ब्लगशनिबार, माघ ४, २०७०

‘हिटर ताप्ने, सिरक ओढ्ने भाग्यमा भए पो’

बिक्रम राई

ज्ञानेश्वरको फर्निचर कारखानाका कामदारहरु ४ माघमा आगो ताप्दै

३ माघ रातिदेखि देशका विभिन्न भागमा भएको वर्षा र हिममापतले सर्वसाधारणलाई निकै सास्ती भएको छ । अमेरिकी–युरोपेलीहरु चिसोलाई पनि उत्सवका रुपमा मनाउँछन् तर, साँझ बिहानको जोहो गर्नमै व्यस्त गरीब नेपालीहरुलाई भने भने चिसो कहर बनिदिन्छ ।

४ माघमा काठमाडौं उपत्यकामा पनि वर्षा भएपछि यहाँका दैनिक काम गर्ने मानिसहरुलाई पनि त्यस्तै अप्ठ्यारो परेको छ ।

यी तस्वीरमा देखिएका भरिया चतुर्मान माझी फालिएका कार्टुन बटुलेर बेच्न लैजाँदै छन् । सिन्धुलीबाट आएर काठमाडौंमा जीवन धान्ने उपायमात्रै गरिरहेका माझीले १५ दिन लगाएर बटुलेको कार्टुन–कागज कबाडीलाई बेचेर २५० रुपैयाँ कमाए । अन्य साहूको भारी बोक्ने काम पनि गर्ने यी ६६ वर्षीय बुढा आफूले गर्मी–जाडो केही भन्न नपाएको बताए ।

“चर्को गर्मी होस् कि कठ्याङ्ग्रिने जाडो काम नगरी खान पुग्दैन्,” माझीले भने, “हिटर ताप्ने, सिरक ओढेर बस्ने भाग्यमा भए पो ।”

रुपन्देहीबाट काठमाडौं आएर कबाड खरिद विक्रीको काम गरिरहेका फणिन्द्रप्रसाद यादव (२२)लाई पनि अरु बेला राम्रै भए पनि जाडोको मौषममा पानी परेपछि सास्ती नै हुने रहेछ । तराईबासी भएकाले पनि होला उनले जाडो भन्दा गर्मी सहन सजिलो हुने बताए । भन्छन, “हामी गरीबलाई गर्मी नै राम्रो, न लुगा चाहिने न त हिटर नै ।”

चारखालको आफ्नै सानो पसलमा कुक्रुक्क परेकी यि संखुवासभाकी कुसुम लामा हुन् । “हिंजोसम्म राम्रै घाम लागेको थियो, एक्कासी पानी परेर कठ्याङग्रेकी छु,” लामाले भनिन, “अली दिन यस्तै गरे त हिटर किन्न पर्ला, जाडोले खर्च बढाउला जस्तो छ ।”

ज्ञानेश्वरको एउटा फर्निचर कारखानाका कामदारहरुले दाउराको आगोमा हात सेकाउन पाएका थिए । फर्निचर कारखाना भएकाले पनि उनीहरुलाई दाउराको कमी थिएन् । उनीहरुलाई पनि जाडो भन्दा गर्मी नै राम्रो लाग्दो रहेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...