ब्लगशुक्रबार, माघ १०, २०७०

उत्तरआधुनिक कविलातन्त्र

महेश थापा

लोकतन्त्रको जाप गर्ने बुर्जुवाहरू जनतन्त्रको गुह्य नबुझेर कुहिराको काग हुन पुग्दा संविधान नबनी पहिलो संविधानसभा भंग भयो। दोस्रो संविधानसभा निर्वाचनको मत परिणामले अलिबेर शीताङ्ग भएर बौरिएपछि हामीमा नेपाली भाषामा ‘जन’ र ‘लोक’ समानार्थी शब्द भएको आत्मज्ञान पलायो। देब्रे कोणबाट शुरू गरी अल्पकालमै दाहिनेतर्फ बिसाइएको दीर्घकालीन जन वा लोकयुद्ध पनि लोकतन्त्रकै खातिर रहेछ। चिचिलोमा भुलचुक हुँदा आमाले गाला चड्काए झैं सुधि्रने उर्दी सहित जनताले यसपालि हाम्लाई पड्काएका मात्र हुन्। ज्यास्ती गल्ती गर्‍या हैन, तर ट्युवलाइट जस्तो ढिला अक्कलका कारण कुभिण्डे खप्परले बढी ठक्कर सहनु पर्‍या छ। समाजको चरित्र विश्लेषण गर्ने कुरामा ठूलै कैफियत पर्न गएकाले पनि यसरी गच्ची खानु पर्‍या हो कि भन्ने हाम्लाई लागिरा’छ।

समाज विकासको क्रमसँगै लोकले चोला फेर्दै गएकाले हाम्ले’नि तदनुरुप हुलिया बदल्नुपर्ने ऐतिहासिक बाध्यता आइलाग्यो त के गर्ने? जे भन्दा’नि ‘ज्यू’ गर्ने पहिले जस्तो लाटासोझा रहेनन् मान्छे। दूरबिन लाएर हेर्छौं भन्दा उल्टै हात–हाताँ दूरबिन लिएर सकस पारिरछन्। घर–घरमा इन्टरनेट र खल्ती–खल्तीमा सामाजिक संजाल भिरेर हिंड्नेहरूले जुलुम पार्न लागेकाले नौलो डम्फू नबजाई गरिखान गाह्रो भयो। अबको गुजाराका लागि बुर्जुवा लोकतन्त्रका आधारभूत मान्यता अँगाल्दै थोरबहुत डेन्टिङ्ग–पेन्टिङ्ग गरेर त्यसको कपिराइटमा अंशियार नभई नहुने भयो।

अहिले चलिरहेको औपचारिक लोकतन्त्रभन्दा पृथक् जनताले प्रत्यक्ष शासन गर्न मिल्ने मोन्सान्टो टाइपको हाइब्रिड लोकतन्त्र आजको आवश्यकता हो भन्ने हाम्लाई लागिरा’छ। आदिम कविलाहरूमा पनि प्रत्यक्ष लोकतन्त्रको सुन्दर अभ्यास थियो। कविलाका सदस्यहरू भेला भई शूरवीरहरूको बोलवालाका लागि बलवान सरदार चुन्थे। पश्चगामीहरूले त्यो अभ्यासलाई १० हजार वर्ष पछाडि फर्कने सोच भन्दै अनेक फत्तुर लाउन सक्छन्, तर एक्काइसौं शताब्दीको घडी, पला सबै हाम्लाई था’छ। हाम्रो सम्पर्कमा आए’सी जस्तोसुकै पुरातन जिनिस पनि टिलिक्क टल्कने सत्य तिनीहरू बुझदैनन्। अहिलेको लोकतन्त्रमा यही नै हाम्रो दुःख भएको छ। र पनि, युगसम्मत कविलातन्त्रबारे गहन मन्थन गर्न डराउन्नौं।

फास्टफुड पुस्ताले उधिन्दै गएको यो समाज उत्तरआधुनिकै हो भन्ने हाम्रो ठम्याइ रह्यो। यो हाम्रो माटो सुहाउँदो वाद रहेछ भन्ने हाम्लाई लागि पनि रा’छ। हरेक विषयमा चलनचल्ती भन्दा भिन्न देखिनु, परम्परालाई विघटन गर्नु, समग्रतालाई खण्डित तुल्याउनु उत्तरआधुनिकताको सार हो। ध्वंश नगरी निर्माण हुँदैन भन्ने हाम्रो गुरुमन्त्रसँग दुरुस्त मिल्दो रहेछ यो वाद। अवचेतनमा बसेको यही वादको हुटहुटीबाटै झ्ण्डा र देशको नाम फेर्ने विचार हाम्रो मनमा उम्रेको हुनुपर्छ। नभन्दै, बर्कतले भ्याएसम्म सडक भत्काइयो, घर भत्काइयो, संविधानसभा भत्काइयो। असली उत्तरआधुनिक त हामी पो रहेछौं। जे भने’नि, जसो गरे’नि हुने, कतै टेक्नु–समाउनु नपर्ने, तर निरन्तर विद्रोहको माग गर्ने यति सहज र क्रान्तिकारी वाद हुँदाहुँदै बित्थामा अरूलाई गुरु थाप्ने टण्टा मोलिएछ।

इतिहासका भ्रमहरूबाट उन्मुक्ति उत्तरआधुनिकतावादको एउटा प्रमुख माग भएकोले राष्ट्रनिर्मातालाई लोप्पा ख्वाउँदै राष्ट्रिय एकता दिवसलाई मुगलान धपाइयो। प्रजातन्त्र दिवस खोज्नेहरूको हुर्मत लिइयो। समाजलाई इतिहासका भारहरूबाट मुक्त तुल्याएपछि उत्तरआधुनिक कविलातन्त्र स्थापनार्थ खासै जोडबल चाहिंदैन। राज्यको आकार भद्दा भएकाले प्रत्यक्ष लोकतन्त्रको अभ्यासमा केही समस्या देखिया हो। यो व्यावहारिक कठिनाइ दूर गराउन एकल जातीय राज्य मागिया हो। अझ् अग्रगामी छलाङ्ग मार्दै जात–जात, थर–थर र गोत्र–गोत्रसम्म घुसेर संघीय राज्य निर्माण गर्नुपर्छ। त्यति नगरी न आदिम कविला समाजमा झैं प्रत्यक्ष लोकतन्त्रको अभ्यास सम्भव हुन्छ न त उत्तरआधुनिक कविलातन्त्रको प्रादुर्भाव।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...