रिपोर्टसोमबार, माघ ६, २०७०

कांग्रेसमा सत्ता बदल्ने समीकरण

रामजी दाहाल

संविधानसभाको सबभन्दा ठूलो दल कांग्रेसभित्र भावी सरकारको नेतृत्व गर्ने विषयमा तीन शीर्ष नेताबीच दुई सातादेखि जारी छलफल अझै टुंगिएको छैन । सभापति कोइराला निवास महाराजगञ्जमा भएको २ पुस बिहानको बैठकमा उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीमा दाबी गरे भने वरिष्ठ नेता देउवा भने साथीहरूसँगको सल्लाहमा निर्णय गर्ने भन्दै थप केही बोलेनन् । त्यसअघि कोइराला निवासमा भएका दुई बैठकमा पनि देउवा यही भनाइ दोहोर्‍याएर उठेका थिए ।

३ पुसमा आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको आफू निकट केन्द्रीय सदस्यहरूको बैठकमा देउवाले सभापति कोइराला र उपसभापति पौडेलसँग भएको छलफलका कुराहरू राखेका थिए । बूढानीलकण्ठ निवासमा सहमतिबाट अघि बढ्न सबै किसिमका प्रयास गर्ने छलफल भएको केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बताए । उनका अनुसार, सहमतिको प्रयास असफल भए सबै किसिमका विकल्प खुला राख्ने कुरा पनि भएको थियो ।

पर्ख र हेर

सभापति कोइरालाका सामु यतिवेला दुइटा विकल्प छन्– पार्टी सभापतिमा यथावत् रहेर प्रधानमन्त्री छाड्ने या कुनै एक नेतालाई कार्यवाहक बनाएर प्रधानमन्त्री बन्ने । कोइराला परिवारका केही सदस्य भने सुशीलले दुवै पद लिनुपर्ने तर्क गरिरहेका छन् । उनीहरूको बुझाइमा, सुशीलले सभापति पद छाडेपछि कांग्रेसमा वर्षौंदेखिको कोइराला परिवारको विरासत आसन्न १३औं महाधिवेशनबाट फुत्कने ठान्छन्, कोइराला परिवारका कतिपय सदस्यहरू । देउवा निकट केन्द्रीय सदस्यहरू भने कोइरालाले दुवै पद लिएर अघि बढ्ने सोच बनाउँदा सरकार र पार्टी दुवै ठाउँ उनका लागि असहज हुने बताउँछन् । त्यसैले, प्रधानमन्त्री पदका तीव्र आकांक्षी कोइराला एक नेतालाई कार्यवाहक सभापति बनाएर सरकार चलाउने मनसायका साथ अनेक जोडघटाउ गरिरहेका छन् ।

यस्तो अवस्थामा उनले पार्टी नेतृत्व कसलाई सुम्पेलान् त ? विकल्पमा छन्– देउवा र पौडेल । २ पुसको बैठकमा कोइरालाले पौडेललाई पार्टीको जिम्मा लिन आग्रह गर्दा ‘त्यसरी सुल्टो नपर्ने, बरु पार्टीभित्रको आन्तरिक कलह र समस्या झनै चर्कने’ जवाफ पाएका थिए । यसो भन्दै पौडेलले प्रधानमन्त्रीको दावेदारी पनि प्रस्तुत गरेका थिए । एक जना केन्द्रीय सदस्य भन्छन्, “तर, पौडेललाई कार्यवाहक सभापति नदिने रणनीति अनुसार सभापतिले यस्तो प्रस्ताव ल्याएका हुन् ।”

अर्कातिर, वरिष्ठ नेता देउवा पार्टीभित्रको सन्तुलन कायम गरी अघि बढ्नुपर्ने बताउँदै आएका छन् । उनले त्यस्तो सन्तुलन कसरी कायम हुन्छ भनेर प्रष्ट भने पारेका छैनन् । देउवा निकट केन्द्रीय सदस्य विमलेन्द्र निधि सभापतिले प्राथमिकता दिने पद छानेर बाँकी वरिष्ठ नेतालाई छाड्नुपर्ने ‘बटमलाइन’ रहेको बताउँछन् । यो त्रिपक्षीय प्रतिस्पर्धामा तुलनात्मक रूपमा आफूहरूलाई फाइदा पुगेको देउवा पक्षका एक केन्द्रीय सदस्यले बताए । उनको बुझाइमा, ४० प्रतिशतभन्दा बढी सभासद भएको देउवा समूहमा जुनसुकै मुद्दामा एकमत हुने अवस्था छ । तर, ६० प्रतिशत सभासद रहेको दाबी गरिएको संस्थापन पक्षभित्र अनेक गुट उपगुट रहेको बताउँदै ती नेता भन्छन्, “यो अवस्थामा देउवाको ‘बार्गेनिङ पावर’ स्वतः बढ्छ ।” त्यसकारण वरिष्ठ नेता देउवा सभापतिले के निर्णय गर्छन् भनी पर्ख र हेरको अवस्थामा रहेको तर, कोइराला साथीहरूसँग छलफल गरेर आउँछु भनेर हिंडेका देउवाको पर्खाइमा रहेको उनको भनाइ छ ।

कोइराला–देउवा

प्रधानमन्त्री बन्ने कोइरालाको मिसन विना सम्झौता पूरा हुने देखिंदैन । आफू प्रधानमन्त्री बन्ने शर्तमा वरिष्ठ नेता देउवालाई कार्यवाहक सभापति दिनु कोइरालाका लागि सबभन्दा अनुकूल हुने उनी निकटका एक नेता बताउँछन् । उनका अनुसार, संसदीय दलको नेताको चुनावमा पौडेल दावेदारी भए पनि देउवा पक्षको एकमुष्ट सहयोग जुटाएर प्रधानमन्त्री बन्न कोइरालालाई सहज हुनेछ । आफ्नो नेतृत्वमा बन्ने सहमतीय सरकारको दिगोपनका लागि देउवासँगको गठजोड त्यसै पनि कोइरालाको चाहना भएको छ ।

स्वार्थगत समीकरणः कोइराला–देउवा ।

२०५१ र २०५८ सालमा बहुमतमा रहेका गिरिजाप्रसाद कोइराला अल्पमतमा रहेका कृष्णप्रसाद भट्टराई र देउवाकै कारण सत्ताबाट बाहिरिनु परेको थियो । त्यसकारण पनि अहिले बहुमतमा रहेका सुशील अल्पमतमा रहेका शेरबहादुरको समर्थनमा सरकारमा जान चाहन्छन् । अर्थात् देउवासँगको सहमतिले पार्टी एक भएको सन्देशसहित बहुमत र अल्पमतको अन्त्यसँगै आफ्नो सत्ता दिगो हुने कोइरालाको बुझाइ छ । कार्यवाहक सभापति लिएर सरकारमा कोइरालालाई सहयोग गर्नु देउवाका लागि पार्टीभित्र ठाउँ फराकिलो बनाउने अवसर हुनेछ ।

पार्टी विभाजन भएको चार वर्षपछि २०६३ मा एकता महाधिवेशन मार्फत मूलधारमा फर्किएका देउवा त्यसपछिका सात वर्षसम्म ४० प्रतिशतको भागबण्डामा अल्मलिएका छन् । यसले उनलाई सिंगो पार्टीको नभई एउटा समूहको नेतामा सीमित पारिदिएको छ । तीन पटक प्रधानमन्त्री भइसकेका देउवाका लागि पुनः प्रधानमन्त्री बन्नु भन्दा सिंगो पार्टीको कार्यवाहक सभापति बनेर आगामी महाधिवेशनलाई आफ्नो पक्षमा पार्नु बढी फाइदाजनक हुने देखिन्छ ।

उता महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती आदि सभापति कोइरालालाई पार्टी नेतृत्व देउवालाई सुम्पेर प्रधानमन्त्री पद सुरक्षित पार्न सल्लाह दिइरहेका छन् ।

देउवा–पौडेल

कोइरालाले सभापति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुँदाको परिणाम हुनेछ– देउवा र पौडेलको नयाँ गठबन्धन । त्यो अवस्थामा कोइराला प्रधानमन्त्री बन्ने संभावना कम देख्ने देउवा निकट एक जना केन्द्रीय सदस्य उनका लागि भोलिका दिनमा झनै कठिन हुने बताउँछन् । उनका अनुसार, संसदीय दलको नेता चयनको चुनावमा देउवा–पौडेल एक ठाउँमा उभिंदा नै कोइराला अप्ठेरोमा पर्नेछन् ।

परिस्थितिजन्य समीकरणः देउवा–पौडेल ।

केही सभासद लिएर बसेका पौडेल र ४० प्रतिशतभन्दा बढी सभासद् आफ्नो पक्षमा रहेको दाबी गरिरहेको देउवा समूहबीच गठबन्धन हुनासाथ सभापति कोइरालाका लागि संसदीय दलको चुनाव चुनौती बन्नेछ । त्यो अवस्थामा कोइरालाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउने कोइराला परिवार निकटका आमोद उपाध्यायदेखि महेश आचार्य र अमृत अर्यालसम्म, महामन्त्री प्रकाशमान सिंहदेखि अर्जुननरसिंह केसी र नरहरि आचार्यसम्मको समर्थन जुटाउन सकिनेमा पौडेल विश्वस्त देखिन्छन् ।

यति मात्र होइन, देउवा–पौडेल गठबन्धन बलियो हुनासाथ पर्ख र हेरको अवस्थामा रहेका अन्य सभासद पनि त्यतै ढल्कने पौडेल पक्षको बुझाइ छ । यस्तो समीकरणबाट अगाडि बढ्दा देउवालाई १३औं महाधिवेशनबाट पार्टी सभापति बन्न सजिलो हुनेछ भने १७ पटकसम्म प्रतिस्पर्धा गर्दा पनि प्रधानमन्त्री बन्न नपाएका पौडेल पनि सफल हुनेछन् ।

कोइराला–पौडेल

आफू प्रधानमन्त्री बन्न उपसभापति पौडेललाई कार्यवाहक सभापति दिने तेस्रो विकल्प कोइरालाको हातमा छ । पौडेललाई कार्यवाहक दिंदा देउवा समूह कोइराला विरुद्ध खनिने पक्का छ । सरकार र पार्टी दुवैको नेतृत्व नपाउँदाको अवस्थामा ४० प्रतिशतभन्दा बढी सभासद लिएर बसेको देउवाले सत्ताको अंकगणितीय खेलमा सक्रियता बढाउने छन् । त्यो अवस्थाको संसदीय दलको निर्वाचनमा देउवा समूह सम्पूर्ण शक्तिका साथ कोइराला विरुद्ध खनिने छ ।

बाध्यताको समीकरणः कोइराला–पौडेल ।

यो संभावनाको आकलन गरिरहेको कोइराला परिवारको बुझाइमा उपसभापति पौडेल सहयोगी मात्र हुन् भने देउवा समकक्षी । त्यसकारण, सहयोगीलाई मिलाएर अघि बढ्न सहज हुने भएकोले समकक्षीलाई दुईमध्ये एक पद छाडेर समर्थन लिन कोइराला तयार हुने एकथरिको बुझाइ छ । हिजो एक्लै अघि बढ्दा भोग्नु परेका समस्याबारे कोइराला परिवारका सदस्यहरू जानकार पनि छन् ।

राजनीतिक हिसाबले देउवाबाट अप्ठेरो महसूस गरेको कोइराला परिवारका लागि व्यक्तिगत रूपमा देउवा सहयोगी नै देखिएका पनि छन् । गिरिजाप्रसाद कोइरालाको पालादेखि देउवाले व्यक्तिगत रूपमा गरेको सहयोग र समर्थन लिन सुशील चुक्ने कुरै भएन । जस्तो, माधवकुमार नेपाल नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गर्दै सुजाता कोइरालालाई सरकारमा पठाउने तत्कालीन सभापति गिरिजाप्रसादको चाहना देउवाकै सहयोगमा पूरा भएको थियो ।

२०५६ को निर्वाचनमा कोइराला क्याम्पकै शैलजा आचार्य, लीला कोइराला, प्रकाश कोइराला आदिको विरोध हुँदा पनि सुजातालाई सुनसरीबाट टिकट दिन देउवाले ‘हुन्छ’ भनेर गिरिजाप्रसादलाई सजिलो बनाइदिएका थिए । शेखर कोइरालालाई केन्द्रीय समितिमा ल्याउँदा पनि १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य हुनुपर्छ भन्ने कोइराला क्याम्पकै विरोधलाई देउवाले नै ‘कोइरालाहरू जन्मँदै कांग्रेस’ भनेर सामसुम पारिदिएका थिए भने शशाङ्कलाई नवलपरासीबाट टिकट दिनेमा पनि देउवाकै सहमति थियो । यो वास्तविकतालाई बुझेका कोइराला परिवारका सदस्यहरू डा. शेखर, डा. शशांक र सुजाता सभापति कोइरालालाई अघि बढाउन देउवालाई साथ लिनुपर्नेमा एकमत छन् ।

को कस्ता ?

सुशील कोइरालाः बहुमत सभासद् संख्या भएर पनि निर्णय गर्न नसक्ने नेताका रूपमा चिनिन्छन् । तैपनि, राष्ट्रिय राजनीतिमा त्यागी, इमान्दार, निष्ठावान र संघर्षशीलको छवि छ । पारिवारिक सम्बन्धले उनलाई नेतृत्वमा पुग्न सहज भएकै हो । संस्थापन पक्षकै नेताहरूले वेलावेलामा क्षमतामाथि प्रश्न गर्ने कोइराला विधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार पार्टी समेत चलाउन असफल देखिएका छन् । उनले महाधिवेशन सकिएको एक महीनामा गठन गरिसक्नुपर्ने संसदीय समिति र विभाग गठन गर्न सकेनन् । संविधानसभा चुनावको मुखमा संसदीय समिति गठन त गरे, तर विभाग उस्तै छ । आफ्नै दलका उपसभापति प्रत्यासी हुँदा १७ पटकसम्म प्रधानमन्त्री बनाउन नसकेको दोष खेपेका कोइरालामाथि कार्यकर्ताको संरक्षण गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।

रामचन्द्र पौडेलः तुलनात्मक रूपमा क्षमतावान भएर पनि सभासद संख्या कम छ । किसान परिवारबाट आएका पौडेल आफ्नै क्षमता–मिहिनेतबाट आजको उँचाइमा पुगेका हुन् । उनी प्रजातान्त्रिक समाजवादका व्याख्याकार र स्वच्छ छविका नेता मानिन्छन् । यति हुँदाहुँदै पनि उनी कार्यकर्ताको संरक्षण नगर्ने नेतामा दरिएका छन् । उनले आफूलाई अस्वीकार गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्ताव पनि स्वीकारेका थिए, जसले निर्वाचनमा कांग्रेसलाई सफल बनायो ।

शेरबहादुर देउवाः पार्टीभित्रका सदाबहार प्रतिपक्षी नेता मानिने उनमा तत्काल निर्णय गर्ने खुबीको कमी छ । सुदूरपश्चिमबाट आफ्नै पहलमा गृहमन्त्री बनेका उनलाई त्यसपछिको सफलतामा राणा परिवारसँगको पारिवारिक नाताले मद्दत गरेको मानिन्छ । संघर्ष र लगनको राजनीतिक जीवन बिताएका देउवाले २०५८ सालमा ‘प्रजातन्त्रलाई दरबारमा बुझाउने ब्लन्डर’ गरेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध र कार्यकर्ता संरक्षणमा उनी कांग्रेसभित्र सबभन्दा अगाडि मानिन्छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...