थप समाचारआइतबार, माघ ५, २०७०
पश्चिममा पारिलो घाम (दश तस्वीर)
पूर्व–पश्चिम राजमार्ग हुँदै हुँइकिंदा बर्दियाको बबई नदी तटमा नजर नघुमाउने कमै हुन्छन् । हिउँद याममा त्यहाँको बालुवामा घडियाल–मगरगोहीहरू घाम तापिरहेका हुन्छन् भने नदीमा अनेकथरिका पानीचरा र तटमाथि चखेवा जोडीहरूको बाक्दै चहल–पहल देखिन्छ । बर्दिया वाइल्ड लाइफ रिसोर्टका भीम शाही यो सिजनमा बर्दिया राष्ट्रिय निकुञ्ज आउनेले बबई र कर्णालीका भँगाला तथा चौरहरूमा प्रकृतिका अनेक लीला देख्ने बताउँछन् ।
नेपाल तराईको सबभन्दा ठूलो वन्यजन्तुको बासस्थान बर्दिया निकुञ्जमा जंगली हात्ती, पाटे बाघ, गैंडा, डल्फिन लगायतका ५४ प्रकारका स्तनधारी वन्यजन्तु, ४३८ प्रजातिका चरा, २५ प्रजातिका घस्रिने जनावर र १२१ प्रजातिका माछा पाइन्छन् । यहाँ टाइटानिक फिल्मका नायक लियोनार्दो डिक्याप्रियोले पानी खाइरहेका पाँच वटा बाघको तस्वीर खिचेका थिए, एउटै फ्रेममा । ९६८ वर्गकिलोमिटरको निकुञ्ज वरिपरि थारू संस्कृतिको न्यानोपनमा भिज्न पाइन्छ ।
बर्दिया निकुञ्जको ठाकुरद्वार नेपालगंजबाट ९० किलोमिटर पश्चिममा पर्छ, जहाँ सुविधाजनक रिसोर्टहरू छन् । काठमाडौंदेखि प्याकेज कार्यक्रममा आउन चाहनेहरूका लागि रैका ट्राभल्सले निकुञ्जमा एक दिनको बास, डल्लामा होमस्टे र ¥याफ्टिङबाट कर्णाली भएर कैलालीको टीकापुर हुँदै कंचनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा जरायोको बथान नियालेर फर्कने प्याकेज चलाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
