रमझमबिहीबार, माघ १६, २०७०
होनहार बाँसुरीवादक
ऋषिराम कट्टेल
गाउँमा छँदा मादल, बाँसुरी बजाउँदै हिंड्ने नगेन्द्रले गायिका दिदी सुशीला राईसँग राजधानी आएपछि मात्र आफूमा भएको सम्भावनाको पत्तो पाए। रेडियो नेपालमा कार्यरत संगीतकार सुशील विश्वकर्मासँगको भेटपछि बाँसुरी साधनामा केन्द्रित भएका उनी अहिले नेपालका एक जना होनहार बाँसुरीवादक बनेका छन्।
१० वर्षको साधनाबाट आफूलाई स्थापित गरेका नगेन्द्र अहिले व्यावसायिक रुपमा पनि निकै बिकाउ बनेका छन्। उनलाई प्रसिद्ध सुकर्म ब्याण्डका अतिथि सदस्य बनाएका वरिष्ठ सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी भन्छन्, “कलामा साधनाको अभाव देखिएको वेला कडा मिहिनेतका साथ भविष्य बोकेर आएका बाँसुरीवादक हुन्, नगेन्द्र।”
विश्वकर्माबाट बाँसुरीको आधारभूत ज्ञान लिएका नगेन्द्र व्यावसायिक सफलतासँगै अहिले भारतमा एमम्युजको परीक्षा दिने तयारीमा छन्। सुशीलपछि जीवन आलेलाई गुरु बनाएका उनी विम्युजमा बाँसुरीका गोल्डमेडलिष्ट हुन्। उनी कलानिधि–इन्दिरा संगीत महाविद्यालयको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी शास्त्रीय संगीत प्रतियोगितामा प्रथम भए। “अहिले नेपाली संगीतको बाँसुरीवादनमा क्लासिकल, सुगम, स्टुडियो र स्टेजमा बजाउने चार थरिका कलाकार छन्”, आफ्नो खासियत बताउँदै नगेन्द्र भन्छन्, “म चाहिं चारै थरिमा फिट भइरहेको छु।”
अर्थात्, उनी शास्त्रीयदेखि लाइट म्युजिक र स्टेजसम्मका कार्यक्रममा सफल बनिरहेका छन्। कहिले सुकर्मको युरोप–एशिया टुरमा रहने उनी कहिले राजधानीका शास्त्रीय संगीत कार्यक्रममा प्रस्तुत भइरहेका भेटिन्छन्। कहिले पलेंटीमा त कहिले रेकर्डिङ स्टुडियोहरुमा भ्याई–नभ्याई भइरहेका हुन्छन्। दुई हजारभन्दा बढी गीतमा बाँसुरीको धुन भरेका उनी यलमाया केन्द्र, किराँतेश्वर संगीत आश्रम र राममन्दिरमा दर्जनौ पटक एकल बाँसुरी वादन गरिसकेका छन्।
नगेन्द्रको बाँसुरी भक्ति कस्तो छ भने, बेफुर्सदका बीच पनि गत साता भारतीय बाँसुरी पण्डितत्रय रोनु मजुम्दार, हरिप्रसाद चौरसिया र रुपक कुलकर्णीको कक्षा लिन भ्याए। “बाँसुरी सिक्न थालेको एक दशक पुगेको अवसरमा गुरुहरुको आशीर्वादका साथ यसै महीना हंस ध्वनि, राग शिवरञ्जनी र राग यमन कल्याणमा आधारित शास्त्रीय अल्बम निकाल्दैछु”, नरेन्द्रले सूचना दिए।
साप्ताहिक खबरपत्रिका हिमालबाट