रमझममंगलबार, माघ १४, २०७०
के छ ‘मोक्ष’मा
‘आयोनिका’ व्याण्डमा काम गर्दा खासै चर्चा नपाएका प्रबीण श्रेष्ठले त्यसपछि ‘उदय तन्त्र’ नामको नयाँ व्याण्डमा काम गरे । जुन व्याण्ड निक्कै चर्चित पनि भयो । व्याण्ड प्रमोशन, गीत–संगीत र कन्सर्टमा श्रेष्ठ जम्न थालेका थिए । तर, ‘उदय तन्त्र’ले राजधानीस्थित चक्रपथमा कन्सर्ट गरिरहेकै बेला सांघातिक हमला भयो र उनलाई पक्षघात भयो ।
उनैको कथावस्तुमा आधारित फिल्म हो– ‘मोक्ष’ । त्यही फिल्मको प्रमोशनका लागि ‘मोक्ष’ टोली पूर्वाञ्चलमा पुगेको हो । धरानमा १४ माघमा आयोजित पत्रकार सम्मेलनमा कास्टिङ डाइरेक्टर दीपेश भण्डारीले भने, “मोक्ष संगीतकर्मी प्रवीण श्रेष्ठकै सांगीतिक जीवनको फेहरिस्त हो ।”
“फिल्मको ८० प्रतिशत कथावस्तु वास्तविक घटनामा आधारित छ,” २४ माघदेखि प्रदर्शनमा आउने फिल्म बारे जानकारी दिँदै भण्डारीले भने, “२० प्रतिशत भने फिल्ममा फिक्सनाइज्ड गरिएको छ ।”
मोक्ष प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्देशन प्रवीण श्रेष्ठले नै गरेका छन् । उनी ह्वीलचेयर युजर हुन् । ‘मोक्ष”मा विक्रम सिंह, दीपेश भण्डारी, कोशिस क्षेत्री, मनिष गोदार, बेनिशा हमाललगायतले अभिनय गरेका छन् । पचास लाख लागतमा बनेको फिल्ममा निर्माता सुनिल मानन्धर हुन् ।
सोहन श्रेष्ठ, धरान