रमझमशनिबार, पौष २७, २०७०

के गर्दैछन् गायक कुबेर राई

हिमालखबर

गाउँमा कसरी दिन बिताइरहनुभएको छ ?
खेतीपाती, सामाजिक काम र सांगीतिक कार्यक्रमहरूमा व्यस्त छु । राम्रैसँग गीत–संगीत र जीविकोपार्जन भएको छ । २०४७ सालमा राजधानी भित्रिएर २०५३ मा सपरिवार गाउँ फर्किएँ । अल्बम पनि गाउँ गएरै निकालें । देश/विदेश पनि गाउँबाटै गरिरहेको छु ।

विकास निर्माणमा पनि लाग्नुभएको सुनिन्छ, चर्चालायक केही भएको छ ?
चर्चालायक भन्दा पनि घाँसी र भानुभक्तको कुरा जस्तै समाजमा केही सकारात्मक सन्देश दिन सकिन्छ कि भन्ने प्रयास भएको हो । गीत–संगीतलाई स्थानीय तहमा सडक, पुल जस्ता पूर्वाधार निर्माणमा सहायक बनाउन खोजेको छु । केही ग्रामीण सडक हाल सालै पूरा भएका छन्, केही निर्माणाधीन छन् । पत्रकार र शुभचिन्तकहरूले यस्तै कामको चर्चा चलाइदिएका हुन्, जसबाट राजधानीमा नरहे पनि गुमनाम हुनुपरेको छैन । मिडिया र श्रोताले मेरो खोजखबर गरिरहेकै छन् ।

तपाईंको विचारमा नेपाली गीत–संगीतको अवस्था कस्तो छ अहिले ?
सिर्जना र मिहिनेतको हिसाबले नराम्रो छैन, तर जीवन धान्ने आधार बनिसकेको छैन । गीत–संगीतमा लागेर जीवन गुजारा चलाउने संगीतकर्मी नगन्य छन् । अधिकांशले सोख र रहरले अल्बम निकालिरहेका छन् ।

पैसाको बलमा चर्चित हुने चलन पनि छ हैन ?
यसमा मेरो विमति छैन, तर नेपाली गीत–संगीतले अन्ततः राम्रै नतीजा दिने विश्वास छ ।

प्रस्तुतिः सचित राई

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>