा बसाएको भेटिएको उनले जानकारी दिए ।
रासस
