अर्थ/बजारबिहीबार, माघ २, २०७०
इलाममा दूधबाट सवा तीन अर्ब आम्दानी
इलाममा गत वर्ष १ लाख ५ हजार ९७८ मेट्रिक टन दूध उत्पादन भएकामा यो वर्ष ४.५६ प्रतिशतले वृद्धि भई १ लाख १० हजार ८१७ मेट्रिक टन दूध उत्पादन भएको छ ।
यो वर्ष इलामका किसानले करिब सवा तीन अर्ब रुपैयाँको दूध बिक्री गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
उत्पादित दूध प्रतिलिटर औसतमा ३० रूपैयाँमा बिक्री भइरहेको इलाम दुग्ध उत्पादक सहकारी संस्थाका कर्मचारी अर्जुन सिवाकोटी बताउनुहुन्छ ।
बढी दूध उत्पादन हुनुमा गाईभैँसीमा गरिने कृत्रिम गर्भाधान प्रक्रिया मुख्य रहेको पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा किसानले व्यावसायिक रूपमा उन्नत जातका गाई पाल्दै आएका छन् । होलिस्टिन र जर्सी गरी इलाममा ३३ हजार ३७१ वटा उन्नत (वर्णशङ्कर) जातका गाई पालिएको छ ।
यसको तुलनामा नौ हजार ६७७ वटा मात्र स्थानीय जातका गाईपालन गरिएको छ । स्थानीय जातका गाईले दूध थोरै दिने भएकाले किसानले उन्नत जातका गाईपालन गर्न थालिसकेका छन् ।
यसैगरी वर्णशङ्कर जातका भैँसीभन्दा स्थानीय जातको भैँसीपालन बढी छ । तीन हजार ३७६ वटा स्थानीय जातका र तीन हजार २०६ वटा वर्णशङ्कर भैँसी छन् । ५५ हजारभन्दा बढी परिवार पशुपालन व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न रहेको कार्यालयको भनाइ छ ।
दूध जिल्लाको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, फाकफोक, विव्ल्याँटे, पुवाखोलालगायत १२ वटाभन्दा बढी चिस्यान केन्द्रबाट विराटनगर दुग्ध वितरण आयोजनामा निकासी हुँदै आएको छ ।
जिल्लाका ३६ वटाभन्दा बढी गाउँबाट चिस्यान केन्द्रमा दूध ढुवानी हुँदै आएको छ । १२ वटाभन्दा बढी गाविसमा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानले दैनिक पा“चदेखि ४० लिटरसम्म दूध बेच्दै आएको पशुसेवा कार्यालयका प्राविधिक पदम राईले बताए ।
जिल्लाबाट आयोजनामा वार्षिक एक करोड नौ लाख १७ हजार १३९ लिटर, रितिका डेरीमा चार लाख ७४ हजार ५०० लिटर र जीवन विकास समाज चार लाख १९ हजार ६९० लिटर दूध निकासी हुँदै आएको कार्यालयले जनाएको छ ।
किसानले गठन गरेका दुग्ध सहकारीबाट आएको दूध चिस्यान केन्द्र हु“दै आयोजनामा पुग्ने गरेको छ । यसबाहेक जिल्लाको विभिन्न स्थानका सरकारी र निजी चिज कारखाना, ललिपप उद्योग र निजीस्तरका डेरीले पनि किसानले उत्पादन गरेको दूध किन्ने गरेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
