Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पेट्रोलियमको अधुरो खोजी - Himalkhabar.com

अर्थ/बजारसोमबार, पौष २९, २०७०

पेट्रोलियमको अधुरो खोजी

रमेश कुमार

खनिज तेल (पेट्रोलियम) को अन्वेषण, विकास र उत्पादन अनुमति लिएको बेलायती कम्पनी केर्न इनर्जीले काम गर्न उपयुक्त वातावरण नभएको भन्दै नेपाल छाडेको छ । राजनीतिक अस्थिरता, प्रशासनिक झमेला र सरकारले सहयोग नगरेको अनुभवका कारण कम्पनीले गत जुलाइमै यस्तो अप्रिय निर्णय गरेको केर्नका नेपालस्थित सल्लाहकार भरतमणि ज्ञवालीले बताए । “नेपाल छाडेको आधिकारिक जानकारी खानी तथा भूगर्भ विभागले पाइसकेको छ”, ज्ञवालीले भने ।

दैलेखको पादुकास्थानबाट निकालिएको कच्चा तेल ।

केर्नले सन् २००४ मा नेपालका पाँच स्थानमा पेट्रोलियम अन्वेषण, विकास र उत्पादन गर्ने अनुमति लिएको थियो । त्यसयता लगातार फोर्स मेजर (काबु बाहिरको परिस्थिति) घोषणा गरेर बसेको कम्पनी अन्वेषणको कामै नगरी फिर्ता भएको हो । नेपालमा काम थाल्न खानी तथा भूगर्भ विभाग र उद्योग मन्त्रालयले असहयोग गरेको केर्नको आरोप छ । “मन्त्रालय र विभागले अन्वेषण कार्यक्रमको समयतालिका संशोधन गर्ने प्रस्ताव समेत मानेन”, ज्ञवाली भन्छन्, “कामै गर्न नदिने वातावरण भएपछि छोडेका हौं ।”

पेट्रोलियम अन्वेषणमा ख्याति कमाएको केर्नले भारत, बंगलादेश र श्रीलंकामा काम गरिरहेको छ । नेपालमा पेट्रोल खोज्ने अनुमति लिएका टेक्साना, इमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप (ईएबीजी) र बीबीबी च्याम्पियन्स चाहिं सम्पर्कमै नभएको विभाग स्रोत बताउँछ ।

व्यर्थको डेढ दशक

खानी तथा भूगर्भ विभागले पेट्रोलियम हुन सक्ने क्षेत्रलाई विभाजन गरेको १० ब्लकमध्ये केर्न इनर्जीले ब्लक नम्बर १ धनगढी, २ कर्णाली, ४ लुम्बिनी, ६ वीरगन्ज र ७ मलंगवाको जिम्मा लिएको थियो । तर, द्वन्द्व–असुरक्षाका कारण शुरुदेखि नै फोर्स मेजर घोषणा गरेर बसेको केर्नले प्रारम्भिक चरणको अध्ययनमा मात्र २० मिलियन अमेरिकी डलर खर्च गरेको ज्ञवालीले बताए । उनका अनुसार कम्पनीले सरकारप्रतिको अधिकांश दायित्व पनि पूरा गरिसकेको छ । पेट्रोलियम अन्वेषण गर्न अनुमति लिंदा प्रति वर्ष प्रति वर्ग किलोमिटर १० डलर भू–बहाल कर तिर्नुपर्छ । हरेक ब्लक औसतमा ५००० वर्ग किमिको हुन्छ । विभागले दायित्व छोड्ने केर्नको पत्रलाई स्वीकृति गरेको छैन ।

ब्लक नम्बर ३ नेपालगन्ज र ५ चितवनको लागि सन् १९९८ मा अन्वेषण सम्झौता गरेको अमेरिकी कम्पनी टेक्साना पनि शुरुदेखि नै फोर्स मेजर लगाएर बसेको थियो । गत वर्ष विभागसँग सम्झौता गरेको युएईको ईएबीजी (ब्लक नम्बर ८ जनकपुर र ९ राजविराज) र अमेरिकाको बीबीबी च्याम्पियन्स (ब्लक नम्बर १० विराटनगर) ले पनि केही काम गरेका छैनन् । उनीहरूले न फिल्डमा काम गरेका छन् न त विभागसँग सम्पर्क । उनीहरूले विभागलाई विस्तृत परियोजनाको कार्यतालिका र भू–बहाल कर समेत बुझाएका छैनन् ।

पेट्रोलियमको अध्ययनमा पहिलो चरणमा भौगर्भिक अध्ययन पछि साइस्मिक सर्वे, एरोग्राभिटी सर्वे सहितका अध्ययन सकेर ड्रिलिङ गरिन्छ । साइस्मिक सर्वेमा कम्पन सिर्जना गरेर तरंगको अध्ययन गरिन्छ भने एरोग्राभिटीमा विमानबाट गुरुत्वाकर्षण र चुम्बकीय चापको । तेलको भण्डारण र सम्भावना ड्रिलिङ पछि मात्र थाहा हुन्छ । तर, खानी तथा भूगर्भ विभागले दशकभन्दा लामो समयदेखि अनुमतिपत्र लिएका कम्पनीहरूका लागि न काम गर्ने वातावरण बनाउन सघाएको छ, न अनुमतिपत्र नै खोसेको छ । “नेपाली अधिकारीहरूको ध्यान विदेशी कम्पनीहरूबाट अन्य फाइदा लिने भन्नेमा मात्र केन्द्रित भएको परिणाम हो, यो”, केर्नका सल्लाहकार ज्ञवाली भन्छन्, “देशलाई फाइदा हुने कुरामा त उनीहरू एउटै पत्रको जवाफ लेख्न ६ महीनासम्म लगाउँछन् ।”

विश्वव्यापी प्रतिस्पर्धामा छानिएका यी कम्पनीहरूले चारवर्षे प्राथमिक अन्वेषण अवधि पाए पनि ‘फोर्स मेजर’ को प्रावधान लगाएर समय लम्ब्याइरहेका थिए । उनीहरूले पहिलो चरणको अन्वेषण सकेको भए तेल उत्पादन र विकासको अनुमति पाउने थिए, तर कामै भएन । लाइसेन्स ओगटेर काम नगर्ने कम्पनीबारे निर्णय लिन गठित उपसमितिको सुझाव बमोजिम विभागले यी कम्पनीहरूलाई वार्तामा बोलाइरहेको छ । केर्न र बीबीबी च्याम्पियनलाई पत्र पठाइसकिएको विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले बताए । कानून सचिव संयोजक रहेको उपसमितिले यस्ता कम्पनीलाई तत्काल वार्तामा बोलाएर अन्तिम सोधपुछ गर्न र काम नगर्नेको लाइसेन्स रद्द गर्न सुझव दिएको थियो ।

विभागको पेट्रोलियम अन्वेषण परियोजनाका पूर्व प्रमुख समेत रहेका ज्ञवाली देशको आर्थिक सम्भावनामै कायापलट गरिदिने पेट्रोल खोज्न सरकारले चासै नदिएको बताउँछन् । तेल नभेटिए खेर जाने ठूलो थैली खर्चनुपर्ने जोखिमयुक्त क्षेत्रको लगानीका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ । उता विभागका अधिकारीहरू भने दक्ष जनशक्ति र आधुनिक प्रविधिको अभावसँगै अध्ययन गरेर चुस्त तथ्यांक राख्न नसकिएको बताउँछन् । विभागको पेट्रोलियम परियोजना प्रमुख राजेन्द्रप्रसाद खनाल भन्छन्, “नयाँ जनशक्ति भित्र्याउन नसक्दा वर्षौं पहिले पढेकाहरूबाट विभाग धानिएको छ ।”

लाइसेन्स ओगट्ने कम्पनीहरूलाई कारबाही गर्न नसक्दा र काम गर्न खोज्नेलाई वातावरण नबनाइदिंदा एकातिर सरकारी राजस्व गुमिरहेको छ भने अर्कातिर खनिज उत्खननको सम्भावना डेढ दशक पछाडि धकेलिएको छ । लाइसेन्स ‘होल्ड’ हुँदा राम्रा विदेशी कम्पनीहरू भित्रिन पाएका छैनन् । कतिपय कम्पनीसँग सम्भौतामै ‘फोर्स मेजर’ को व्यवस्था गर्दा अहिले अप्ठ्यारो परेको छ ।

उत्खननको कथा

नेपालमा सन् १९८० को दशकको शुरुतिरै विश्व ब्याङ्कको सहयोगमा पेट्रोलियमको सम्भावनाबारे अध्ययन थालिएको थियो । १९८५ तिर नेदरल्याण्डको प्रख्यात कम्पनी सेलले करोडौं डलर खर्चेर विराटनगर क्षेत्रमा पेट्रोलियम सम्भावनाबारे अध्ययन गरेको थियो । त्यसवेला ३५०० मिटर ड्रिलिङ गरेको सेलले नेपालमा पेट्रोलियमको बलियो सम्भावना रहेको प्रतिवेदन दिएको विभाग अन्तर्गतको पेट्रोलियम परियोजना प्रमुख खनाल बताउँछन् ।

खानी तथा भूगर्म विभाग ।

त्यसवेला चाहेर पनि चार वर्षभन्दा बढी काम गर्न नसकेर शेल बाहिरिएको थियो । भारतले आर्थिक नाकाबन्दी गरेको त्योवेला नेपालमा शेलले विभिन्न देशबाट हवाईजहाजमा पेट्रोल ल्याएर अन्वेषण अगाडि बढाएको पेट्रोलियम परियोजना प्रमुख खनाल सम्झन्छन् । भारतसँग जोडिएको मोरङमा तेल खोज्ने यूरोपेली कामसँग जोडिएको भारतको असन्तुष्टिका अगाडि नटिकेर शेल बाहिरिएपछि पाँच पटकसम्म विश्वव्यापी प्रतिस्पर्धा गराए पनि बोलपत्र आवेदन नपरेको विभागका अवकाशप्राप्त अधिकारीहरू बताउँछन् । त्यसपछि एकैचोटि सन् १९९८ मा एक्लै प्रतिस्पर्धामा भाग लिएर टेक्साना नेपाल आएको थियो ।

पेट्रोलियम पदार्थ रहने र भण्डारण हुनसक्ने भू–संरचनाको हिसाबले नेपालमा पेट्रोलियमको सम्भावना छ । समुद्र जोडिएका मध्यपूर्वका देशहरूमा जमीनको सतहको नजिकै तेल भेटिए पनि नेपालमा गहिरो खन्नुपर्ने पेट्रोलियम परियोजना प्रमुख खनाल बताउँछन् । नेपालको जस्तै भौगर्भिक अवस्थिति रहेका भारतको आसाम बेसिन र पाकिस्तानको पेटवार बेसिनमा तेल उत्खनन् भइरहेकाले पनि यहाँ तेल हुने देखिन्छ । दैलेख र सुर्खेत आसपास पेट्रोलियम भएको अध्ययनले पनि देखाएको छ । दैलेखको पादुकामा जमीनको सतहमा नै तेल र ग्याँस बगिरहेको भेटिएको परियोजना प्रमुख खनाल बताउँछन् । मुक्तिनाथको अखण्ड ज्योति पनि निरन्तर निस्किरहने ग्याँसबाटै बलिरहेको हो । “तर, नेपालमा अन्वेषणका लागि ठूला कम्पनी ल्याएर ड्रिलिङ गराई पेट्रोलियम उत्खनन्को कथा सक्नुमा ठूलो चुनौती बनिरहेको छ”, परियोजना प्रमुख खनाल भन्छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>