रमझममंगलबार, माघ १४, २०७०

हलिउडमा विजयको फड्को

हिमालखबर

– कुन्द दीक्षित

विजयका साथमा हलिउडका कलाकार जोश ब्रोलिन (बीचमा) र मार्टिन हेन्डरसन (बायाँ)।

ट्वीनअटर र बोइङ ७५७ उडाउने पाइलट अनि टेलिभिजन कार्यक्रम ‘ब्ल्याक एण्ड ह्वाइट’ का प्रस्तोताका रूपमा चिनिएका क्याप्टेन विजय अब हलिउड फिल्म ‘एभरेष्ट’ मा खतरनाक उद्धार अभियानमा संलग्न हेलिकप्टर पाइलटको रूपमा देखिंदैछन्। “गौरव महसूस गरिरहेको छु”, जोन क्राकाअरको किताब ‘थिन एअर’ मा आधारित यो फिल्ममा सामान्यतः नेपाली कलाकारहरूका लागि दुर्लभ हुने मौका पाएका लामा भन्छन्, “र आशा गर्छु, यो एक्सपोजर नेपाली युवाका लागि प्रेरक हुनेछ।”

‘थिन एअर’ मा सन् १९९६ मा सगरमाथा शिखर छेउमा आठ जना आरोहीको ज्यान जाने गरी भएको हिमआँधी दुर्घटनाको वृत्तान्त छ। लामाले ‘थिन एअर’ माथि बाल्तासार कोर्माकुरले बनाउन लागेको फिल्म ‘एभरेष्ट’ मा हलिउडका चर्चित कलाकारहरु ज्याक गाइलेनहाल, ज्यासन क्लार्क, जोन हक्स र जोश ब्रोलिनसँग अभिनय गर्ने छन्। कोर्माकुर ‘अ लिटल टि्रप टु ह्याभेन’, ‘दि डीप’, ‘कन्ट्राब्याण्ड’ आदि चर्चित फिल्मका निर्देशक हुन्।

कोर्माकुरको ‘एभरेष्ट’ मा गाइलेनहालले दुर्घटनामा दिवंगत अमेरिकी आरोही स्कोट फिसर र क्लार्कले न्युजिल्याण्डका रब हलको भूमिका गर्नेछन्। हलले सगरमाथाको दक्षिणी मोहडामा प्राणान्त हुनुअघि न्युजिल्याण्डमा रहेकी गर्भवती पत्नीसँग फोनमा कुरा गरेका थिए। दुर्घटनामा एउटा हात गुमाए पनि बाँचेका अमेरिकी आरोही बेक वेदर्सको भूमिकामा जोश ब्रोलिन देखिने छन्।

फिल्मको कथा वेदर्सकै वरिपरि घुम्छ, जसलाई नेपाली सेनाका हेलिकप्टर पाइलट कर्णेल मदन केसीले दुर्घटना भएको दुई रातपछि एक जना ताइवानी आरोहीसँगै क्याम्प–२ बाट उद्धार गरेका थिए।

१८ वर्षअघिको त्यो खतरनाक ‘रेस्क्यु मिसन’ लाई दोस्रो प्रयासमा सफल पारेका कर्णेल केसीले त्यो वेला विश्वमा सबभन्दा अग्लो ठाउँमा हेलिकप्टर उतारेको रेकर्ड कायम गरेका थिए। अनावश्यक लागेका सबै उपकरण–औजार निकालेर हेलिकप्टरलाई हलुका पारेका केसीले खुम्बु आइसफल नजिकबाट ‘सोलो’ उडान गरेर मिसन सफल पारेका थिए।

काठमाडौं विमानस्थलछेउको गल्फ कोर्समा ७ माघमा भएको सूटिङमा अमेरिकी दूतावासका अधिकारीको भूमिकामा रहेका कलाकार सोध्छन्, “घाइते आरोहीको उद्धारका लागि ६ हजार ५०० मिटरमा हेलिकप्टर उतार्न सक्नुहुन्छ?” कर्णेल केसीको भूमिकामा रहेका क्याप्टेन लामा भन्छन्, “सक्छु, सक्दिनँ यसै भन्न सक्दिनँ, तर यसअघि यस्तो कहिल्यै भएको छैन भन्ने कुरा चाहिं मलाई थाहा छ।”

बाँकी सूटिङका लागि लामा १२ जना शेर्पाका साथ यसै साता इटालीको भाल पाराडिसो जाँदैछन्। त्यसपछि उनको टोलीले बेलायतको पाइनउड स्टुडियोमा काम गर्नेछ।

फिल्ममा कर्णेल केसीले आफ्ना को–पाइलटसँग गरेको कुरालाई नेपालीमै राख्न (अंग्रेजी सबटाइटलसहित) निर्देशक कोर्माकरलाई राजी बनाएका लामा भन्छन्, “१८ वर्षअघि आफ्नो जीवनलाई जोखिममा राखेर अरूको उद्धार गरेका पाइलट र शेर्पाहरूको बहादुरी झल्किने हलिउड फिल्ममा अभिनय गर्न पाउँदा गर्व लागेको छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>