ब्लगशुक्रबार, पौष २६, २०७०
‘शारीरिक अपांगता भएकाका लागि साना कुरामा ध्यान दिए पुग्छ’

अपांगता भएकाहरुलाई आफ्नो अमेरिका यात्रा अनभूति सुनाउँदै सागर प्रसाई । तस्वीरहरुः देबकी विष्ट/हिमालखबर
जसरी अरु नेपालीहरु अमेरिका जान पाउँदा खुशी हुन्छन्, त्यस्तै मेरो भिसा लाग्दा म पनि खुशी भएको थिएँ । तर, मलाई त्यहाँ एक्लै कसरी हिडडुल गर्न सकुँला भन्ने चिन्ता भने थियो । नेपालमा अरुको सहयोग चाहिने मलाई त्यहाँ अप्ठयारो होला भन्ने मनमा पीर थियो । तर, अमेरिका हुँदा म एक्लै बसें, लुगा धोएँ, बस–ट्रेनको लामो यात्रा गरें, बोटिङ गरें, साथिहरुसँग हाइकिङमा गएँ र अरु धेरै कुरा गरें जुन यहाँ हुँदा गर्न सक्दिनथें ।
नेपालबाट २० साउन २०७० मा त्यहाँ प्रस्थान गरेको थिएँ । प्लेनमा नै अपांगता भएकाका लागि असजिलो नहोस् भनेर सावधानी अपनाइएको पाएँ । सडक, कलेज, अरु भौतिक संरचना सबै अपांगमैत्री बनाइएका छन् त्यहाँ । यतिसम्म कि अपांगता भएकालाई जानै पर्ने बाध्यता नभएको पार्क, समुन्द्री किनार लगायतको कुना–कुनासम्म पनि शारीरिक अपांगता भएकाहरु पुग्न सकोस् भनेर संरचनाहरु बनाइएको रहेछ । नेपालमा कल्पना गर्नै नसकिने हाइकिङको अनुभव त्यहाँ बटुल्ने अवसर पाएँ । हाइकिङका लागि बनाइएका बाटाहरु पनि अपांगमैत्री छन् ।
रमाइलो कुरा त्यहाँ म जिममा पनि गएँ । त्यहाँका जिम हल शारीरिक अपांग भएकाका लागि सहज किसिमको हुँदो रहेछ । तर, त्यहाँ जिम गर्दा पनि मेरो वजन भने खासै घटेन । चार महीनासम्म त्यहाँ बस्दा पार्कमा एक्लै जान्थें । त्यहाँ गएर पढ्यो, सुस्तायो, असहजता बिना नै कुना कुनासम्म पुगेर घुम्यो । त्यो अनुभव निक्कै आनन्दको थियो ।
अमेरिकाको अपांगमैत्री सडकको कुरा गर्दा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले राजधानीको सडक बिस्तार गरेको प्रशंग भन्न मन लाग्यो । भट्टराईलाई भेटेपछि बिस्तार गरिएको सडक किन अपांगमैत्री भएन भनेर कर्मचारीहरुलाई हाम्रै अगाडि हप्काए । तर, ती कर्मचारीले किन हो कुन्नी ठेकेदारसम्म त्यो कुरा पु¥याएनन् । मलाई के लाग्छ भने सानो सोंच राखे राख्ने हो भने यहाँका सडकहरु पनि अपांगमैत्री बनाउन सकिन्छ ।
एकदमै पुराना संरचना पनि अपांगमैत्री छन् । तर त्यहाँ पनि ढोका खोल्ने सुविधा भने अपांगमैत्री नहुँदा रैछन् । ती ढोका अपांगता भएकाले आफैले खोल्न मिल्ने बनाउनलाई धेरै रकम लाग्दो रहेछ । बरु त्यो रकमले उनीहरुले त्यसका लागि मान्छेलाई नै राखिदिँदा रैछन् । अपांगता भएकाले सूचना दिने बित्तिक्कै उनीहरु आउने र ढोका खोलिदिने गर्थे ।
त्यहाँ म ट्रेन, बस, होटल वा अन्य कुनै सेवा लिनलाई सबलांग सँगसँगै लाइनमा बसें । सरकारले नै अपांगता भएकाका लागि सबै व्यवस्था गरेपछि अझ थप सुविधा माग्नु निको नलाग्दो रहेछ त्यहाँ । त्यसैले, म बैंकमा, एयरपोर्टमा अरु जसरी नै लाइनमा लागें ।
२० मंसीर २०७० मा नेपाल नफर्कुञ्जेल मैले त्यहाँ सिकेको कुरा के हो भने उनीहरुले अपांगता भएकाहरुका लागि खासै ठूलाठूला कुरा गरेकै छैनन् । स–साना कुरामा मात्र उनीहरुले ध्यान दिएका छन् । सडक अपांगमैत्री बनाइदिएका छन् । भौतिक संरचना बनाउँदा केही थप ध्यान मात्र दिइएको छ । तर, ती स–साना कुराले पनि अपांगता भएकालाई ठूलो आत्मविश्वास जगाइएदिएको । खासमा उनीहरुले अपांगता भएकाहरु पनि हाम्रै नागरिक हुन् भन्ने व्यवहार गरेका छन् ।
(ललितपुरस्थित यलमाया केन्द्रमा २६ पुसमा अपांगता भएकाहरुलाई सुनाएको अमेरिका यात्रा अनुभूतिमा आधारित)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
