ब्लगमंगलबार, पौष ३०, २०७०

निःशर्त समर्थन

महेश थापा

दोस्रो संविधानसभा गठन हुन नपाउँदै ‘प्याकेट सहमति’ को रोइलोले जन्माएको चारबुँदे सहमतिका कारण संविधानसभालाई सार्वभौम भन्न मुश्किल पर्‍या छ । अब त दलहरूले सहमति गरे भनेको सुन्नासाथ नेतागणले सग्लो कुनै कुरा टोक्ने हुन् या बिग्रिया जिनिस बोक्ने हुन् भन्दै त्राहिमाम् हुनुपर्ने स्थिति छ । संस्थागत धाँधलीको देउसी खेलेबापत प्राप्त चारबुँदे सहमतिले संविधानसभा–द्वार खोलेपछि भावी रणनीति तय गर्ने मनसायले सिसमहलमा सखारै बैठक डाकिएको छ ।

“यो ठूलो उपलव्धि हो”, गम्भीर मुखाकृतिमा मुस्कान भर्ने निष्फल कोशिश गर्दै अध्यक्ष महोदयले भन्नुभो ।

“चुनाव हारेको उपलब्धि ?” असन्तुष्ट स्वर उर्लियो ।

“होइन, होइन, प्याकेट सहमतिको उपलब्धि”, मधुरो आवाजमा अध्यक्षले थप्नुभो ।

“खान मिल्ने के चाहिं छ र, त्यो प्याकेटलाई उपलब्धि मान्नु ?” ठुस्किएको स्वर दोहोरियो ।

“खान नमिले पनि दल्न मिल्ने जिनिस त छ नि !” अध्यक्षको निधार खुम्चियो ।

बैठकमा देखिएको उत्सुक आँखाहरूतर्फ केन्द्रित हुँदै अध्यक्षले भन्नुभो, “सेभिङक्रिम छ । त्यो दलेर लुसुक्कन सभा भवन छिर्न मिल्छ ।”

“धाँधलीको सनही बजाएर घोक्रो नदुखाऊँ भनेर मैले भनेकै थिएँ नि ! बित्थामा सेभिङक्रिमको जात्रा देखाउनै पर्थेन”, सदावहार विरोधीले भडास निकाले ।

“पत्रकारको क्यामेरा देख्नासाथ त्यसै–त्यसै सकसकिएर थेग्नै नसके’सी तपाईं जे’नि ओकल्नुहुन्छ”, पछिल्तिरबाट कसैले झटारो हान्यो ।

“त्यो जाबो सेभिङक्रिम हाम्लाई के काम”, महिला सदस्यले ओठ लेप्य्राइन् ।

अब चाहिं अध्यक्ष पड्किए, “दाउरा झोस्न नपाई कत्ति खाने मात्र कुरो पर्‍या ?”

बैठक स्तब्ध बन्यो । ‘पीन ड्रप साइलेन्स !’ नब्बे डिग्रीमा पल्टिंदै अध्यक्षले नरम भाखा हाले, “पुराना कुरालाई धोती लगाइदिएर आगामी खिचडी बारे कुरा गरौं ।”

खिचडीको प्रसङ्गले बैठक कक्षमा एकाएक ऊर्जाशील कौतुहलता देखियो । लामो उच्छ्वास छाड्दै अध्यक्षले घोषणा गर्नुभो, “अब हामी पहिलो पार्टीलाई सरकार बनाउन बाहिरै रहेर निःशर्त समर्थन गर्छौं ।”

बैठक कक्ष स्तब्ध भयो । स्तब्धता माथि बैठकका सहभागीहरूको आँखामा देखिएको पीडा मिश्रित आवेगले राज गरेको प्रष्टै देखिन्थ्यो ।
……….
‘निःशर्त समर्थन !’ अध्यक्षको मुखारवृन्दबाट यो वाक्य झ्र्न नपाउँदै एक सहभागी खुर्र दगुर्दै गएर बाहिर प्रतीक्षारत संचारकर्मीलाई सुनाए, “हामी बाहिरै रहेर पहिलो पार्टीलाई सरकार बनाउन निःशर्त समर्थन गर्ने भयौं ।”

“तपाईंको पार्टीले विना शर्त केही गरेको था’छैन । समाचार बनाउन योग्य सूचना हो त, नेताजी ?” पत्रकारहरूले शंका व्यक्त गरे ।

“पारिपट्टि आम आदमीलाई भारतीय कंग्रेसले समर्थन गरे जस्तै वारिपट्टिका हामी वाम आदमीले नेपाली कांग्रेसलाई निःशर्त समर्थन गर्ने भयौं । तर, यसमा पनि बाह्य प्रभाव भनेर चाहिं नलेखी दिनुहोला”, नेताजीले आफ्नो पक्ष राखे ।

यता भित्र बैठकमा चर्को स्वर सुनिन थालियो ।

“घोषित शत्रुलाई के को निःशर्त समर्थन ?”

“समर्थन, त्यो पनि बाहिर बसेर ?”

“हरुवाहरूले भन्दैमा हुन्छ ? हामी जितुवाले जनमतको सम्मान गर्न पाउनु परेन ?”

सहभागीहरूको चर्काचर्कीसँगै भिड्किन लागेको माहोल सम्हाल्न पुनः अध्यक्षको हस्तक्षेप भयो, “कुरै नबुझ्ी तिघ्रा ठोकाठोक गरिहाल्ने नानीदेखिको बानीले न यो हविगत भा’हो । अहिले तल्सिङ भइखा’काहरूलाई पालैपालो निःशर्त समर्थन गर्दै जाँदा कुराउनी भाग ला’को कथामा जस्तो सबै पद हाम्रै पोल्टामा आउँछ । विस्तारै हामी भाले भए’सी यी ठेउकेहरूको टाउकाँ ठुंग्न हाम्ले जानेकै छौं नि !”

बैठक पुनः ऊर्जाशील भयो । अध्यक्षको निःशर्त समर्थनको प्रस्तावमा सहमति जुट्यो । अब भने आधिकारिक नेता पत्रकारसामु उपस्थित भई परिमार्जित निर्णय सुनाए, “सभामुख र संवैधानिक समितिको प्रमुख पायौं भने निःशर्त समर्थन गर्ने भइयो ।”

लेखिरहेको समाचार पोको पारेर मिल्काउँदै पत्रकारले सोधे, “यस बाहेक थप माग केही छ कि ?”

“अहिलेलाई यत्ति हो ।”

“अनि सरकारमा चाहिं नजाने नै ?”

“अहिलेसम्मको अवस्था सरकारमा जाने छैन । ‘दही छैन, चिउरा भए, दही–चिउरा खान्थें’ भने जस्तो त के गर्नु हो ? पहिलो चरणको माग पूरा भई वातावरण सप्रेको महसूस भएमा दोस्रो चरणको मागबारे गम्भीर छलफल गरी जानकारी गराउनेछौं । कुनै द्विविधा नरहोस्, समर्थन चाहिं निःशर्त नै हुनेछ” रोदनमिश्रित स्वरमा नेताजीले भने ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...