रिपोर्टसोमबार, माघ १३, २०७०
मलेशियामा करोडपति नेपाली
डम्बरकृष्ण श्रेष्ठ, मलेशिया
मलेशियामा अधिकांश नेपाली बिजोगमा बाँचिरहेको वेला झपाका हाकिम श्रेष्ठ (४९) भने सफल व्यवसायी बनेका छन् । १५ वर्षअघि सेक्युरिटी गार्डमा त्यहाँ पुगेका पूर्व भारतीय सैनिक उनले ११ वर्षअघि खोलेको मनकामना स्टोर कोतराय, बुकि बिन्ताङ, केलाङ र जोहरबारुमा विस्तार भएको छ । सेक्युरिटी गार्डमा चार वर्ष काम गरेपछि १९०० रिङ्गिटमा छुर्पी पसल खोलेका उनका चार पसलमा चार मलेशियन सहित २२ जना कामदार छन् भने दैनिक २० हजार रिङ्गिट (रु.६ लाख) को बिक्री हुन्छ ।
हाकिमले मलेशियाको कमाइबाट काठमाडौं र झपामा घर बनाएर क्वालालम्पुरमा पनि अढाइ करोड रुपैयाँको अपार्टमेन्ट जोडेका छन् । रु.५० लाख पर्ने गाडी चढ्ने हाकिम भन्छन्, “कडा मिहिनेत र इमानदारीले यो अवस्थामा पुगेकोमा गर्व लाग्छ ।”
बढ्दैछन् व्यवसायी
डेढ दशकदेखि कामका लागि मलेशिया आउन थालेका नेपालीमा व्यवसाय गर्नेको संख्या विस्तारै बढ्दैछ । नेपाल बिजनेश सोसाइटी अफ मलेशियाका अनुसार नेपालीहरूले खोलेका पसल र रेस्टुरेन्टहरूको संख्या २९६ पुगेको छ ।
सेक्युरिटी र विभिन्न कम्पनीहरूमा काम गर्दै व्यवसाय शुरू गरेका कृष्ण कुरुम्बाङको ‘विजय हिल इम्पोर्ट एक्सपोर्ट’ अन्तर्गत अहिले ११ वटा पसल सञ्चालनमा छन् । बंगुरको मासु काट्ने काम गर्न आएका इन्द्र लिम्बूले इन्द्रेणी र काठमाडौं रेस्टुरेन्ट खोलेका छन् । दीपक बोगटीले धौलागिरि फेन्सी सप, कृष्ण आङदम्बेले लाली गुराँस रेस्टुरेन्ट र पासाङ लामाले खुकुरी रेस्टुरेन्ट चलाएका छन् । जोहरबारुमा सुरेन्द्र चौधरी र शान्ता राईले मिलेर चलाएको भान्साघर रेस्टुरेन्ट नेपालीबीच परिचित छ । मोहन राई, बलबहादुर राई, अम्बर राई र एकराज राई मिलेर जोहरबारु क्षेत्रमा सन् २००२ मा शुरू गरेको गोर्खाली रेस्टुरेन्टको ‘चेन’ मा १० वटा रेस्टुरेन्ट पुगिसकेका छन् । मलेशियाको क्वालालम्पुरमा झपाका लोचन विमली, राजेन्द्र भण्डारी र वाल राना मिलेर सन् २००१ मा खोलेको ‘नेपाल हाउस’ नेपालीहरूमध्येको पहिलो रेस्टुरेन्ट थियो ।
नेपाली बिजनेश एसोसिएसनका अध्यक्ष राजेश श्रेष्ठ व्यवसायमा लागेको छोटो समयमा क्वालालम्पुरको धेरै ठाउँमा नेपालीले पसल र रेस्टुरेन्ट विस्तार गरेको बताउँछन् । व्यवसाय गर्न सहज वातावरण भएकाले नेपालीहरू व्यापारमा सफल भएको उनको भनाइ छ । १३ वर्षअघि ह्याण्डिक्राफ्टको व्यापार गर्न मलेशिया पुगेका उनले व्यापारमा रु.२ लाख डुबाएपछि त्यहींको बिस्कुट उद्योगमा दुई वर्ष काम गर्दै पछि नेपालबाट मःम बनाउने भाडा लिएर त्यहाँ पुगेका थिए । पेनाङमा खोलेको मःम पसल सफल बनेपछि ‘जिरो माइल’ नामको रेस्टुरेन्ट चलाउँदै उनले त्यही नाममा मार्केटिङ कम्पनी स्थापना गरे । अहिले उनी सुनिल चालिसे र ईश्वरी ढकालसँग मिलेर ठूला कन्सर्ट र कम्पनीहरूका लागि मार्केटिङ गर्छन् । आफ्नो कमाइबारे राजेश भन्छन्, “कमाएको धेरै पैसा उडाए पनि अहिले रु.७ करोडको पूँजी छ, जसमध्ये डेढ करोड रुपैयाँ लगानीमा नेपालमा डेरी व्यवसाय थालेको छु ।”
राम्रो कमाउनेहरू
एनआरएन मलेशियाका उपाध्यक्ष विश्व राईका अनुसार, मलेशियामा दक्ष नेपाली कामदारको संख्या १० प्रतिशत मात्र छ । त्यसमध्ये पनि रु.१ लाखदेखि रु.७ लाखसम्म कमाउने पूर्ण दक्ष कामदारको संख्या २०० भन्दा बढी नभएको उनको भनाइ छ ।
मलेशियामा गएकामध्ये करीब पाँच प्रतिशतले नेपालीहरूले गर्नेमध्ये आकर्षक मानिने सेक्युरिटी गार्डको काम गर्छन् । सेक्युरिटी गार्डले मासिक ९०० बेसिक र ओभरटाइम गरी १६०० रिङ्गिट (रु.४८ हजार) सम्म कमाउँछन् । खर्च कटाउँदा पनि उनीहरूको मासिक रु.३५ हजारसम्म बचत हुन्छ ।
रु.२ लाख खर्च गरेर पाँच महीनाअघि सेक्युरिटी गार्डको काम गर्न मलेशिया पुगेका बारा, सपहीका अमेरिकनप्रसाद चौधरीको मासिक बचत रु.३५ हजार छ । चौधरीसँगै क्वालालम्पुरको टाइम स्क्वायरमा सुरक्षाकर्मी रहेका सुनसरीका जितेन्द्र भट्टराई, धादिङका प्रदीप ठकुरी र मोरङका कृष्ण मण्डलले पनि उत्ति नै बचत हुने गरेको बताए । ११ महीनाअघि त्यहाँ पुगेका मोरङको हसन्दहका कृष्ण मण्डल सेक्युरिटी गार्डमा अझै तीन वर्ष त्यहाँ काम गरेर कमाएको रकमले गाउँमा मील चलाउने योजनामा छन् ।
चितवन, शिवनगरका नेपाली सेनाका पूर्व जवान श्यामबहादुर बराम मगर (४०) सँगै क्वालालम्पुरको एक भवनमा १६ जना नेपाली सुरक्षा गार्ड छन् । सेनाबाट पेन्सन भएका उनीसँगै सबैको त्यहाँ मासिक बचत रु.३६ हजार छ । उनीसँगै काम गरिरहेका रामेछापका पूर्व सैनिक सञ्जयकुमार श्रेष्ठ (३३) पहिले पाँच वर्ष मलेशियामै काम गरेर घर गएर फेरि आएको तीन महीना मात्रै भयो । काठमाडौंमा होटल व्यवसाय छाडेर एक वर्षअघि मलेशिया आएका बाग्लुङका किसान भुजेल पनि सुरक्षा गार्डको काम गर्छन् ।
——————————————————————————————————————————————-
कामदारबाट व्यवसायी
११ वर्षअघि रु.८५ हजार खर्च गरेर सेक्युरिटी गार्डका लागि मलेशिया पुगेका काभ्रे भीमखोरी–४ का पासाङ लामा (३२) अहिले नेपालीबीच सफल व्यवसायी मानिन्छन् ।
पहिले इलेक्ट्रोनिक्स कम्पनीमा मासिक ४८० रिङ्गिट तलब पाउने गरी मलेशिया पुगेका उनी दुई वर्ष काम गरेपछि चित्त नबुझेर ‘इलिगल’ बने । त्यहाँबाट नेपाल फर्केपछि सेक्युरिटी गार्डमा मलेशिया पुगेका उनी डीजी टेलिकमको सेक्युरिटी इञ्चार्ज बने । पाँच वर्षअघिसम्म सेक्युरिटी गार्ड रहेका उनलाई हङकङमा अरूले गरे जस्तै टेलिफोनमा नम्बर डायल गरेपछि नेपाली समाचार, गीत, राशीफल सुन्न सकिने व्यवसाय शुरू गर्ने विचार आयो । त्यसपछि साथी विश्व राईसँग मिलेर आईभीआर न्यूजको ‘कन्ट्रयाक्ट’ लिएका उनीहरूको सेवा अहिले तीन रिङ्गिट खर्च गरेर मासिक ५० हजारले लिन्छन् । डीजी टेलिकमको प्रोमोटर बनेका उनले चार वर्षअघि नेपाली खबर साप्ताहिक पत्रिकाको प्रकाशन गर्दै शुभद्रा लिम्बूसँग मिलेर खुकुरी रेस्टुरेन्ट पनि खोलेका छन् । सबै व्यवसायमा गरेर २० जनालाई रोजगारी दिएका उनको अहिले मासिक कारोबार १ लाख रिङ्गिट (रु.३० लाख) छ ।
————————————————————————————————————————————–
गोर्खाली चेन
१३ वर्षअघि मलेशियाको जोहरबारुमा खुलेको रेस्टुरेन्ट गोर्खालीको चेनमा १० वटा पुगिसकेका छन् । मोहन राई, बलबहादुर राई, अम्बर राई र एकराज राईले खोलेको त्यो रेस्टुरेन्ट स्थापनाको कथा रोचक छ ।
सन् १९९१ मा रोजगारीका लागि सिंगापुरहुँदै मलेशिया पुगेका मोहन राई (४५) ले एक वर्ष प्लाष्टिक उद्योगमा काम गरेका थिए । एक वर्ष काम गर्दा दलाललाई बुझएको रु.१ लाख पनि नकमाएपछि मलेशिया नफर्किने गरी नेपाल लागेका उनी तीन वर्षपछि फेरि सिंगापुर पुगे र त्यहाँ सात वर्ष काम गरे । सन् २००० पछि मलेशियामा रोजगारीका लागि धेरै नेपाली पुग्न थालेको थाहा पाएर उनी म्यानपावर चलाउन मलेशिया छिरे । तर, तीन महीनापछि धेरै नेपाली म्यानपावरबाट ठगिएको थाहा पाएर उनले म्यानपावर खोल्ने योजना छाडे । नेपाल फर्केर तीन हप्ता बिताएपछि मलेशिया पुगेर नेपालीहरूले पठाउने पैसा घरसम्म पुर्याउने ‘हुण्डी’ व्यवसाय थाले । नेपालीहरूले रेमिट्यान्स पठाउने ब्याङ्कहरू नभएको त्यो वेला उनले हुण्डीबाट राम्रो कमाए । त्यो कमाइले साथीहरूसँग मिलेर क्वालालम्पुरमा ‘नेपाल हाउस’ र जोहरबारुमा ‘रेस्टुरेन्ट गोर्खाली’ खोलेपछि उनीहरूको चेन यो रूपमा विकास भएको हो । व्यवसाय सफल हुँदै जाँदा समाजसेवीको समेत परिचय बनाएका उनले खर्च नभएर घर फर्कन नपाएका धेरै नेपालीलाई सहयोग गरेका छन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
