रिपोर्टशनिबार, पौष २७, २०७०

पीडामा बाढीले बेपत्ता पारेकाका आफन्तजन

हिमालखबर

– बच्चु विक, चिसापानी

छोराको कुरा सुनाउँदा रुँदै सीता चौधरी । तस्वीरहरुः बच्चु विक/हिमालखबर

“दुई महीनामा आइहाल्छु” भनेर भारतको केदारनाथ गएका कञ्चनपुर लक्ष्मीपुर–६ मटैयाका सुरेश चौधरी (१४) को ३ असारमा आएको ठूलो बाढीपछि कुनै खुटखबर नपाउँदा आमा सीता चौधरी (४५) धेरै पटक मूर्छा परिसकिन्। छोराका दाँवली देख्दा छोरालाई सम्झेर भक्कानो छुट्ने बताउँदै सीता भन्छिन्, “ऊ घरबाट निस्केको र छोरीले कपडाको झोला बारीसम्म पुर्‍याइदिएको आँखा वरिपरि घुमिरहेको छ।”

सुरेशलाई खोज्न पिता विष्णुले गाविस कार्यालयको सिफारिश बोकेर नेपाल–भारतका प्रहरी थाना, प्रशासन कार्यालय, भारतको दिल्लीमा रहेको नेपाली राजदूतावास सबैतिर धाइसके। सबैतिर फोटो छाड्दाछाड्दै छोराको दुई अल्बम फोटो सकिएको बताउँदै विष्णु भन्छन्, “केदारनाथ पुगेर छोरो नभेट्टाएपछि सीताको पीर अरू बढेर पटक पटक बेहोश हुने गरेकी छिन्।”

हराएका छोरा सुरेश सानो छँदा।

मटैयाकै बलराम ढुङ्गाना (२०) पनि केदारनाथमा आएको बाढीपछि बेपत्ता छन्। गाउँकै लक्ष्मी उमाविबाट एसएलसी परीक्षा दिएर काम गर्न उता लागेका उनी उत्तीर्ण भएको मार्कसीट स्कूलबाट कसैले नल्याएको पिता नारायणप्रसाद ढुङ्गाना (४४) बताउँछन्। छोराको खोजीमा नेपाल र भारतका सुरक्षा र प्रशासनिक कार्यालय तथा केदारनाथका घर–घर पुगेर काम गर्ने होटल समेत पत्ता लगाएका नारायण भन्छन्, “बाँचेको सम्भावना नरहे पनि घरपरिवार अरू दुःखी नहोउन् भनेर घाइते होला, उपचार गरेर फर्किहाल्छ भन्ने गरेको छु।”

राम्रो पढाइ भएको मिलनसार नाति हराउँदा विह्वल बनेकी बलरामकी हजूरआमा शोभा ढुङ्गाना (७१) गाउँमा नयाँ मान्छे देखिंदा नातिको खबर सुन्न, भेट्न पुगिहाल्छिन्। केदारनाथ लाग्दा बलरामले “अर्को वर्ष दर्शन गर्न लग्ने” वचन दिएकाले शोभालाई नाति बिर्सन गाह्रो भएको छ। बलरामले घरमा अन्तिम पटक २८ जेठमा फोन गरेका थिए। दैनिक भारु ३०० ज्याला पाउने गरी काम गर्ने बलरामको ३ असार राति ड्युटी भएकाले बाढीले बगाएको भनेर होटल मालिकले जानकारी दिएको नारायणप्रसाद बताउँछन्।

मटैयाको छिमेकी गाउँ उबियाफाँटाका सुरतबहादुर खड्का (३२) पनि केदारनाथमै बेपत्ता भए। कमाउन गएको छोराको खुटखबर नआएको पीडाले सुरतका पिता हरिसर्मे खड्का (५८) लाई बिहानदेखि रातिसम्म रक्सी नभई नहुने बानी लागेको छ। मंसीरमा बिहे गर्ने गरी केटी खोज्न भनेर उता गएका सुरतले २७ जेठमा छिमेकीको घरमा फोन गरेर केटी पाए/नपाएको सोधखोज गरेका थिए। पन्ध्र वर्षको उमेरदेखि दिल्ली, मुम्बईमा काम गरेका उनी दैनिक भारु ३०० कमाइ हुने सुनेर केदारनाथ गएका थिए। केदारनाथमा बाढीले मच्चाएको कहर देखेपछि छोरो जिउँदो हुने सम्भावना नरहेको महसूस गरेका हरि भन्छन्, “लाश नपाउन्जेल आश हुने भएकाले खोजी गर्न छाडेका छैनौं।”

बेवास्तामा बेपत्ता

केदारनाथमा बेपत्ता सुरत (बायाँ) का बुवा हरिसर्मे र आमा जयन्ती खड्का।

उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा पर्ने चार धाममध्येको केदारनाथमा धार्मिक यात्रामा गएकाहरू भन्दा कामका लागि गएकाहरू बढी हराएको पाइएको छ। नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले केदारनाथ, बद्रीनाथ र आसपासका क्षेत्रमा नेपालीको अवस्था अध्ययन गर्न पठाएको कन्सुलर यदुलाल खरेल र हरिद्वारका समाजसेवी पुष्पराज पाण्डेयको टोलीले १६५ जना नेपाली बेपत्ता भएको निष्कर्ष निकालेको थियो। जसलाई २१ भदौमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो। सो टोलीले विपतको वेला ३ हजार ९०० डोले, १५८ जना होटल व्यवसायी, मन्दिर र नजिकका क्षेत्रमा स–साना पसल सञ्चालन गरेर बसेका तथा पूजाअर्चनाका लागि नेपालबाट गएका गरी पाँच हजार नेपाली विपत्तिमा परेको जानकारी गराएको थियो। असोज पहिलो साता भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा भने ४ हजार ८६३ जना हराएका र ५८० जनाको मृत्यु भएकोमा ९२ जना नेपाली मात्र बेपत्ता भएको उल्लेख छ।

तर केदारनाथमा रहेका नेपालीहरूबारे अध्ययन गरेका भारतीय डा. आर. श्रीधर त्यो वेला पाँचदेखि ६ हजार नेपाली बेपत्ता भएको दाबी गर्छन्। सन् १९९६ मा केदारनाथ, बद्रीनाथ क्षेत्रमा डोले, होटल व्यवसायी, भरिया र अरू साना काम गर्ने नेपाली कामदारबारे अध्ययन गरेका उनी भन्छन्, “बेपत्ता वा मृत्यु भएकाको साँचो संख्या भन्दा क्षतिपूर्ति दिनुपर्ने भएकाले भारत सरकारले संख्या घटाएको हो।” (हे.बक्स)

केदारनाथमा बेपत्ता बलराम (दायाँ) की आमा शारदा र बुवा नारायणप्रसाद ढुङ्गाना।

उत्तराखण्डका समाजसेवी तेजसिंह भण्डारीको अध्ययनले पनि केदारनाथ र बद्रीनाथमा आएको बाढीमा पाँचदेखि ६ हजार नेपाली बेपत्ता भएको बताउँछ। नयाँदिल्लीमा नेपाली राजदूतलाई भेटेर त्यो तथ्य जानकारी गराएको बताउँदै भण्डारी भन्छन्, “गुजरातकालाई नरेन्द्र मोदीले उद्धार गरे, मध्यप्रदेशकालाई शिवराजसिंह चौहानले तर, नेपालीलाई कसैले हेरेनन्।”

नेपाल सरकारले जस्तै परिवारले पनि बेपत्ताहरूको वास्ता गरेको देखिंदैन। वैशाख–जेठमा त्यता काम गर्न जाने नेपालीहरू खेतीपाती गर्न फागुन–चैततिर मात्र फर्कने हुनाले परिवारले अहिले वास्ता नगरेको हुनसक्ने बताउँदै डा. श्रीधर भन्छन्, “फागुन चैतमा नआएपछि भने परिवार र आफन्तजनले खोजी शुरू गर्न सक्छन्।”

लक्ष्मीपुरका सुरेश, बलराम र सुरतको खोजीमा परिवारजनसँगै नेपाल–भारतका सुरक्षा र प्रशासनिक निकाय, नेपालको परराष्ट्र मन्त्रालय, भारतीय राजदूतावास, नयाँदिल्लीको नेपाली राजदूतावास र केदारनाथ पुगेका समाजसेवी गोपाल गुरुङका अनुसार, भारतीय अधिकारीहरूले नेपाल सरकारले पहल नगर्दासम्म व्यक्ति आएर नहुने बताए पनि नेपालको परराष्ट्र मन्त्रालयले निवेदन लिने भन्दा केही गरेको छैन।

नेपाल सरकारले बेपत्ता खोज्न पहल नगरेकाले आफन्तहरूको पीडा बढेको छ भने त्यही घटनामा मृत्यु र बेपत्ता भएका भारतीयहरूले क्षतिपूर्ति लिएर काजकिरिया गरिसक्दा बेपत्ता नेपालीका परिवारले प्रियजनको खुटखबर पाउन सकेका छैनन्।

____________________________________________________________________

‘६ हजार नेपाली बेपत्ता छन्’

डा. आर. श्रीधर

सन् १९९६ मा केदारनाथमा काम गर्ने नेपालीबारे मैले अध्ययन गरेको थिएँ। त्यतिवेला त्यहाँ रहेका दुई हजार नेपालीमध्ये ७९३ जनासँग अन्तर्वार्ता गरें। त्यो अध्ययनपछि पनि हरेक वर्ष म मेलाको समयमा एक/डेढ महीना त्यहाँ बस्ने गरेको छु। त्यही कारण त्यहाँका नेपाली कामदारमध्ये मलाई नचिन्ने र मैले नचिन्ने कमै छन्।

पहिले डोले र भारी बोक्ने काम मात्रै गर्ने नेपालीहरू पछिल्लो समय होटल चलाउने, स–साना पसल राख्ने, तीर्थयात्रीहरूलाई अगरबत्ती, धूप, फूल बेच्ने काम गर्न थालेका थिए। त्यहाँ माघ–फागुनमा दुई हजार जति नेपाली हुन्छन् भने असार–साउनमा १० हजार जति पुग्छ, मन्दिर दर्शन गर्न जानेबाहेक। यीमध्ये ५–६ हजार बेपत्ता भएको मेरो अनुमान छ। त्यहाँ नेपाली कामदारले उधारो सामान लिने पसलका खाता, उनीहरू सुत्ने धर्मशाला, पूजाका सामान बिक्री गर्न अन्य पसलबाट ल्याएको उधारोका खातापाता, त्यहाँ डोली बोक्न अनुमति लिंदा राखिएको रेकर्ड सबै हेरेको छु। बाँचेका मान्छेसँग पनि कुराकानी गरेको छु।

(केदारनाथमा रहेका नेपाली कामदारका विषयमा अध्ययन गरेका डा. श्रीधरसँगको कुराकानीमा आधारित)

_____________________________________________________________________

‘सात महीना बित्यो, खबर आएन’

गोपाल गुरुङ

उत्तराखण्डमा बाढी आएपछि त्यता गएका अरू फर्के पनि तीन जना फर्केनन्। उनीहरूको बारेमा खोजबिन गर्न भारत गयौं। त्यहाँका अधिकारीहरूले तिम्रो प्रशासनको सिफारिश ल्याऊ भने। गाविस सचिव, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयबाट सिफारिश बनायौं। सबै सिफारिश बोकेर भारतको उत्तराखण्डको बनवासा थानामा गयौं। उसले सिफारिश गरेर जिल्ला पठायो। त्यहाँबाट अर्को जिल्ला जाऊ भनेपछि रुद्रप्रयाग जिल्ला गयौं। मुख्यमन्त्रीलाई भेट्न भनियो।
त्यसपछि बडो मुश्किलले उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्यौं। उनले सहयोग गरे। त्यसपछि केदारनाथका विभिन्न ठाउँ पुगेर त्यहाँका सुरक्षाकर्मीको सहयोगमा सक्दो खोजबिन गर्‍यौं। कतै फेला नपरेपछि मुख्यमन्त्रीलाई फेरि भेट्दा उनले राजदूतावास मार्फत आउन भने। नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास पुग्यौं। तर, त्यहाँ भारतीय अधिकारीहरूबाट जसरी सहयोग पाएनौं। नेपाली राजदूतावासका कर्मचारीले परराष्ट्र मन्त्रालय जानुस् भने।

त्यहाँबाट काठमाडौं पुग्यौं। परराष्ट्र मन्त्रालयलाई गुहार्‍यौं। मन्त्रालयका कर्मचारीले एक–एक जनाको खोजबिन गर्न नसकिने भएकाले निवेदन छाडेर जान भने। तर, निवेदन दिएको सात महीना बित्दा पनि केही खबर आएको छैन।

(गुरुङ केदारनाथमा हराएका नेपालीको खोजबिनमा संलग्न छन्।)

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>