टिप्पणीआइतबार, माघ ५, २०७०
सालिकलाई सकस
सामान्यतः शहरभित्र सद्दे सडक, आकाशे पुल, नबिग्रेका ट्राफिक बत्ती र नमेटिएका ट्राफिक चिह्नहरूको कल्पना गरिन्छ । सहज आवागमनका लागि यी अत्यावश्यक तत्व हुन् । हाम्रा शहरहरूमा भने यी चिज दुर्लभ र ठिंग उभिएका धुलाम्य सालिकहरू यत्रतत्र उपलब्ध छन् । यीमध्ये धेरैजसो सर्वसाधारणले असाध्य पुजेका सत्पात्रहरू नै छन् ।
२०४६ सालको जनआन्दोलनमा दरबारमार्गको राजा महेन्द्रको सालिकबाट राजदण्ड उखेलेर त्यसैले सालिकको शिरमा हिर्काएको तस्वीर धेरैले देखेको हुनुपर्छ । जनआन्दोलनको बिम्व बनेको त्यो फोटोलाई कतिले घरमा सजाएर राखेको मैले देखेको छु । २४ चैत २०४६ मा सालिक फोर्ने क्रममा गोली लागेका रुकुम खलङ्गाका तारा खड्काले दाहिने खुट्टा र जिब्रो गुमाए । उनले पछि मागेर समेत गुजारा गर्नुपरिरहेछ ।
त्यस दिन महेन्द्रको सालिक फोर्ने क्रममा आठ जनाले ज्यान गुमाएको जानकारी पाइन्छ । भाग्यले बाँचेका तारालाई त्यसपछिको जिन्दगी अभिशाप नै भयो । ‘जिउँदो शहीद’ को उपमाले जिन्दगी नचल्दो रहेछ । रोल्पाको रेडियो जलजलाका अनुसार उनी अहिले सिरहास्थित साथीको घरमा बसेका छन् । उनले तानाशाह महेन्द्रको सालिक फुटाउँदा नेपाली समाज रोमाञ्चित भए पनि त्यो घटनाको सुषुप्त प्रेरणाले सानोतिनो आन्दोलन हुनासाथ चोकका जोसुकैको सालिक फोरिदिने उन्मादको रचना गरे झैं लाग्छ ।
महेन्द्रका सबै सालिक उनको मृत्युपछि ठड्याइएको थियो । राणा शासकहरूले झैं आफू जीवितै छँदा उनका छोरा वीरेन्द्रले ठड्याएका सालिक पनि अहिले छैनन्, ललितपुरको जावलाखेलमा बाहेक । देशका केही प्रमुख सडक–चोकहरूमा ठडिएका वीरेन्द्रका सालिकहरूलाई २०६२/६३ को जनआन्दोलनको आगोले निल्यो । राजाकै सिको गर्दै भूपालमानसिंह कार्कीले दुहवीको बीच सडकमा ठड्याएको सालिकको पनि नामोनिसान छैन ।
पछिल्लो एक दशकका विभिन्न आन्दोलनमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, पृथ्वीनारायण शाह, राजा वीरेन्द्र, शहीद सेतु बिकदेखि भूपालमानसिंह कार्कीसम्मको सालिक राजनीतिक अहंकारको शिकार भएको छ । गणतन्त्रलगत्तै सिंहदरबार अगाडिको पृथ्वीनारायणको सालिक एउटा उन्मादी हूलले फोर्न खोज्यो । पोखरामा पृथ्वीनारायणको भव्य सालिक फोरेर लखन थापाको सालिक राखियो, जबकि पृथ्वीनारायणलाई नफोरी नै लखनलाई अझ् अग्लो बनाउन सकिन्थ्यो ।
जनआन्दोलन २०६२/६३ ताका नेपालगञ्जमा तत्कालीन राजा ज्ञानेन्द्रको नयाँ प्रतिमा फोरेर शहीद सेतु बिकको सालिक राखियो, तर मधेश आन्दोलनको तापले बिकलाई पनि साबुत रहन दिएन । राजनीतिक अहंकारको आगोले कलाकारका अनेक उन्नत कृति निलेको यस्ता उदाहरण अनगिन्ती छन् । यो देखेर सिपालु मूर्तिकार रवीन्द्र ज्यापूलाई कस्तो लागिरहेछ कुन्नि, मलाई भने सडक बनाउँदा कुनै चोक निस्क्यो कि त्यहाँ सालिक उभ्याएर फोर्न सजिलो बनाइदिनेहरूलाई सम्झिरहेछु ।
सालिक पुरातात्विक महत्वको चिज हो । हिजोका सालिकहरू आज अमूल्य सम्पदा भएका छन् । आज सालिक ठड्याउन होड गर्नेहरूले भने भोलि त्यो सम्पदा बनोस् भन्ने सोचेका छैनन् । आफ्नो र आफन्तको कीर्ति राख्न सार्वजनिक ठाउँ ओगट्दा जनताबाट सम्मान पाइँदैन भन्ने कुरालाई त झ्नै बिर्सिएको देखिन्छ । सडक विभाग र महानगर/नगरपालिकाहरूले पनि सालिकको नाममा चोक हडप्ने कामलाई रोकेको छैन । चोक/सडक हडपिरहँदा महानगर/नगरपालिका र सडक विभाग हाइसन्चो मानेर बसे जस्तै ऐतिहासिक सालिक फुटिरहँदा वा कसैको लहडले विस्थापित भइरहँदा पुरातत्व विभाग पनि चुपचाप छ ।
बगैंचामा सालिक
भूपतिन्द्र मल्ल लगायतका शासकहरूका सालिक उनीहरूकै दरबार परिसरमा राखिएको अहिले पनि देख्न पाइन्छ । काठमाडौंका राजा प्रताप मल्ल, उनका छोरा र रानी हात्तीमाथि चढेको सालिक रानीपोखरीको डिलमा सुरक्षित छ । सालिकहरू बाटबाटै राख्ने चिज हैन भन्ने चेत भएका राणाशासकहरूले आफ्ना भव्य सालिकहरू टुँडिखेलभित्र राखे । जुद्धशमशेरको सालिक पनि १९९० सालको भुईंचालोपछि नयाँसडकलाई फराकिलो बनाउँदा मात्र सडकमा आएको हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका हिमायतीहरूले भने यही सालिकबाट प्रेरणा लिएर होला आफ्ना नेताहरूलाई चोक–चोकमा ठड्याउने होड गरे जस्तो देखिन्छ ।
अरू त अरू इन्जिनियर शंकरनाथ रिमालले डिजाइन गरेको शहीदगेटमा समेत चारैतिरबाट धूवाँ–धूलो खाएर बस्न बाध्य छन्, चार शहीद । वास्तुकलाको हिसाबले हेर्नलायक भए पनि शहीदगेटले गेटको नभई डिभाइडरको काम गरेको छ । समाजका सत्पात्रहरूलाई सम्झ्न र विशेष अवसरमा उनीहरूलाई फूलमाला चढाउन सजिलो हुने गरी एकाध ठाउँमा मात्र सालिक बनाइएको छ । ट्राफिक प्रहरीलाई उभिन र सडक डिभाइडरको लागि बनाइएका झैं लाग्ने सालिकहरू राजनीतिक दुव्र्यवहार बेहोर्न मात्र चोकमा उभिए झैं लाग्छन् ।
देवीदेवताका मूर्तिहरू मन्दिर, बगैंचा वा खुला ठाउँ सहितको परिसरमा राखिन्छ । सत्पात्रहरूको सालिकले पनि त्यस्तै ठाउँ पाउनुपर्छ । कोही अहंकारी शासकले नै आफ्नो मूर्ति बीच बाटोमा राखेको रहेछ भने पनि व्यवस्था फेरिएपछि त्यसलाई संग्रहालयमा सुरक्षित राख्न सकिन्छ । जनस्तरबाट स्थापित राजनेता, कवि, लेखक, कलाकार वा खेलाडी रहेछन् भने त उनीहरूको सालिक बाटाबाटामा उमार्नै हुँदैन । कोटेश्वर–सूर्यविनायक सडक विस्तारको क्रममा उखेलिएको पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको सालिक निकै दिनसम्म सडक विभाग परिसरमा लम्पसार परेको थियो । अहिले कोटेश्वर चोक पूर्वपट्टि उभ्याइएको त्यो सालिक यस्सो छेलिएर सडकछेउमा पिसाब फेर्नेहरूका लागि सजिलो भएको छ । जोसुकैको होस्, बाटोको सालिकले यसरी सम्मान कम, हैरानी बढी खेप्छ ।
समाजका सत्पात्रको सालिकलाई बीच बाटोमा प्रदर्शन गरिरहनुपर्दैन । त्यस्ता पात्रको सालिक फराकिलो सार्वजनिक बगैंचा वा पुस्तकालय परिसरमा राख्दा नयाँ पुस्ताका लागि पनि त्यो खास चिज बन्छ । जस्तो, सुन्दरीजल संग्रहालय परिसरमा रहेको बीपी कोइरालाको सालिक सुरक्षित र सबैको लागि प्रेरणाको स्रोत बनेको छ, तर तराई–मधेश लगायतका ठाउँका सडक चोकमा रहेका उनै बीपीका सालिकहरूले बेहोरिरहेको हविगत बताइरहनुपर्दैन । कीर्तिपुरको चम्पादेवी र मुलुकका अन्य खुला चोकमा स्थापना गरिएका पुष्पलालका सालिकहरूले पनि सुन्दरीजल र अन्य ठाउँका बीपीकै कथा भन्छन् ।
कतिपय सत्पात्रको सालिकको वनावटले सम्बन्धित व्यक्तित्वकै तेजोबध गरेको देखिन्छ । रत्नपार्कको शान्ति बाटिकामा राखिएको गणेशमान सिंहको कलाविहीन सालिकले सिंहकै व्यक्तित्वको धज्जी उडाएको थियो । वृद्ध टाउको र बालकको खुट्टा जोडे जस्तो सर्वोच्च नेताको त्यो सालिकको जनस्तरबाट विरोध बढेपछि राम्रो सालिक राखिएको छ ।
तरहराबाट धरान जाँदा तीनकुने चोकमा देखिने सालिकले किराँत मनिषी श्रीजंगाको शारीरिक बनावटबारे सही सन्देश दिइरहेजस्तो लाग्दैन । त्रिमूर्ति निकेतनले काठमाडौंको सञ्चारग्राममा बनाएका लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण समको सालिक निश्चय नै सुन्दर छन्, तर नेपाली भाषा–साहित्यका यी महारथीहरूलाई अन्य कहीं नभएर घरको धुरीमा चढाइएको छ । आधुनिक नेपाली गीत–संगीतका आख्यान नारायणगोपालको सालिकलाई चौबीसघण्टे धूवाँ–धूलो खाने गरी महाराजगञ्ज चोकमा राखिएको छ । कुनै शान्त–सुन्दर बगैंचामा नारायणगोपालका धुन समेत बजिरहने गरी उनको सालिक उभ्याइदिए पत्थर पनि रसाउँथ्यो होला ।
तानाशाहहरूले दुनियाँलाई आफ्नो मूर्तिको फन्को मार्न बाध्य पारे भन्दैमा कवि, कलाकार, गायक, राजनेता र अन्य कीर्तिमानीहरूलाई चौबाटो हडप्न लगाउनु मूर्खता हो । जहाँ पायो त्यहीं सालिक उभ्याएर राजनीतिक उन्मादीहरूलाई सजिलो बनाइदिने हैन, व्यवस्थित बगैंचा रोज्नेहरूको जय होस् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट