थप समाचारबुधबार, माघ १५, २०७०
कर्णालीका किशोरी आमा (फोटो एसे)
तीन छोरा र चार छोरीकी आमा जला तीन वर्षअघि छैटौं सन्तान जुनपुरीलाई जन्माउन जेठी छोरी गमलासँगै ‘गोठ’ बसेकी थिइन्।
यस भेगमा सुत्केरीले ९ दिनसम्म घरमा बस्न पाउँदैनन्। सोही गाउँकी मना बिक (२०) पनि तीन वर्षकी छोरी हुर्काउँदै छिन्। कानूनले बिहेको न्यूनतम उमेर २० (संरक्षकको मन्जुरीमा १८) वर्ष तोकेको भए पनि कर्णालीमा किशोरी उमेरमै बिहे गर्ने चलन बाक्लै छ।
जुम्ला चन्दननाथ–४ डाँडाकोटकी धनलक्ष्मी सार्की पनि १९ वर्षमा दुई सन्तानकी आमा बनिसकिन्। दुई वर्षको जेठो र दुई महीनाको सानो छोरो हुर्काइरहेकी धनलक्ष्मी गाउँको वाल विकास केन्द्रकी शिक्षिका पनि हुन्। खेतबारीदेखि दाउरा–घाँससम्म भ्याउनुपर्ने उनी बच्चाहरूलाई पर्याप्त समय दिन नसकेको बताउँछिन्।
कालीकोटका २२ हजार ४५२ र जुम्लाका २२ हजार ३२५ महिलाले १९ वर्षभित्रमा बिहे गरेको राष्ट्रिय जनगणना २०६८ ले देखाउँछ। गत वर्ष कालीकोटमा सुत्केरी भएका तीन हजार ४९८ मध्ये १८ प्रतिशत किशोरी थिए। तीमध्ये सात जनाको सुत्केरी हुँदै ज्यान गयो भने ३६ शिशु पनि बाँच्न सकेनन्। कर्णालीमा मातृ मृत्युदर प्रति एक लाखमा १९१ र शिशु मृत्युदर प्रति हजार ११ छ।
अञ्चल सदरमुकाम जुम्लामा १३ वटा बर्थिङ सेन्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सुविधा भए पनि गत वर्ष सुत्केरी भएका कुल महिलामध्ये ३३ प्रतिशतले मात्र स्वास्थ्यकर्मीको सहयोग लिएका थिए। स्वास्थ्य संस्थामा रेकर्ड भएकामध्ये ६ जना आमाले सुत्केरी हुँदा ज्यान गुमाए भने प्रति हजारमा १६ शिशुको मृत्यु भयो।
स्वास्थ्यकर्मीहरू किशोरी उमेरमै सुत्केरी हुनेहरूलाई बढी रक्तस्राव र पछि पाठेघरको क्यान्सर हुने खतरा देख्छन्। किशोरावस्थामै पारिवारिक जिम्मेवारी र सक्रिय यौन जीवनमा प्रवेश गर्नुपर्ने बाध्यताले महिलाहरूको प्रगतिको बाटो त रोकिएको छ नै यस भेगका अधिकांश बालबालिका कुपोषणको शिकार पनि भएका छन्।