ब्लगमंगलबार, माघ २१, २०७०

डबको चियर्स

महेश थापा

उहाँले मलाई नचिने पनि म उहाँको व्यक्तित्व र प्रतिभासँग भलिभाँती छु। यस्ता अर्ध–परिचित मित्रको प्रदर्शनी छाड्ने कुरै भएन। तस्वीरहरू भूतकालका भए पनि उहाँले ‘क्याप्सन’ वर्तमानकालको राख्नुभएको रहेछ, जसको असर सुदूर भविष्यत् कालसम्म रहने मैले अनुमान लगाएँ। ‘क्याप्सन’ मा मित्रले बडो दुःखका साथ लेखेका छन्– ‘सहकालको आश दिलाएको त्यो रंगीन रातको यही तस्वीर मेरो लागि काल बनी आयो।’

पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताले सार्वजनिक गरेको बाबुराम भट्टराई नेतृत्वमा माओवादी–मधेशवादी संयुक्त सरकार गठन हुँदाको तस्वीर ।

तर, तस्वीरलाई कालै भनेर बात लगाउनुपर्ने त्यस्तो केही देखिन्न। बरु, ‘पवित्र गठबन्धन’ सम्भव भएको खुशियाली मनाउन वाइनका प्याला लिएर ‘चियर्स’ गरिरहेका दुई खलकका ऊर्जाशील सात भाइ देखिन्छन्। चुम्बकका विपरीत ध्रुवबीच एकत्व गराउने काम वैज्ञानिक हिसाबले पनि चानचुने होइन। त्यसका लागि ‘अदृश्य हात’ ले बजार चलाए जस्तै कुनै अदृश्य फेविकोलको जोड आवश्यक हुन्छ। त्यस्तो संयोग जुरेको घडीमा त्यति खुशी त बन्ता है नि!

भूतले खाजा खाने बेलाँ महत्वपूर्ण सहमति गर्ने संस्कृति बसिसकेको नयाँ नेपालाँ पिशाचसँग मीत लाउने गरी गुप्त स्थानमा त्यसरी ‘चियर्स’ गरे भन्दै गाँड कोराकोर गर्नुको तुक देखिनँ मैले। ऊ वेला पनि रातो फिताधारीहरूले खोयाबिर्के बुत्याउनेहरूलाई भाटे कारबाही गरेर दिन खोजेको सन्देश नबुझदा चेपागाँडाहरूले बित्थामा ट्वारट्वार गरेका थिए। खासमा, खोयाबिर्के स्वास्थ्यका लागि बढी हानिकारक हुने भएकाले त्यो वेला ‘हुती हुनेहरू विदेशी वाइन चियर्स गर, बाँकी सब हेरेरै चित्तबुझाऊ’ भन्ने विछट्टको स्वास्थ्यवर्द्धक सन्देश प्रवाहित गर्न खोजिएको रहेछ।

पारिपट्टि सेभेन स्टारको वातानुकूलित तुरुङ्गमा बसेर राष्ट्रियता जोगाउन वारिपट्टि सुरुङ्ग खन्ने र कसैले राष्ट्रियता भन्यो भने ‘राष्ट्र यता हैन, उता’ भन्दै टक्टकिने दुवै थरी तस्वीरमा खुशियाली साटिरहेका देखिन्थे। एउटा राष्ट्रिय स्वाधीनता भन्दै सीमा क्षेत्रमा बन्दर नाच देखाउने, अर्को छिमेकी देशका खातिर चुनाव लडिदिने। रूपमा जतिसुकै भिन्न देखिए पनि दुवै पहिचानधर्मी परेकाले ट्वाक्क मुख मिलेको देखिन्थ्यो। राष्ट्रिय बाहेक बाँकी सबैथरीका पहिचान संरक्षण गर्न कन्दनी कसेका पहिचानधर्मीहरूले आफ्नो बानी विपरीत कुन तर्किव प्रयोग गरेर यो शुभकार्य सम्पन्न गरे भन्ने कुरा चाहिं लुतो कन्याई नै थियो। किनभने, पहाडको ‘दही चटाइ’ वा मधेशको ‘मुहँ मीठा’ गरेर पनि हर्कबढाइँ गर्न सकिनेमा पहिचानमारा ‘चियर्स’ पो ठोकिएको छ!

द्वापरयुगमा कंसले देवकीको कोखमा आफ्नो काल लुकेको आ.वा. पाए झैं आफ्नो काल जन्मिएको हावा अर्ध–परिचित मित्रको कानसम्म कसरी पुग्यो भन्ने उत्सुकता मेट्न सोधें, “कसरी चाल पाउनुभो?”

“यो तस्वीरमा जुन जश्नको माहोल छ, त्यसको भाष्यकार मै हुँ”, सीधै प्रश्न गर्ने पत्रकारै होला भन्ठानेर मित्रले जवाफ दिन आनाकानी गरेनन्, “मेरो किङमेकर छविबाट भयातुर बनेकाहरूले गहिरो षडयन्त्र गर्दै काल जन्माएर मलाई डेढवर्षे गुप्तवासमा धपाए। सत्ताबाट झरेको नेतालाई पि.ए. ले पनि लखेट्छ भन्थे, तर मलाई सत्तामा हुँदै अदालत लगाइयो। घोर होइन, घनघोर षडयन्त्र भा’छ।” “कसले गर्‍यो त षडयन्त्र?”

“यारी–दोस्तीको मुखुण्डो भिरेका अमृतालिङ्गम्हरूले।”

“तपाईंको राजनीतिक लाइन लिङ्गम् कि क्षेत्रम्?”

उनको थोपडामा ‘कस्तो बज्रस्वाँठ पत्रकार परेछ’ भन्ने मनोभाव सघन भयो, तर मैले ठोक्न छाडिनँ, “तपाईं अब प्रभाकरणपथको पथिक बन्ने?” टेबलमा छरपष्ट अखबारको पानामा गजक्क परेका राजपक्षको तस्वीरतर्फ एकोहोरिंदै उनी मौन रहे।

“हेर्नुस्, यो देशमा आफू बैमान् त जगत बैमान्। बरु भन्नुस्, हालसालै थालेको जागरण अभियानको अभीष्ट के हो?” मैले लगभग अन्तिम प्रश्न तेर्स्याएँ।

“सचेतना फैलाउनु” उनले गम्भीर हुँदै भने, “समग्र घटनाक्रमबाट आर्जित गुप्तज्ञान यो छ कि विदेशी प्यालामा वाइन भरेर गरिएको ‘चियर्स’ अफापसिद्ध हुनेरहेछ। भविष्यमा यस्तो मौका जुरेछ भने डबकोमा खोयाबिर्के भरेर नेपाली स्टाइलमा ‘डबको चियर्स’ गर्नुपर्छ।”

थामिन नसकेर मैले भनें, “अर्ध–परिचयलाई अहिल्यै पूर्णमा बदल्न हामी पनि ‘डबको चियर्स’ गरौं नेताजी?”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...