टिप्पणीमंगलबार, माघ १४, २०७०
ढाँटको खेती ?
अघिल्लो साता अनलाइन पत्रिका सेतोपाटी मा ‘पत्रकार डेकेन्द्र थापामाथि बनाइएको डकुमेन्ट्री संसारकै उत्कृष्ट’ भन्ने समाचार प्रकाशित भयो। केही पत्रिकाले त्यसअघि नै छापिसकेको उक्त समाचारमा एक अंश पनि सत्य थिएन। मैले त्यो समाचार गलत हो भन्दै फेसबुक र ट्वीटरमा पोष्ट गरेपछि निकै टीकाटिप्पणी भयो। र, सेतोपाटी ले त्यो समाचार हटायो।
समाचारमा किरण पौड्यालको डकुमेन्ट्री ‘अलाइभ जर्नालिष्ट बरिड’ टोरोन्टो इन्टरन्याशनल फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट भएको दाबी थियो। पुरस्कारलाई महत्वपूर्ण बनाउन टोरोन्टोलाई अस्कर अवार्डपछिको दोस्रो महोत्सवको दर्जा दिइएको थियो। उक्त डकुमेन्ट्रीलाई दक्षिण एशियाकै एक्लो प्रतिस्पर्धी पनि भनिएको थियो। ती सबै कुरा गलत हुन् भनेकोमा निर्देशक पौड्याल मसँग निकै रिसाए। समाचारदाता विकासराज न्यौपानेले उक्त समाचार सत्य भएको पुष्टि गर्न कान्तिपुर, हिमाल खबरपत्रिका, अन्नपूर्ण पोष्ट लगायतका पत्रिकामा छापिएका गलत समाचारहरू प्रस्तुत गरे। तर, पहिले नै दिक्क पारिसकेका ती झूटलाई मैले सत्यको प्रमाण मान्ने कुरै आएन।
त्यो समाचार छाप्नेहरूमध्येको एउटा सेतोपाटी ले गल्ती स्वीकार गरेर माफी माग्नेसम्मको साहस देखायो। नेपाली व्यावसायिक पत्रकारिताको लागि यो माफीको ठूलो महत्व छ। यो प्रकरण एउटा माफीमै सेलायो भने चाहिं नेपाली चलचित्र उद्योगलाई घाटै लाग्नेछ। किनभने, एउटा नेपाली डकुमेन्ट्री ‘विश्व विजेता’ भएको भन्ने त्यो झूटो समाचारसँग हाम्रा सञ्चारमाध्यमहरूले नेपाली चलचित्रको सफलतालाई कतिसम्म हल्का रूपमा लिन्छन् भन्ने कुरा पनि जोडिएर आएको छ।
त्यो समाचारमा गरिएका सबै दाबी गलत थिए, तर छाप्नेले त पत्याएरै छापेको हो। यस्तो घटना खेलकुद या अन्य कुनै विधामा भएको भए पत्रिकाहरूले त्यति सजिलै वा साथी भएको भरमा एकोहोरो दाबी पत्याएर थप खोजीनिती नगरी छाप्थे त? अथवा, एउटा नेपाली डकुमेन्ट्रीले ‘संसार जितेको’ घटनाको समाचार पत्रिकाको भित्री कुनामा सीमित हुन्थ्यो होला? खेलकुदमा त शक्ति गौचनले आईपीएल खेल्ने चर्चाकै समाचार पनि पहिलो पृष्ठमा ठूलो ठाउँ लिएर आयो नि! अर्थात्, पौडेलको डकुमेन्ट्री साँच्चै विजयी भएको भए पनि त्यसले कुन हैसियतको ‘महत्व’ पाउने रहेछ भन्ने देखिएको छ।
यो प्रकरणमा संचार संस्थाहरुको डेस्कले कुनै खोजीनिती गरेन, जबकि गुगल सर्च मात्र गरेको भए पनि तुरून्तै सत्य थाहा हुन्थ्यो। चिप्लिहाले पनि कुनै एउटा पत्रिका चिप्लिन्थ्यो, सबै होइन। तर, थप खोजीनिती नगरी भित्री पेजमा ‘ब्युरिड’ गरेको त्यो समाचारले अन्ततः पत्रिकाहरुको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा गरेको छ। कान्तिपुर, हिमाल खबरपत्रिका, अन्नपूर्ण पोष्ट लगायतले पनि सेतोपाटी ले जस्तै गलत समाचार दिएकोमा ढिलो–चाँडो माफी माग्ने आशा गर्न सकिन्छ।
अनेक–अनेक समाचार
‘अलाइभ जर्नालिष्ट बरिड’ को गलत समाचारले दिक्क बनाइरहेको वेला ‘सोभित बस्नेतले रु.१० करोडको हिन्दी फिल्म निर्देशन गर्ने’ अर्को चर्चा फेसबुकमा शेयर हुन थाल्यो। यसबारेको खोजीनितीमा फिल्मका निर्माताले गुगल सर्च गर्दा सबभन्दा माथि सोभित बस्नेतको नाम देखिएकोले उनलाई निर्देशकको रूपमा छनोट गरेको भन्ने हास्यास्पद कुरा भेटियो। अलिक अघि एचबीओले बनाउने फिल्ममा एक जना नेपाली कलाकारले लीड रोलमा साइन गरेको समाचार हेडलाइन बनेको थियो। ती कलाकारले चलचित्रको कथासम्म भन्न भ्याए।
आकाश अधिकारीको फिल्म ‘काठमाडौं’ भेनिस फिल्म फेस्टिभलमा छानिएको समाचारले पनि निकै टीकाटिप्पणी निम्त्यायो। स्काइपबाट अडिसन, स्काइपबाटै फिल्म निर्देशन जस्ता समाचार पनि पढ्न पाइयो। एक साथी विदेशी फिल्मको ‘लाइन प्रोड्युसर’ भएर नेपाल आउँदा ‘हलिउड फिल्ममा नेपालीको लगानी’ भन्ने समाचार छापियो। भन्दा रिसाउलान्, तर हाम्रा ‘रङ्ग पत्रकार’ हरुले प्रोड्युसरको अर्थै बुझेनन्। मैले यहाँ उठाउन खोजेको मूल कुरा चाहिं नेपाली चलचित्रका समाचारहरूलाई ‘फगत मनोरन्जन’ को कुरा नमानेर, तिनलाई गम्भीरतापूर्वक हेर्न थालियो भने भविष्यमा गलत सूचनाहरू छापिने छैनन् अनि सही समाचारले महत्व अनुसारको स्थान पाउने छन् भन्ने नै हो।
(टोरोन्टो फिल्म फेस्टिभलमा भएका गतिविधिको वर्णन सहित स्वयम् निर्देशक भनिएका व्यक्तिबाट आएको सामग्रीलाई विश्वास गरेर १३ असोज २०७० मा छाप्दा हुन गएको गल्तीप्रति सखेद क्षमायाचना गर्दछौं। –सम्पादक)
साप्ताहिक खबरपत्रिका हिमालबाट