रमझमआइतबार, माघ १२, २०७०
एउटै खुट्टाले छमछमी
पाँच महीनामै आगोमा परेर एउटा खुट्टा गुमाएकी मीना पुन मगर बैसाखीको सहारामा हिंड्छिन्, तर जब उनी मञ्चमा उत्रिन्छिन्, दर्शकलाई स्तब्ध पार्ने खालको नृत्यकला प्रस्तुत गर्छिन्।
चार वर्षअघि नेपाल टेलिभिजनको नृत्य प्रतिभा खोज्ने कार्यक्रम ‘छमछमी’ मा सहभागी भएयता उनको नाम फैलिंदो छ। पश्चिम र सुदूरपश्चिम नेपालमा लोकप्रिय मीना भन्छिन्, “हङकङमा पनि मेरो नृत्य रुचाइयो, तर काठमाडौंमा प्रस्तुत हुन पाएकी छैन।”
दाङ, पुरन्धाराकी मीना अहिले नेपालगञ्जको रामनगरमा बस्छिन्। पैसा तिरेर नृत्य सिक्न नसक्ने आर्थिक अवस्थाकी उनले अरुले नाचेको हेरेरै यो सीप आर्जन गरेकी हुन्।
नृत्यकै लागि गत महीना हङकङ बोलाइएकी उनी तीन वर्षअघिसम्म जीवनमा केही गर्न नसकिने भयो भनेर निराश हुने गरेको बताउँछिन्। तर, उनको संघर्षले त्यो अवस्थालाई पार लगाइसकेको छ।
“मानिसहरूले मेरो कला मन पराएर हौसला दिएका छन्” मीना भन्छिन्, “जीवनलाई संघर्षबाटै अगाडि बढाउने हिम्मत पलाएको छ।”
ऋषिराम कट्टेल