रमझममंगलबार, माघ २१, २०७०
‘सेतो बाघ’ मा फिल्म र सिरियल
डायमण्ड शम्शेर राणा लिखित चर्चित ऐतिहासिक उपन्यास ‘सेतोबाघ’ मा आधारित फिल्म र टेलिसिरियलको निर्देशन निर शाहले गर्ने भएका छन् ।
महाशक्ति मल्टिीमिडियाको ब्यानरमा मञ्जुश्री राज्यलक्ष्मी राणा, पुरण राणा, रविन्द शमशेर राणा र ख्याति राणाले निर्माण गर्न लागेको फिल्म र टेलिसिरियलको शुटिङ फागुनको पहिलो हप्तामा काठमाडौंबाट शुरु हुनेछ भने मकवानपुर र चितवनमा समेत छायाँकन गरिने निर्माणपक्षले जानकारी गराएको छ ।
कार्यक्रममा निर्देशक निर शाहले उपन्यासको कथावस्तुलाई नविगारी फिल्म र टेलिसिरियल बनाइने बताए । झण्डै एक करोड बजेटको लागतमा बन्ने सेतो बाघ सिरियल ९१ शृंखलाको हुनेछ ।
बजेट लागत कम गर्न फिल्म र टेलिसिरियल दुवै प्रोजेक्ट एउटै सेटमा लन्च गरेको निर्देशक शाहको भनाई छ । सिरियल सहितको यो प्रोजेक्टमा अभिनय गर्ने सबै ५७ जना कलाकारहरु नयाँ छन् । डेढ महिनामा छायाँकन सम्पन्न गर्ने लक्ष्य राखिएको फिल्ममा संगीत शम्भूजीत बाँस्कोटाको रहने छ ।
यसअघि शाहले डायमण्ड शम्शेरकै उपन्यास वसन्ती र गोपालप्रसाद रिमालको नाटक मसानमा आधारित फिल्मको सफल निर्देशन गरिसकेका छन् ।