रिपोर्टसोमबार, माघ २०, २०७०

जो स्वदेशमै जमे

हिमालखबर

डम्बरकृष्ण श्रेष्ठ
पाँच वर्षअघि बेलायतले आवासीय सुविधा दिएपछि दुई शताब्दीअघि नेपालीलाई बाहिरी कमाइको ढोका खोलिदिने ब्रिटिश गोर्खाहरूको उपस्थिति देशभित्र न्यून बनेको छ । भूपू ब्रिटिश–गोर्खा परिवारको बहिर्गमनबाट वार्षिक करीब रु.१२ अर्ब बराबरको रेमिट्यान्स प्रभावित भएको छ । करीब २६ हजार सर्भिस पेन्सनर, १२ हजार वेलफेयर पेन्सनर र केही नपाउने करीब ६ हजार भूपू ब्रिटिश–गोर्खा छन् ।

आफ्नो शान र समृद्विमा महत्वपूर्ण योगदान दिएका यी गोर्खाहरूलाई बेलायत सरकारले आवासीय भिसा सुविधासँगै सामाजिक सुरक्षा भत्ता र कामको अवसर दिने भएपछि ६० प्रतिशत परिवार त्यता लागे पनि ‘देशमै केही गर्छु’ भन्ने लाहुरेहरू समाज परिवर्तनको संवाहक बनिरहेकै छन् ।

देश नछाडेका लाहुरेहरू ब्याङ्क तथा वित्तीय संस्था, विद्यालय, हाइड्रोपावर, रियलस्टेट, म्यानपावर, डिपार्टमेन्टल स्टोर, पेट्रोल पम्प, फर्निचर उद्योग, बन्द–व्यापार र बंगुरपालनदेखि कृषि उत्पादनसम्मका क्षेत्रमा सक्रिय छन् । विदेशको अवसर छाडेर राजधानी सहित धरान, दमक, इटहरी, पोखरा, बुटवल लगायतका शहरमा उद्योग–व्यवसायमा लागिपरेका लाहुरे मनग्ये भेटिन्छन् । ‘गोर्खा’ ब्राण्डको प्रवर्द्धनमा कटिबद्ध प्रेम बेघा, पुरञ्जन राई, देशको शिक्षा सुधार्न लागिपरेका बाँकेका केशरबहादुर आले मात्र होइन, पोखराका लक्ष्मीप्रसाद गुरुङ, दमकका मेहेरमान लिङ्देन, धरानका गजेन्द्र इस्पो, इटहरीका कर्णबहादुर राई लगायतको लगाव र सक्रियता सबैका लागि उदाहरणीय छ ।

स्वदेशमै लगानी र सेवा

नेपाली समाजका लागि लाहुरेको कमाइ र सीप नयाँ होइन । धरान, पोखरा, बुटवल, इटहरी, दमक, भैरहवा लगायतको विकास लाहुरेहरूकै देन मानिन्छ । पोखराको अमरसिंह उमावि (पहिला सोल्जर बोर्ड भोकेशनल ट्रेनिङ स्कूल) र धरानको डिपो उमावि लाहुरेकै कमाइबाट जन्मेका हुन् ।

नेपालमा भूपू ब्रिटिश गोर्खाहरूको लगानीमा सञ्चालित उद्योग–व्यवसायको एकीकृत तथ्याङ्क पाइँदैन । देशभरमा ब्याङ्क तथा वित्तीय संस्था, डिपार्टमेन्टल स्टोर, हाइड्रो, रियलस्टेट र पेट्रोल पम्पदेखि फर्निचरसम्मका उद्योग–व्यवसायमा लाहुरेहरूको रु.५० अर्ब जति लगानी रहेको गोर्खा मिलेनियम बहुउद्देश्यीय सहकारीका अध्यक्ष पुनञ्जन राईको अनुमान छ । विदेशमा रहेका भूपू र सेवारत ब्रिटिश–गोर्खाहरूको रकमलाई लगानीको रूपमा भित्र्याउन सक्रिय राई भन्छन्, “लाहुरेको पैसाको सदुपयोग गर्न नेपाल सरकारले कुनै योजना नल्याए पनि धेरैले आ–आफ्नो ठाउँमा संगठित व्यापार–व्यवसाय थालेका छन् ।”

राजधानीमा मात्रै तीन दर्जन भन्दा बढी सहकारी, डिपार्टमेन्टल स्टोर र विद्यालय लाहुरेका लगानीमा सञ्चालित छन् । मलाया, बोर्नियो, इन्डोनेसिया र ब्रुनाई क्याम्पेन सकिएपछि २०२६ सालमा ब्रिटिश सरकारले गोर्खा फौजमा गरेको व्यापक कटौतीमा परेर फर्किएका लाहुरेहरूले फाट्टफुट्ट उद्योग–व्यवसायमा लगानी थालेका थिए । त्यसवेला लाहुरेहरूले धरान र पोखरामा यातायात सेवामा पनि लगानी गरे । धरानमा लाहुरेहरूको बूढासुब्बा मोटर सर्भिस र पूर्वाञ्चल यातायात सेवा धेरै समय चलेर बन्द भयो भने पोखरामा यातायातसँगै वित्त, होटल र व्यापारमा लाहुरेहरूले राम्रो प्रगति गरेका छन् ।

राजधानीदेखि पोखरासम्म विस्तार भएको भाटभटेनी सुपर मार्केटको सफलतामा पनि लाहुरेको योगदान महत्वपूर्ण छ । १८ वर्षअघि बेलायती सेनाको कर्पोल पदबाट रिटायर हुनासाथ पहलसिंह गुरुङले आफ्ना दाजु मीनबहादुरले थालेको व्यापारलाई काँध दिएका थिए । उनी पल ट्रेडिङ मार्फत आयात–निर्यात कारोबार पनि गरिरहेका छन् । “अहिले ३ हजार ५०० जनालाई रोजगारी दिएका छौं”, भाटभटेनी सुपरमार्केटका निर्देशक रहेका गुरुङ भन्छन्, “५० हजार रोजगार सिर्जना गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।”

काठमाडौंमा २०५७ सालमा शुरू भएको गोर्खा मिलेनियम बहुउद्देश्यीय सहकारीको चुक्ता पूँजी अहिले रु.८ करोड पुगेको छ । ७०० जना लाहुरे शेयरधनी रहेको यो वित्तीय संस्थाले सोलुखुम्बुको जुनबेंसी खोलामा रु.१ अर्ब २० करोड लगानीमा ५.२ मेगावाटको दुबन हाइड्रो पावरको काम थालेको छ । यो संस्था कोटेश्वरस्थित ग्रामर पब्लिक कलेजको संचालक पनि हो । संस्थाले सहकारी, शिक्षा र हाइड्रोपछि कृषि क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको अध्यक्ष पुनञ्जन राई बताउँछन् । यसैगरी, २०५४ सालमा १०० जना लाहुरेले रु.२५ लाख जम्मा गरेर काठमाडौंमै शुरू गरेको गोर्खा सेभिङ एन्ड क्रेडिटले रु.१ अर्ब ७१ करोडको कारोबार गर्न थालेको छ । संस्थाका अध्यक्ष इमानसिंह राई गैर–लाहुरे समेत गरेर ४ हजार शेयर सदस्य पुगेको बताउँछन् ।

ललितपुरको मितेरी सहकारीका संचालकहरु ।

त्यस्तै, २०५७ मा २५ जना लाहुरेले जनही रु.१ लाख जम्मा गरेर ललितपुरमा स्थापना गरेको मितेरी सेभिङ एन्ड क्रेडिटको पूँजी अहिले रु.१४ करोड पुगेको छ । यसका अध्यक्ष कुम्भराज गुरुङ ५०० शेयर सदस्यमध्ये आधा लाहुरे रहेको बताउँछन् । १८ वर्षअघि रिटायर हुनासाथ ललितपुरको महालक्ष्मीथानको आफ्नै घरमा डिपार्टमेन्टल स्टोर खोलेका हेमन्तकुमार राई (५८) विदेशमा अर्काको जागीर खानुभन्दा आफैं मालिक हुन व्यापारमा हात हालेको बताउँछन् ।

हेमन्तकुमार राई ।

सोलुखुम्बु, सल्यानका यसराज राई (६०) ले राजधानीको सुकेधारा चोकमा जिमी ग्रोसर संचालन गरेको ९ वर्ष भयो । एकताका हङकङको व्यवसायमा जमेका तेजबहादुर राई स्वदेशमै उद्योग र हाइड्रो पावरमा लगानी गर्न काठमाडौं फर्केको बताउँछन् । ललितपुरको सुनाकोठीमा घर भएका राईले पाँचथरमा फेमे खोला–हिवा खोला हाइड्रो र गोदावारीमा मिनरल वाटर उद्योग खोल्नुका साथै मुगुमा विद्युत् र रिसोर्ट खोल्ने योजना बनाइरहेको बताए । राई भन्छन्, “तर, सरकारी तहबाट पर्याप्त सहयोग पाउन सकिएको छैन ।”

२०३२ सालमा पोखरामा चाइनिज मेशीनबाट नुडल्स् उत्पादन गर्ने भूपू–ब्रिटिश–गोर्खा फणिन्द्रमान श्रेष्ठलाई नेपालमा सिन्के नुडल्स् प्रवेश गराउने पहिलो उद्यमी मानिन्छ । श्रेष्ठको त्यही प्रयासले पछि गण्डकी नुडल्स्को रूप लियो । नेपालमा तयारी चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी पनि यही हो । कम्पनीको अध्यक्ष भएर गण्डकी नुडल्स् हाँकेका वृषबहादुर गुरुङ पनि ब्रिटिश आर्मीका पूर्व मेजर थिए । उनी सहितका लाहुरेको लगानीमा शुरू भएको गण्डकी नुडल्स्बाट उत्पादित नेपालकै पहिलो तयारी चाउचाउ रारा अझै पनि लोकप्रिय छ । अर्का पूर्व गोर्खा मेजर पूर्णबहादुर गुरुङले पोखरामा ‘ब्रिटिश भूतपूर्व सैनिक क्लब’ खोलेर लाहुरेहरूको लगानीलाई संगठित गर्ने काम थालेका छन् ।

लाहुरेहरुको लगानीमा निर्माण भएको पोखराको हिमालयन गल्फ कोर्स । तस्वीरः माधव बराल

लाहुरेहरूकै लगानीको पोखरा फाइनान्स, गण्डकी ब्रिक फ्याक्ट्री जस्ता उद्योगहरू डेढ दशकअघि नै खुले । पूर्व गोर्खा मेजर रामबहादुर गुरुङले १५ वर्षअघि रु.२ करोड खर्चेर ७०० रोपनी जमीनमा हिमालयन गल्फ कोर्स बनाए । पोखरामा पर्यटकको आकर्षण बढाएको गोर्खा भिलेज रिसोर्टमा पनि मेजर गुरुङको लगानी छ । पूर्व क्याप्टेन मानबहादुर गुरुङ पोखरा उपमहानगरपालिकाका उप–मेयर बनेका थिए । मेयर बनेका हर्कबहादुर गुरुङलाई भने माओवादीले २०६० सालमा हत्या गर्‍यो । हाल क्याप्टेन भुवनसिंह गुरुङ पोखरा फाइनान्सको अध्यक्ष र दिलबहादुर गुरुङ फेवा फाइनान्सको अध्यक्ष छन् । पोखराकै ब्रिटिश लाहुरे बसन्त भुजेल र उनका भाइ भुवनले १५ वर्षअघि बाग्लुङ र गुल्मी सीमाको दरम खोलामा थालेको पाँच मेगावाटको हाइड्रो पावर भने असफल भयो । २०० भन्दा बढी लाहुरेले रु.१ अर्बभन्दा बढी लगानी गरेको यो कम्पनी डुबेपछि बसन्त अमेरिका पलायन भए ।

लाहुरेहरुको लगानीमा धरानमा निर्माण भएको गोर्खा कम्प्लेक्स । तस्वीरः सीता मादेम्बा

उता धरानमा ४१० जना भूपू लाहुरेको लगानीमा गोर्खा सपिङ कम्प्लेक्स बनेको छ । पाँच तले कम्प्लेक्समा रु.५ करोड खर्च भएको निर्माण समितिका उपाध्यक्ष सिंहबहादुर नेम्वाङले बताए । धरानका लाहुरेहरूले २०५८ सालमा स्थापना गरेको गोर्खा बचत तथा ऋण सहकारी संस्थाको पूँजी अहिले रु.३८ लाखबाट रु.१६ करोड पुगेको छ । धरानमा गोर्खा सामुदायिक भवन बनाएका लाहुरेहरूले पाँचकन्यामा गोर्खा स्मृति पार्क निर्माण गरेका छन् । धरानमा सफल लाहुरे व्यवसायी मानिने चन्द्रबहादुर खापुङले इजी राइडर्स मोटरसाइकल वर्कसप, पिण्डेश्वर रेस्टुरेन्ट एण्ड बारका साथै विष्णुपादुका गाउँमा पशुपालन र धनकुटाको भेडेटारमा होटल खोलेका छन् ।

बेलायतको अवसर छाडेका अर्का भूपू लाहुरे शेरमान हुक्पाचोङवाङ धरानका ठूला सुन व्यापारीमध्ये पर्छन् । यसैगरी, प्रेम हुक्पाचोङवाङले दर्शन डिपार्टमेन्टल चलाएका छन् भने दिपेन राईले काष्ठ उद्योग । सैलुङ डिपार्टमेन्ट स्टोरका मालिक धर्मराज राईले जुनियर पायनियर स्कूल खोलेका छन् भने घनेन्द्र लिम्बूले माउन्ट मोरिया स्कूल चलाइरहेका छन् । मुगाधन तामाङ जस्ता आफ्नै घरमा हार्डवेयर वा अरू किसिमको पसल चलाएर बसेका लाहुरे धरानमा थुप्रै भेटिन्छन् ।

धरानका पूर्व लाहुरेहरु दानबहादुर राई, गजेन्द्र इस्पो, रमेश राई र सिंहबहादुर नेम्बाङ ।

इटहरीमा २१९ जना लाहुरेको लगानीमा २०६१ सालमा खुलेको भूपू गोर्खा इन्टरनेशनल डिपार्टमेन्ट स्टोरका ८० प्रतिशत लगानीकर्ता बेलायत गए पनि यहीं बसेर डिपार्टमेन्ट स्टोर चलाउने टोलीको नेतृत्व कर्णबहादुर राईले गरेका छन् । समाजसेवाको क्षेत्रमा पनि राईको प्रशंसनीय सक्रियता छ । उनी वंशावली लेखनदेखि सामुदायिक भवन निर्माणसम्मका काममा तन, मन र धनका साथ जुटेका छन् । इटहरीकै मीनबहादुर मेघाले डन वस्को विद्यालय र कृष्णकुमार लिम्बूले भृकुटी सेकेन्डरी स्कूल चलाइरहेका छन् । सुनसरीको पकलीमा शेरबहादुर लिम्बूले पवित्र ईंट्टा भट्टा र रामप्रसाद राईले सामुदायिक स्वास्थ्थ केन्द्र संचालन गरेका छन् ।

घनेन्द्र योङ्या ।

उता दमकको व्यापार–व्यवसायमा भिजेका घनेन्द्र योङ्या (५५) ले मदिरा, ग्याँस र चाउचाउको डिलरका साथै सहकारी, अस्पताल, ठेक्कापट्टा, विकास ब्याङ्क र घरघडेरीमा लगानी गरेका छन् । उनी घरघडेरीमा त ‘पाँच लगानीले पन्ध्र आयस्ता’ हुने बताउँछन् । सँगै बुट बजारेका साथीहरू बेलायतमा महीनामा दुई लाखसम्म कमाइरहेको बताउने उनी भन्छन्, “म चाहिं यहाँ डटेर लागें भने मासिक रु.४ लाखसम्म कमाइदिन्छु ।” दमक उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका योङ्या राप्रपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

दमककै सगरमाथा आयल सेन्टरका मालिक टीकाराम पीठाकोटे पनि पूर्व ब्रिटिश–गोर्खा सैनिक हुन् । दुई वटा ट्याङ्कर समेत चलाएका उनले १४ जनालाई रोजगारी दिएका छन् । गत वर्ष सरकारलाई रु.१५ लाख आयकर बुझएका पीठाकोटेले ३८ लाखमा व्यापार शुरू गरेको बताए ।

राज्यको बेवास्ता

सन् १८१४–१६ को नेपाल–युद्धताका बलभद्र कुँवर लगायत केही गोर्खाली लडाकू पञ्जाबका राजा रणजीत सिंहको सेनामा भर्ती हुन लाहौर गएका थिए । त्यही लाहौरबाट जन्मिएको ‘लाहुरे’ शब्द आज नेपाल भित्रिने रेमिट्यान्सको पर्यायवाची भएको छ । २०० वर्षपछि आइपुग्दा नेपालीको ‘लाहुर जाने’ चलन गुणात्मक हिसाबले बढेको छ । ब्रिटिश–गोर्खा र भारतीय–गोर्खासँगै कामका लागि विश्वका विभिन्न कुनामा आउजाउ गर्ने नेपालीको संख्या ३० लाख नाघेको छ ।

२०२८/२९ सालसम्म नेपालको सबभन्दा ठूलो विदेशी मुद्राको स्रोत ब्रिटिश लाहुरेहरूको कमाइ नै थियो । बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार हुनुअघि नै गोर्खाहरूले नेपाली संस्कृति विदेश पुर्‍याउन र विदेशी मुद्रा नेपाल भित्र्याउन थालेको अर्थविद् केशव आचार्य बताउँछन् । वैदेशिक रोजगारीको सुरुआत गरेर पहिलो पटक विदेशी मुद्रा भित्र्याउने गोर्खाली समुदायलाई राज्यले भने सधैं उपेक्षा गरेको उनी बताउँछन् । “नेपाल सरकारले लाहुरेको कमाइ र सीपको सदुपयोग गर्नतिर कहिल्यै लागेन” आचार्य भन्छन्, “अब राष्ट्र ब्याङ्क, योजना आयोग र उद्योग वाणिज्य संघहरूले यसतर्फ विचार पुर्‍याउनुपर्छ ।”

समाजशास्त्री डा. गणेश गुरुङ राज्यले लाहुरे समुदायलाई ध्यान दिएको भए बेलायतमा आवासीय भिसा सुविधा पाउनासाथ उनीहरूले गाउँ रित्ताएर हिंड्ने अवस्था आउने थिएन भन्छन् । उनका अनुसार, विदेशबाट आएको लाहुरेहरूको कमाइलाई सरकारले दुई शताब्दीमा पनि रातो किताबमा राखेर व्यवस्थित गरेन, चाहेन । डा. गुरुङका अनुसार, लाहुरे समुदाय भनेको पैसा भएको, अनुशासित, मिहिनेती र आपराधिक गतिविधिबाट टाढा रहने जनसंख्या हो । डेढ दशकअघि डेविड सेडन र जगन्नाथ अधिकारीसँग मिलेर ‘नेपालको रेमिट्यान्स अर्थतन्त्र’ को अनुसन्धान गरेका डा. गुरुङ भन्छन्, “नेपालमा लाहुरेको कमाइलाई पूँजीमा परिणत गर्ने प्रयासै भएन ।”

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत भने सरकारले लाहुरे समुदायलाई कहिल्यै उपेक्षा नगरेको बताउँछन् । लाहुरेको पेन्सनमा कर छुट गरेको नेपाल सरकारले उनीहरूलाई यहाँको सम्पत्ति बेचेर विदेश जाँदा समेत उदारता देखाएको डा. महतको भनाइ छ । “द्वन्द्व र राजनीतिक अस्थिरताको मार सबैमाथि परेको छ, व्यवसायमा लगानी आफैंले गर्ने हो राज्यले उद्योग, व्यवसाय खोल्न, विदेशी लगानी भित्र्याउन कसैलाई रोकेको छैन”, डा. महत भन्छन्, “यहीं बसेर पेशा–व्यवसाय गर्ने गोर्खाहरूलाई राज्यले उपेक्षा गर्दैन ।”

लाहुरे पलायन

पाँच वर्षअघिसम्म बेलायती लाहुरेहरूले वार्षिक रु.६ अर्बभन्दा बढी ‘रेमिट्यान्स’ नेपाल भित्र्याउँथे । अहिले करीब ३८ हजार भूपू र करीब २५०० सेवारत ब्रिटिश–गोर्खाको पेन्सन, तलब भत्ता र सुविधा गरी मासिक करीब रु.१ अर्ब कमाइ हुन्छ । आवासीय सुविधा उपभोग गर्न बेलायत पुगेका भूपू र तिनका परिवार समेतको कमाइ जोड्ने हो भने यो रकम रु.४ अर्बको हाराहारीमा पुग्छ ।

१ जुलाई १९९७ पछि सेवा निवृत्त भएका पूर्व गोर्खाहरूलाई आवासीय भिसा दिने २००४ को बेलायत सरकारको निर्णयपछि नेपाल भित्रिने रकम बेलायतमा रोकिन थालिसकेको थियो । १४ असोज २०६५ मा १९९७ को रेखा मेटिएर सबै गोर्खा भूपूले आवासीय भिसा पाउने भएपछि त नेपालमा संचालन भइरहेका लाहुरेहरूको व्यवसायमा समेत धक्का लाग्न पुग्यो । लाहुरेहरू व्यवसाय बन्द गरेर, घरजग्गा समेत बेचेर बेलायत जाने क्रम बढ्यो । सबैले आवासीय सुविधा हुनुअघि कार्यरत ३५०० लाहुरे, तिनका परिवार र १९९७ अघि पेन्सन भएका युवा लाहुरेहरू बेलायतमा थिए । त्यसपछि नेपालबाट जाने अघिल्लो पुस्ताका बूढा लाहुरेहरूको संख्या ह्वात्त बढ्यो ।

धमाधम विदेशिने क्रम बढेपछि लाहुरेको संख्या बढी भएका धरान र पोखरा जस्ता शहरको अर्थतन्त्र प्रभावित भयो । लाहुरेहरूको पलायनसँगै वर्षेनि भित्रिने रेमिट्यान्समा समेत ठूलो असर परेकाले त्यसको मार स्थानीय व्यापार–व्यवसायमा परेको छ । बेलायतले कम्तीमा चार वर्ष सेवा गरेका सबै गोर्खा भूपू र विधवालाई आवासीय सुविधा दिएपछि १८ वर्ष उमेर नाघेका छोराछोरी बाहेक प्रायः सबै त्यसको हकदार भए । अनि गाउँ–शहरका धेरैजसो ब्रिटिश–गोर्खाहरू बेलायत जाने तयारीमा लागे । यस क्रममा धेरैले घरजग्गा समेत बेचे ।

अहिले सेवारत लाहुरेहरूले वार्षिक १ करोड ५० लाख पाउण्ड जति कमाउँछन् । तिनका परिवारको समेत गरेर करीब अढाइ करोड पाउण्ड जति वार्षिक कमाइ हुन्छ । त्यस्तै, बेलायत पुगिसकेका १९९७ पछि अवकाश प्राप्त ७ हजार गोर्खा (परिवारसहित २८ हजार) ले आफ्ना लागि खर्च गरेर पनि वर्षमा साढे १७ करोड पाउण्ड जति कमाइ गर्छन् । यसबाहेक बेलायतमा रहेका अन्य ८० हजार जति नेपालीले खर्च कटाएर पनि वर्षमा करीब ५८ करोड पाउण्ड कमाउने अनुमान छ ।

साथमा गोपाल गडतौला दमक, सीता मादेम्बा धरान, माधव बराल पोखरा र तुफान न्यौपाने नेपालगञ्ज

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>