अर्थ/बजारसोमबार, माघ ६, २०७०
चकलेट नै ९९ करोडको आयात
वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा ९९ करोड १२ लाख ६२ हजार रुपैंया बराबरको चकलेट आयात भएको जनाएको छ । वीरगञ्ज कार्यालयबाट मात्रै ६ महीनामा ३० लाख ४९ हजार ५२० किलो चकलेट आयात भएको कार्यालयले जनाएको छ ।
भारत तथा तेस्रो देशबाट चकलेट आयात गर्ने गरिएको छ । वीरगञ्ज कार्यालयबाट आयात गरिने प्रमुख २० वस्तुमध्ये चकलेट ११ औं नम्बरमा परेको छ ।
चकलेट आयातबाट ४४ करोड ३८ लाख ५१ हजार रुपैंया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । यो गतवर्षको ६ महीनाकै अवधिमा प्राप्त राजस्वभन्दा १४ करोड ३१ लाख ७० हजार रुपैंयाले बढी हो ।
गतवर्षको सोही अवधिमा वीरगञ्ज भन्सारबाट ६५ करोड १० लाख ६० हजार मूल्य बराबरको २४ लाख २ हजार ३ सय ५४ किलो चकलेट आयात गरिएको थियो । यसबाट वीरगञ्ज भन्सारलाई गतवर्ष ३० करोड ६ लाख ८२ हजार रुपैंया राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
