अन्तर्वार्ता/विचारआइतबार, माघ ५, २०७०

‘एक महीनाभित्र सेवा सुध्रिन्छ’

हिमालखबर

प्रबन्ध निर्देशकका रुपमा तपाईंका योजना र लक्ष्य के के छन् ?
प्रविधिको विकासले भ्वाइस सेवा निःशुल्क हुन थालेकोले नेपाल टेलिकमले अब बढी आम्दानी हुने डाटा बिजनेसमा ध्यान दिनेछ । त्यसका लागि नेटवर्कको गुणस्तर सुधार गरेर स्मार्टफोनको पहुँच बढाउँछौं । स्मार्टफोन लिने मान्छेको संख्या बढाउन उत्पादक कम्पनीसँग बण्डलिङ गरेर सस्तोमा बिक्री गर्ने योजना छ । नयाँ सेवा शुरु गर्ने पनि लक्ष्य छ ।

धराशायी हुने सरकारी संस्थानहरूको सूचीमा नेपाल टेलिकम पर्न लागेको सुनिन्छ नि ?
टेलिकम आफैंमा ब्राण्ड हो, ६ हजार कर्मचारी र देशभरिको संरचना प्रयोग गरेर यो ब्राण्डलाई थप बलियो बनाउँछु । टेलिकम व्यावसायिक भएकाले धराशायी हुँदैन ।

आफ्नो कार्यकालमा रणनीतिक साझेदार भित्र्याउन सक्नुहुन्छ ?

रणनीतिक साझेदार भित्र्याउने जिम्मेवारी सरकारले टेलिकमलाई नै दिएको छ । अब केही हप्ताभित्रै यसको प्रक्रिया शुरु गर्छौं । दुई वर्षभित्र रणनीतिक साझेदार भित्र्याएर थप प्रतिस्पर्धी बन्नेछौं ।

नेपाल टेलिकमले बजार विस्तार गर्ने आक्रामक र दीर्घकालीन लाभका नयाँ योजना किन ल्याउन नसकेको हो ?
सार्वजनिक खरीद प्रक्रियाको जटिलताले नयाँ सेवा ल्याउन अप्ठ्यारो छ । सरकारी निकाय भएकाले एउटा टेण्डर प्रक्रिया सकेर सेवा ल्याउन तीन वर्ष लाग्छ, जबकि त्यसवेलासम्म त्यो टेक्नोलोजी पुरानो भइसक्छ । यो प्रक्रियालाई सरलीकरण गर्न सार्वजनिक खरीद अनुगमन कार्यालयसँग छलफल गरिरहेको छु । जीएसएम मोबाइलको थ्री जी काठमाडौं बाहिरका मुख्य शहरमा यही आर्थिक वर्षभित्र विस्तार हुन्छ, शहरी वाइफाई र इन्टरनेटको बढी व्याण्डविथ चाहिनेलाई होम टु फाइबर प्रविधि पनि तत्काल शुरु गरिहाल्छौं ।

तपाईंहरूको सेवा किन गुणस्तरीय हुन नसकेको हो ?
सेवा गुणस्तर सुधार्न जीएसएम मोबाइलको अनुगमन टोली बनाएर काम शुरु गरेका छौं । काठमाडौंमा एक महीनाभित्र महसूस हुने गरी गुणस्तर सुधार्छौं ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>