खेलकुदसोमबार, पौष २९, २०७०
नेपाल पहिलो खेलमा पराजित
न्युजिल्याण्डको मेनपावर ओभल मैदानमा २९ पुसमा भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग १०२ रनले पराजित भएको हो । यूएईले दिएको २९८ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । ११ बल बाँकी छँदा नेपाल अलआउट हुँदै १९५ रन सीमित भयो ।
नेपालका शरद भेष्वाकरले ५४, विनोद भण्डारी र शक्ति गौचनले ३७–३७ रन जोडे । सागर पुन २५, कप्तान पारस खड्का १२, महेश क्षेत्री ९ रन बनाएर आउट भए । वसन्त रेग्मीले ५, ज्ञानेन्द्र मल्लले ४ रन मात्र जोडे । अनिल मण्डल, सोमपाल कामी र जीतेन्द्र मुखियाले खाता नै खोल्न सकेनन् ।
नेपालले टस जितेर ब्याटिङका लागि आमन्त्रण गरेको यूएईले भने निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । उसका साइमन अनवरले १०९ र स्वप्निल पाटिलले ७४ रन बनाए ।
नेपालका लागि वसन्त रेग्मीले ३, जीतेन्द्र मुखियाले २ र शक्ती गौचन तथा सागर पुनले एक–एक विकेट लिए । १८ माघसम्म न्युजिल्याण्डमा हुने आईसीसी वान डे विश्वकप छनौटअन्तर्गत नेपालले दोस्रो खेल २ माघ बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपाल र यूएईसँगै समूह ‘ए’ मा स्कटल्याण्ड, क्यानडा र हङकङ छन् । समूह चरणमा शीर्ष तीनमा रहने टीमले सुपरसिक्समा प्रवेश पाउने छ ।
सुपरसिक्समा पहिलो र दोस्रो हुने टीमले सन् २०१५ मा न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा खेल्न पाउनेछन् । शीर्ष चारभित्र पर्ने टीमले भने वान डे मान्यता पाउनेछन् ।