टिप्पणीआइतबार, माघ १२, २०७०

सुशीलले पाएको मौका

शंकर तिवारी

गत संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस पाँच वर्षपछि पहिलो दल बनेको छ । २०७० को निर्वाचनमा कांग्रेस पहिलो पटक दोस्रो पुस्ताका नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नेतृत्वमा लडेको थियो ।

हुन त, आलोचकसहित पार्टीकै केही समर्थक पनि यो निर्वाचनमा कांग्रेसले सफलता पाउनुमा नेतृत्वभन्दा माओवादी र मधेशवादी दलप्रतिको चरम वितृष्णालाई कारण मान्छन् । तर, सभापति भएकाले कांग्रेसले पाएको सफलताको हकदार कोइराला हुन् भन्न अप्ठ्यारो मान्नुहुँदैन । सफलताको जस पाएकाले हुनुपर्छ, इमानदार, त्यागी र निष्ठावान मानिएका कोइराला अहिले प्रधानमन्त्री बन्न कस्सिएका छन् ।

अभिभावकको खाँचो
नेपालको इतिहासमा २००७, २०४६/४७ र २०६२/६३ लाई राजनीतिको मानक मिति मानिन्छ । किनभने यी मितिसँग संविधानलेखन पनि जोडिएको छ । तर, संविधानलेखनमा २०४७ मात्र सफल भयो ।

००७ को क्रान्तिपछि २०१५ मा मात्र राजाले संविधान जारी गरे भने २०६४ मा निर्वाचित भएको संविधानसभाले चार वर्षमा पनि संविधान दिन सकेन । त्यसैले २०४७ मा एक वर्षभित्रै संविधान के कारणले जारी हुन सक्यो भनेर खोज्नु आवश्यक छ ।

२०४७ मा प्रमको साँचो दावेदार गणेशमान सिंह थिए । तर, राजासँग उनले कृष्णप्रसाद भट्टराई उपयुक्त हुन्छन् भनिदिए । र, आफू अभिभावक बनेर उनले किसुनजीलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिए । २०४७ मा दरबार र वाममोर्चालाई मिलाएर संविधान जारी गर्नु सजिलो थिएन ।

सेनाका जर्नेलहरू प्रमलाई दबाब दिन बालुवाटार पुग्थे भने वाममोर्चाले विरोधमा सडक तताउँथ्यो । तर, गणेशमानको अभिभावकत्वमा कूटनीतिक चातुर्य भएका किसुनजीले सबैलाई समन्वय गर्दै संविधान जारी गरे ।

गणेशमान अभिभावक नबनेर प्रधानमन्त्री बनेको भए शायद त्यो वेला समयमै संविधान जारी नहुन सक्थ्यो । २००७ लाई हेर्ने हो भने बीपी कोइराला क्रान्ति नायक थिए । तर उनमा अनुभवको कमी थियो भने उनीसँग २०४७ मा जस्तो राजनीतिक अभिभावक पनि थिएनन् ।

उता, परिस्थितिले पार्टी सभापति बनेका मातृकाप्रसाद कोइराला आफैं कार्यकारी पदका आकांक्षी थिए । अन्तरिम सरकार विघटन भएपछि मातृकाले प्रमको पद अस्वीकार गरेर बीपीलाई प्रस्ताव गरेको भए इतिहास अर्कै हुनेथियो होला ।

सुवर्णलाई मन्त्रिपरिषद्को अध्यक्ष मान्न बीपी तयार भएपछि मात्र २०१५ मा ऐतिहासिक आम निर्वाचन सम्भव भएको थियो । राजा महेन्द्र बीपीप्रति सकारात्मक नभए पनि उनी अभिभावक बनेकाले २००७ देखिको संक्रमण २०१५ मा पुगेर टुङ्गिएको थियो ।

२०६४ को संविधानसभामा पहिलो दल बनेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अकल्पनीय सफलताको उन्मादले बलि चढायो । संविधानसभा छँदै २०६३ को परिवर्तनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएपछि दाहालले आफैं अभिभावक भएको दाबा गरे । तर उनी बाबुराम भट्टराईको अभिभावक पनि बन्न सकेनन् । त्यही कारण बाबुरामको असफलता दाहालको पनि असफलता बन्न पुग्यो ।

कोइराला अभिभावक बन्नुपर्छ
अहिलेको संक्रमण अन्त्य गर्न सरकारप्रमुखले गठबन्धन सरकार चलाउँदै संविधान जारी गर्न सक्नुपर्छ । तर, देशलाई अहिले प्रमभन्दा अभिभावक बढी चाहिएको छ । अभिभावक कसैले दावी गर्नासाथ पाउँदैन । इतिहास, व्यक्तित्व र हैसियत हुनुपर्छ । यी तीन वटै विशेषता भएको अहिले कोइराला बाहेक कोही देखिंदैनन् ।

इतिहासको अनुभवबाट सिकेर मुलुकलाई अघि बढाउने हो भने कोइराला अहिले प्रम बन्नभन्दा अभिभावक बन्न लाग्नुपर्छ । प्रम बन्दा कोइरालाले सरकार र पार्टी चलाउने तथा संविधान बनाउने तीन प्रमुख जिम्मेवारी सम्हाल्नुपर्छ । पार्टी सभापतिको जिम्मेवारी अरूलाई कार्यवाहक दिंदैमा सकिने होइन । तीन वटै जिम्मेवारीलाई उत्तिकै न्याय गर्न नसकिने हुनाले मुखमा आएको प्रम पद अस्वीकार गर्दा कोइरालाकै उचाइ बढ्नेछ ।

उनले त्यस्तो निर्णय गर्दा कसैले पनि जिम्मेवारीबाट पन्छिएको भन्ने छैन । किनभने त्यसवेला पनि उनले अभिभावक बनेर सबै जिम्मेवारी निर्वाह गर्नेछन् । इतिहासमा विरलैले पाउने यो मौकालाई सदुपयोग गरेर कोइराला परीक्षामा उत्तीर्ण हुनेछन् भन्ने आशा गर्नु अहिले अतिशयोक्ति हुने छैन ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>