रिपोर्टशनिबार, माघ ११, २०७०

हृदयघात चिसोमा बढ्छ

हिमालखबर

२३ वर्षको उमेरमै हृदयघात भएर अस्पताल भर्ना भएका काठमाडौंका सुरज महर्जन।

मीना शर्मा

काठमाडौं, साँखुका सुरज महर्जन (२३) लाई २१ पुसको बिहान ओछ्यानमै हातखुट्टा कठ्याङ्ग्रिने, रिंगटा लाग्ने र छाती दुख्ने समस्याले गाँज्यो। साँझ्मा सञ्चै सुतेका उनलाई एक्कासी त्यस्तो हुँदा परिवारजनले तातो खानेकुरा खुवाए, तर केही सुधार भएन। त्यसपछि विभिन्न अस्पताल हुँदै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका महर्जनलाई निमोनियासँगै हृदयघात भएको पत्ता लाग्यो।

“छातीको आधा भाग निकै दुखेको थियो”, पाँच दिन अस्पताल बसेर २७ पुसमा डिस्चार्ज भएका महर्जन भन्छन्, “दुई हप्तापछि फलोअपमा बोलाएको छ।” चिसो मौसममा हृदयघात हुन्छ भन्ने थाहा नपाएका महर्जनले यसलाई बूढाबूढी र मोटा मानिसहरूको समस्या ठानेका थिए। ४० वर्षसम्म जे खाँदा पनि पचाइन्छ भन्ने सोचका कारण युवा पुस्तामा मुटुको समस्या बढ्न थालेको हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्मा बताउँछन्। उनका अनुसार, उच्च रक्तचाप र हृदयघात भएर अस्पताल पुग्नेमध्ये धेरैजसो युवा धुम्रपान र मध्यपानको अम्मली छन्।

एकाबिहानै छाती दुख्न थालेपछि काठमाडौं, मालीगाउँका टेकहरि शर्मा (७६) ले घरायसी उपचार गरे। त्यसबाट निको हुनुको साटो ज्वरो र रूघाखोकी समेत थपिएपछि गंगालाल हृदय केन्द्र पुगेका शर्मालाई ६ वर्षअघिकै समस्या बल्झिएको देखियो। २०६४ सालमा हृदयघात भएर एन्जियोप्लाष्टी (साँघुरो भएका कोरोनरी रक्तनलीहरू खुलाउने उपचार विधि) गरेका शर्मालाई जोगिंदा जोगिंदै पनि चिसोले समस्या फर्काएको थियो।

छाती दुख्ने, पेट पोल्ने जस्ता समस्या बढ्दै जाँदा ग्याष्ट्रिकको औषधि खाएका सिलगुडीका जोसेफ क्षेत्री (६७) लाई हृदयघात भएको पत्तै भएन। १७ पुसमा दुखाइ बढेर सिलगुडीकै अस्पताल पुगेका उनलाई हृदयघात भएकोले सर्जरी गर्नुपर्ने भनियो। काठमाडौंको नर्भिक अस्पतालमा गत साता वाईपास सर्जरी गराएका क्षेत्रीले मधुमेह, उच्च रक्तचाप जस्ता समस्या नभए पनि मुटु रोग लागेको बताए। “जे खाँदा पनि पच्ने चिसो मौसममा यस्तो समस्या आइलाग्यो”, क्षेत्री भन्छन्।

छाती दुख्दा धेरैले ग्याष्ट्रिकको औषधि खाएर मुटु रोग बढाएको बताउने नर्भिक अस्पतालका डा. भरत रावत जाडो याममा चाडपर्व पनि धेरै हुने भएकाले खानपानले रक्तचाप बढाएको बताउँछन्। खानपानमा ध्यान नदिंदा शरीरमा नुन र कोलेस्टेरोलको मात्रासँगै रक्तचाप बढेर हृदयघात हुन्छ। “जाडो याममा बिहान ४ देखि १० बजेको बीच हृदयघात हुने सम्भावना बढी हुन्छ”, हिउँदमा मुटुको समस्या लिएर आउने बिरामीको संख्या २५ प्रतिशत बढ्ने अनुभव सुनाउँदै डा. रावत भन्छन्, “त्यसकारण जाडोमा रक्तचापमा विशेष ध्यान दिनुपर्छ।”

मुटुको बाइपास सर्जरीपछि नसा खुलाउने कसरत गर्दै सिलगुडीका जोसेफ क्षेत्री।

नियमित स्वास्थ्य परीक्षण
गंगालाल हृदय केन्द्रका निर्देशक डा. मनबहादुर केसीका अनुसार, जाडो महीनामा स्वस्थ व्यक्तिको पनि रक्तचाप एक्कासी बढ्ने भएकाले हृदयघात सम्बन्धी समस्या बढ्छ। गर्मीमा सामान्य रहेको रक्तचाप जाडोमा बढ्दा अस्पताल आउनुको साटो मानिसहरू ‘मर्निङ वाक’ मा निस्केर हृदयघातको शिकार भएको डा. केसी बताउँछन्। “हृदयघात घटाउने उपाय भनेको नियमित स्वास्थ्य परीक्षण र स्वस्थकर जीवनशैली नै हो”, डा. केसी भन्छन्।

केन्द्रका वरिष्ठ विशेषज्ञ डा. शर्माका अनुसार, हृदयघात भएको एक घण्टाभित्र एकतिहाइ बिरामीको मृत्यु हुन्छ। यो अस्पताल पुग्न नपाउने संख्या हो। अस्पताल पुगेका पनि १०० मध्ये ९० जनालाई मात्र बचाउन सकिन्छ। मानिसको जीवनशैली परिवर्तनले यस्तो स्वास्थ्य समस्या ल्याएको डा. शर्मा बताउँछन्। वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी जीवनशैलीकै कारण हृदयघात जस्ता नसर्ने रोगले युवालाई पनि सताउन थालेको बताउँछन्।

नियमित स्वास्थ्य परीक्षण र त्यही अनुसारको जीवनशैली नै मुटु रोगबाट टाढा रहने उपाय भएको डाक्टरहरू बताउँछन्। उनीहरूका अनुसार, हृदयघातबाट जीवन गुमाउने अधिकांश युवाले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिने डा. रेग्मी बताउँछन्। त्यसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न सघाउँछ। त्यसरी ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै गएर मुटुमा रगत सञ्चार गराउने नसा बन्द भएर हृदयघात हुन्छ।
धुम्रपानले क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छ, तर यो हृदयघातको पनि कारण हो भन्ने अहिले खुल्दैछ। डाक्टरहरूका अनुसार, सुर्तीजन्य पदार्थमा हुने निकोटिन, कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, टार लगायतका तत्वले हृदयघात बढाएको छ। मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले त चुरोट खानै हुँदैन।

गंगालाल हृदय केन्द्रका शल्यक्रिया विभाग प्रमुख डा. ज्योतिन्द्र शर्माका अनुसार मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको रगतको नली चिसो मौसममा रोकिने सम्भावना बढी हुन्छ। त्यही कारण जाडो मौसममा बाइपास सर्जरी र एन्जियोप्लाष्टी गर्नेको संख्या बढ्ने डा. शर्माले बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक अध्ययनले सन् २०२० सम्ममा दक्षिण एशियामा मुटुरोग महामारीका रूपमा फैलन सक्ने चेतावनी दिएको छ।

यो चेतावनीलाई ध्यानमा राखेर गत एक दशकदेखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रूपमा मनाउन थालिएको छ। मे २०१२ को ६५औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी विश्वका १९४ राष्ट्रले मुटु, रक्तसंचार, मधुमेह, क्यान्सर, जीर्ण खालका श्वास प्रश्वास समस्या लगायतका रोगबाट हुने मृत्यु २०२५ सम्ममा २५ प्रतिशत घटाउने प्रतिबद्धता जनाएका थिए। यी रोगबाट वर्षेनि करीब साढे ३ करोड मानिसको मृत्यु भइरहेको छ। यसमध्ये आधाजसो मृत्युको कारक मुटुसँग सम्बन्धित रोग छ।

जाडोमा हृदयघात

४–१० बजे बिहान हृदयघातको सम्भावना बढी

२५% ले जाडोमा मुटुको समस्या बढ्छ

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>