रिपोर्टबुधबार, माघ २२, २०७०

यौन समस्या होइन हिस्टेरिया

हिमालखबर

काभ्रेकी अनु गौतम (१९) (नाम परिवर्तन) एक वर्षअघि विद्यालयमा बेहोश भएर काम्न थालेपछि देउता चढेको आशंकामा गाउँकै धामीकोमा लगियो। धामीले फुकफाक गरेपछि त्यो दिन ठीक भए पनि त्यस्तै समस्या दोहोरिन थालेपछि शिक्षकहरूले अस्पतालमा उपचार गर्न सुझाए। धुलिखेल अस्पताल पुगेपछि उनले थाहा पाइन्, मनमा गुम्सिएका तनाव कसैलाई भन्न नसकेकाले त्यो समस्या देखिएको रहेछ। टाउको र कम्मर दुख्ने समस्या आफूलाई अप्ठ्यारो लाग्ने गणित विषय पढ्दा झन् बढ्ने गरेको बताउँदै अनु भन्छिन्, “केही नजान्दा गणित शिक्षकले पिट्ने हुँदा मलाई गणित शिक्षक कक्षामा आउँदा टाउको दुख्न शुरू हुन्थ्यो।”

सोलुखम्बुको एक विद्यालयमा हिस्टेरिया भएर लडेकी छात्रालाई सम्हाल्दै साथी । तस्वीरहरुः पीटी लोप्चन

अहिले १० कक्षामा पढ्दै गरेकी उनले त्यही समस्याका कारण ९ कक्षाको पढाइ दुई महीना छाड्नु परेको थियो। हिस्टेरिया भनिने ‘कन्भर्जन डिसअर्डर’ लाग्दा साथी, शिक्षक र घरपरिवारले बेवास्ता गर्ने गरेकाले आफू कमजोर महसूस भएर बेहोश हुने गरेको अनुभव सुनाउँछिन् उनी। मनोविदबाट ६ पटक परामर्श लिएपछि निको भएकी उनलाई अहिले शिक्षक र साथीले गर्ने व्यवहारमा परिवर्तन आएको महसूस हुन थालेको छ। गणितमा पनि राम्रो गर्न थालेकी उनी त्यस्तो समस्या आउँदा मुखमा पानी राखेर बस्न, गीत सुन्न, लामो सास लिन र ध्यान गर्न सुझाउँछिन्।

केटालाई पनि हुन्छ

पाँच वर्षअघि नौ कक्षामा पढ्दा विद्यालयमा बेहोश भएका कपिलवस्तुका सञ्जिव चौधरी (२६) (नाम परिवर्तन) ले एक वर्षपछि समस्या अरू बढ्दै गएपछि सीमापारिको भारतीय बजार गएर छारेरोगको औषधि खान थाले। तर, पाँच वर्ष नियमित औषधि खाँदा पनि समस्या उस्तै रहेपछि तीन महीनाअघि काठमाडौं आएर एक जना मनोविदबाट परामर्श लिन थालेका छन्। पाँच वर्षसम्म रोग थाहा पाउन नसकेकाले पढाइ पनि छुटाएका उनले कमजोर आर्थिक अवस्था, पारिवारिक जिम्मेवारीको बोझ्, पढाइ खर्च जुटाउने समस्याले त्यस्तो समस्या देखिएको अहिले थाहा पाएका छन्।

पति वैदेशिक रोजगारीमा रहेकाले सात जनाको परिवारको जिम्मा लिएकी बझाङकी गीता ऐरी (२३) (नाम परिवर्तन) एक वर्षअघिसम्म घरमै बेहोश भएर लड्थिन्। “सबै समस्या सम्झ्ँदा टाउको दुखेर बेहोश हुन्थें र त्यसवेला बोलेको केही सम्झ्ना हुँदैनथ्यो” गीता भन्छिन्, “अस्पतालमा जँचाएपछि औषधि नदिएर सल्लाह दिनुभयो, तर; अझै पनि कामको बोझ् बढी हुँदा र राम्रो हेरचाह भएको महसूस नहुँदा त्यस्तै समस्या देखिन्छ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा माघको दोस्रो साता उपचार गर्न आएकी बुटवलकी सोमा श्रेष्ठ (१८) (नाम परिवर्तन) लाई डाक्टरले चिन्ता नलिन भन्दै घर पठाए पनि पुनः सास फेर्न गाह्रो भएर बेहोश हुन थालेपछि अस्पताल आइन्। त्रिविका सहप्राध्यापक तथा मनोचिकित्सक डा. सरोजप्रसाद वझा भविष्य सम्बन्धी चिन्ताले उनमा त्यस्तो समस्या देखिएको बताउँछन्। दुई वर्षअघि विवाह गरेकी सोमा पतिले विदेश जाने भनेकाले आफू एक्लो हुने र धोका दिने डरले कमजोर भएको बताउँछिन्। समस्या परेको वेला सहारा पाउनुको साटो आफन्तले बेवास्ता गर्दा सोमा जस्ता किशोरी–युवती पीडित भएको वझा बताउँछन्।

परामर्श आवश्यक

डा. वझा हार्मोनसँग सम्बन्धित हिस्टेरिया नेपाल जस्ता विकासोन्मुख मुलुकका १२ देखि २० वर्षका युवायुवतीमा बढी देखिने बताउँछन्। त्यो उमेरमा शारीरिकसँगै मनोवैज्ञानिक परिवर्तन र हार्मोनमा आउने उतार―चढावले केटाहरूको बोली धोद्रो हुने, दाह्री–जुँगा आउने र यौनेच्छा बढ्ने गर्छ भने केटीहरूमा पनि महीनावारी हुने, शरीरका अङ्गमा परिवर्तन आउने तथा त्यसको कारण थाहा नहुने र यौन चाहना बढ्ने गर्छ। त्यस्तो अवस्थामा मनका कुरा अरूलाई भन्न नसक्दा समस्या आउने र पुरुषलाई भन्दा त्यस्तो विषयमा छलफल गर्न महिलालाई अप्ठ्यारो हुने उनी बताउँछन्।

हिस्टेरिया भनिने यो समस्यालाई विश्व स्वास्थ्य संगठनले सन् १९९३ मा ‘कन्भर्जन डिसअर्डर’ नाम दिएको छ। मनोवैज्ञानिक तनावलाई व्यक्तिको भावनात्मक संयन्त्रले सहन नसकेपछि विकृत प्रतिक्रिया आउने हुनाले यसलाई कन्भर्जन डिसअर्डर भनिएको हो। पहिला यो समस्या महिलालाई मात्र हुने मानेर हिस्टेरिया भनिन्थ्यो। मेडिकल टर्ममा महिलाको पाठेघरको अप्रेसन गर्नुलाई ‘हिस्टेरेकटोमी’ भनिने हुँदा यहींबाट हिस्टेरिया भन्ने शब्द आएको हो। पुरुषलाई पनि हुन थालेपछि विश्व स्वास्थ्य संगठनले यसको नाम परिवर्तन गरेको डा. वझा बताउँछन्।

१० वर्षदेखि बाल―मानसिक स्वास्थ्य अन्तर्गत विद्यालयका बालबालिकासँग काम गरिरहेका मनोविद् मधुविलास खनाल घरमा कामको तनाव, कक्षामा प्रथम हुनुपर्ने दबाब, शिक्षकको नराम्रो व्यवहार, यौन दुर्व्यवहारले मनमा ल्याउने तनाव र कुण्ठा अरूलाई भन्न नसक्दा यो समस्या देखिने बताउँछन्। आफन्त तथा अरू कुनै व्यक्तिले गरेको दुर्व्यवहार महसूस गरे पनि बढ्दो उमेरका किशोरीहरूले विरोध गर्न नसक्दा विद्यालयमै ढल्ने समस्या देखिएको उनको भनाइ छ। विद्यालयमा यौन शिक्षा नदिइनु र घरपरिवारमा पनि त्यसबारे खुलेर कुरा गर्ने वातावरण नहुनु यो समस्या देखिनुका अरू कारण हुन्।

दश वर्षदेखि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) ले ३२ जिल्लाका ३८ हजार ५७ जनालाई सेवा दिएकोमा ११९० जना यही समस्याका पीडित थिए। उनीहरूमध्ये ३३९ जना पुरुष छन्। सीएमसीका कार्यक्रम निर्देशक रामलाल श्रेष्ठ रुढिवादी संस्कार मान्ने समुदायमा यो समस्या बढी देखिएको बताउँछन्। त्यस्ता ठाउँमा यो समस्या देखिंदा देउता रिसाए भन्दै बिरामीलाई धामीकोमा लैजाने चलन छ। त्यही कारण सीएमसीले धामी, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम् सेविकासँग समन्वय गरेर उनीहरूलाई परामर्श दिने गरेको छ। उसको यो कार्यक्रम इलाम, ओखलढुंगा, मोरङ, उदयपुर, रसुवा, धादिङ, रोल्पा, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेल्धुरा, अछाम, बझाङ, बर्दिया र कैलालीमा संचालित छ।

हिस्टेरिया भएका केटीलाई विवाह गर्दा समस्या समाधान हुन्छ भन्ने बुझाइ पनि धेरै ठाउँमा रहेको देखिन्छ। तर, त्यस्तो समस्या हुँदा विवाह भएका महिला र पुरुष दोहोरो समस्यामा पर्ने गरेका छन्। निर्देशक श्रेष्ठ त्यस्तो सोचाइ गलत भएको बताउँदै भन्छन्, “यो समस्या देखिंदा विद्यालय बन्द गर्नुभन्दा समस्या पहिचान गरी समाधान गर्नु उपयुक्त हुन्छ।”

——————————————————————————————————————————————

महिलालाई किन बढी हुन्छ?

महिलाले पुरुष जति आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ। त्यही कारण यो समस्या महिलामा बढी हुन्छ। केहीले यो समस्यालाई यौनसँग गाँसे पनि यो तनावसँग सम्बन्धित हुन्छ।

किशोरीमा यो समस्या किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो। महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन्। पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्यालाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ।

——————————————————————————————————————————————–

कन्भर्जन डिसअर्डर (हिस्टेरिया) का लक्षण

** बेहोश हुने

** काम्ने

** अदृश्य शक्तिले छोप्ने

** हात खुट्टा झम्झमाउने/लाटो हुने

** घाँटीमा डल्लो अड्केको जस्तो हुने

** वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने

** छिटोछिटो सास फेर्ने

** हात/खुट्टा वा दुवै नचल्ने

** आवाज बन्द हुने

** आँखा नदेख्ने

** रुने, चिच्याउने

** कुटपिट गर्ने, कपडा च्यात्ने

** सम्झना शक्ति हराउने

** जता मन लाग्यो त्यतै हिंड्ने वा दौड्ने

समस्या समाधानका उपाय

** एकान्त कोठामा राख्ने

** आराम गर्न दिने

** लामो सास तान्न लगाउने, पानी खुवाउने

** मनको तनावलाई बाहिर निकाल्न प्रोत्साहन गर्ने

** औषधि सेवन नगर्ने

** आमाबाबु या रोगीलाई यो कडा रोग होइन भनी सम्झाउने

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...