खेलकुदशुक्रबार, पौष २६, २०७०

उदाउँदो कमेन्टेटर

हिमालखबर

तस्वीर: विक्रम राई्/हिमालखबर

-सेन्छेलुङ लिम्बू
कान्तिपुर टेलिजिभनको कार्यक्रम ‘कल कान्तिपुर’ का प्रस्तोता सुरज गिरी पछिल्लो समय ‘खेल कमेन्टेटर’ का रूपमा समेत चर्चित छन् । १५–२६ भदौ २०७० मा दशरथ रंगशालामा सम्पन्न आठौं दक्षिण एशियाली फूटबल संघ (साफ) च्याम्पियनसीप फूटबल र १७–२२ मंसीर २०७० मा कीर्तिपुरमा भएको ‘जर्नी टु वल्र्डकप क्रिकेट’ को कमेन्ट्री गरेपछि उनको पहिचान ‘राम्रो–भिजे’बाट ‘राम्रो–कमेन्टेटर’मा बदलिएको हो ।

अंग्रेजीमा कमेन्ट्री गरेर गिरीले जादुमयी छनक देखाइसकेका छन् । कमेन्ट्रीमा सान्दर्भिकता, तार्किकपन र दर्शकलाई मैदानमै पुगे झैं पार्न सक्नु उनको खुबी हो । गिरी भन्छन्, “सबैले राम्रो ‘रेस्पोन्स’ गरिरहेका छन्, अब यही क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।”

सामान्यतया सक्रिय खेल जीवनबाट सन्न्यास लिएका वा लामो समय खेल पत्रकारिता गरेकाहरू कमेन्ट्रीमा जमेका हुन्छन् । तर, उनी चाहिं अपवाद हुन् । भर्खर २१ वर्ष पुगेका गिरी न खेल पृष्ठभूमिबाट आएका हुन् न त पत्रकारिता । काठमाडौं ज्ञानेश्वरमा जन्मिएका गिरीको सानैदेखि खेलप्रति रूचि थियो । “खेल भनेपछि सानैदेखि हुरुक्कै हुन्थें”, उनी सुनाउँछन्, “कतिसम्म भने कतिपय टेष्ट क्रिकेट चार–पाँच दिन घर बाहिर ननिस्की हेर्ने गर्थें ।” खेलप्रतिको त्यही मोह र मिहिनेतले कमेन्ट्रीतर्फ आकर्षित भएको गिरीको भनाइ छ ।

क्रिकेट र फूटबलमै कमेन्ट्री करियर अघि बढाइरहेका उनले पहिलो पटक १९–२२ कात्तिक, २०६९ को सोल्टी सुपर सिक्स क्रिकेटको कमेन्ट्री गरेको भए पनि आठौं साफ च्याम्पियनसीप फूटबलको कमेन्ट्रीले उदाउँदो कमेन्टेटरको चिनारी दिलाएको हो । अहिलेसम्म पाँच वटा प्रतियोगितामा कमेन्ट्री गरिसकेका उनका लागि १२ साउन २०६९ मा साफ यु–१६ च्याम्पियनसीप फाइनलको कमेन्ट्री ‘टर्निङ प्वाइन्ट’ बनिदियो । त्यही खेलको कमेन्ट्रीपछि उनलाई साफ च्याम्पियनसीपको प्रि–म्याच एनालाइसिसको जिम्मा पाएको वर्ल्ड स्पोर्टस् ग्रुपले त्यसको जिम्मा सुम्पियो । २४ र २७ माघ २०६९ मा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फूटबलको समेत कमेन्ट्री गरेका उनलाई टेलिभिजनमा देखाएको प्रतिभाबाट प्रभावित कतिपय दर्शकले लामो रेसका घोडा समेत भनेका थिए ।

मिडिया टेक्नोलोजीमा स्नातक अध्ययनरत गिरीको कमेन्ट्रीले भारतीय खेलाडी तथा उत्कृष्ट कमेन्टेटर भीभीएस लक्ष्मणलाई समेत छोएको छ । जर्नी टु वल्र्डकप क्रिकेटका वेला नेपाल आएका भारतीय क्रिकेटर लक्ष्मणले ‘तिम्रो कमेन्ट्री वर्ल्ड क्लासको छ, कुन देशबाट हो ?’ भनेर हौसला थपिदिएका थिए । हुन त, साफ प्रतियोगिताको फाइनल हेर्न अफगानिस्तानबाट आएका मन्त्री सम्मिलित ४०० जनाको समूहले प्रत्यक्ष प्रसारणपछि ओबी (आउटडोर ब्रोडकास्टिङ) भ्यानमै गएर गिरीलाई धन्यवाद दिएका थिए । उनी भन्छन्, “यसले मलाई आत्मविश्वास दिलायो ।”

गिरी भन्छन्, “घरमा टीभी म्यूट गरेर अन्तर्राष्ट्रिय खेलको कमेन्ट्री रेकर्ड गर्छु र फुर्सदको वेला त्यो रेकर्ड सुन्छु । त्यसमा लाइभनेस आयो कि आएन ।” मिहिनेतमै बढी समय खर्चिने उनी साफ च्याम्पियनसीपका वेला कति रात दुईघण्टाभन्दा बढी सुतेका छैनन् । त्यतिवेलाको अनुभव सुनाउँदै उनी भन्छन्, “इन्टरनेट या पत्रपत्रिकामा सूचना खोज्दा अनि स्रोतव्यक्तिसँगको भेटघाट र कुराकानीमै समय बित्थ्यो ।”

गिरी छोटो बाटो पार गरेर कमेन्ट्रीमा आएका हुन् । ग्यालेक्सी पब्लिक स्कूल, ज्ञानेश्वरबाट एसएलसी उत्तीर्ण गरेपछि ह्वाइट हाउस कलेजमा ११ कक्षामा विज्ञान पढिरहेका वेला उनले टेलिभिजनमा बोल्ने अवसर पाएका थिए । साथीलाई घर पुर्याउन हिंडेका गिरीले इमेज टेलिभिजनको ‘भीजे हन्ट’ प्रतियोगितामा जित्ने र दुई महीनामा कार्यक्रम संचालनको अनुभव सँगाल्ने मौका पाएको बताउँछन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>