खेलकुदबुधबार, माघ १, २०७०
महिला भलिवलको उपाधि एपीएफलाई
माघ १ मा पोखरामा भएकोे १८ औं संष्करणको राष्ट्रिय महिला भलिवलको फाइनल खेलमा पुरानो प्रतिष्पर्धी नेपाल प्रहरीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको छ । एपीएफको यो पहिलो जीत हो ।
पोखराको फिष्टेल उमाविमा अध्ययन गर्दादेखि नै भलिवल खेल्न शुरु गरेकी सरस्वती चौधरीले अव्वल खेल प्रर्दशन गर्दा एपीएफले नेपाली प्रहरीलाई २५—९, २५—२०, र २५—१० को सोझो सेटमा पराजित गरेको हो ।
एपीएफले उपाधि सहित नगद ५० हजार हात पारेको छ भने उपविजेता बनेको नेपाल प्रहरीले ३० हजार हात पारेको छ । खेलमा तेस्रो भएको पश्चिमाञ्चलले नगद २० हजार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी चौधरीले नगद १० हजार प्राप्त गरेकी छन् ।
उत्कृष्ट स्पाइकर एपीएफकी निमा श्रेष्ठ, उत्कृष्ट सेटरमा एपीफकै बिनीता बुढाथोकी, उत्कृष्ट बल्कर नेपाल प्रहरीकी कोपिला उप्रेती, उत्कृष्ट सर्भिस पश्चिमाञ्चलकी अरुणा साही, उत्कृष्ट क्वीकर सरस्वती चौधरी, उत्कृष्ट डिफेन्स नेपाल प्रहरीकी कमला पून भएका छन् ।
दुई वर्ष अघि लिगामेण्ट च्यातिएर खेल खेल्न नसकेकी सिपोरा गुरुङ पून खेलमा फर्केकोमा खुशी व्यक्त गर्दै नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङसहितको टोलिले २५ हजार, सशस्त्र प्रहरी अतिरिक्त महानीरिक्षक दुर्जकुमार राइले ५ हजार, नेपाल भलिवल संघका केन्द्रीय सदस्य सुनकेसरी माली र ज्योति केसीले ५÷५ हजार सिपोरालाई प्रदान गरे ।
पुस २७ गतेबाट संचालन भएको प्रतियोगितामा दुई विभागीय र पाँच विकास क्षेत्रका ५ टिम गरी ७ टिमको सहभागिता थियो ।
माधव बराल, पोखरा