अन्तर्वार्ता/विचारआइतबार, माघ १२, २०७०
‘संविधान बन्न डेढ वर्ष लाग्छ’
पहिलो पटक संविधानसभामा पुग्दा कस्तो अनुभव भएको छ ?
गर्व महसूस गरेकी छु । पार्टीले मूल्यांकन गरेर जनताको काम गर्ने जिम्मेवारी दिएकोमा खुशी छु । जनताको अधिकार स्थापित हुने गरी संविधान बनाउने प्रयत्न गर्नेछु ।
एक वर्षमै संविधान बनाउन सकिएला ?
दलहरूले एक वर्षमै संविधान बनाउने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले पनि घोषणापत्रमै उल्लेख गरेको छ । तर जातीय, वर्गीय, लैङ्गिक, क्षेत्रीय मुद्दा सम्बोधन गर्नुपर्ने भएकाले थप ६ महीना समय लाग्न सक्छ । व्यावहारिक जीवनमा पनि त निर्धारित समयभन्दा आधा–एक घण्टा ढिलो पुग्ने नेपालीको बानी नै छ ।
गत संविधानसभाले चाहिं संविधान बनाउन किन नसकेको हो ?
एमाओवादी ठूलो दल भएकाले पनि सहमति कायम हुन नसकेको हो जस्तो लाग्छ । संविधान बन्न नसक्नुमा पनि त्यही कारण रह्यो । जनताले पर्याप्त समय दिएको त्यो वेला कांग्रेस ठूलो दल भएको भए संविधान पक्का बन्नेथियो ।
यो पटक चाहिं संविधान निर्माणमा कस्ता समस्या आउलान् ?
हिजोदेखिका विवादमै विवाद हुन्छ भन्ने लाग्छ । राज्य पुनर्संरचना र शासकीय स्वरुप जस्ता विषयमा हिजो जस्तो अब पनि विवाद हुनेछ । तर, अरु धेरै कुरामा सहमति भइसकेकाले समस्या आउला जस्तो चाहिं लाग्दैन ।
अल्पसंख्यक र महिलाहरुको विषयलाई संविधानमा कसरी सम्बोधन गराउने योजना छ ?
संविधानसभामा महिला र मुस्लिम समुदायको मुद्दालाई प्राथमिकता दिएर उठाउँछु । अरु पार्टीका महिला सभासदहरूसँग पनि छलफल गर्छु । महिला अधिकारको विषयमा आवाज उठाउन संविधानसभामा महिला सभासदको संख्या पर्याप्त छ भन्ने लाग्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
