थप समाचारबुधबार, माघ २२, २०७०
बरमझियाको पेडाका लागि दूध पुगेन
पेडाको लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसार आपूर्ति नभएपछि देशभर नै ख्याती कमाएको सप्तरी बरमझियाको पेडा व्यवसाय प्रभावित हुन पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियादेखि महादेवपट्टीसम्मको करिब एक किलोमिटरको दूरीमा ४१ वटा पेडा पसल छन् भने ती पेडा पसलमा दैनिक रु १७ लाख मूल्य बराबरको ८० मन दूध खपत हुने गरेको छ ।
दैनिक करिब रु १० लाख मूल्य बराबरको पेडा बिक्री हुन्छ भने यस व्यवसायबाट दुई हजार कामदारले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । पेडा पसलका लागि यस क्षेत्रका किसानले दूध बेचेर दैनिक १५ हजार आर्थिक लाभ लिने गरेका व्यवसायीको भनाइ छ ।
सञ्चालनमा रहेको पेडा पसलहरूमा मागअनुसारको दूध आपूर्ति हुन नसक्दा पेडा उत्पादन घटेको पेडा व्यवसायी दयाराम साहले बताए । “पेडा बनाउनका लागि गाईको दूधभन्दा भैँसीको दूध आवश्यक हुन्छ”– उनले भने, “पेडाको खपत बढ्दै गएको तर दूध उत्पादन घट्दै गएकाले पेडा व्यवसाय प्रभावित भएको हो ।”
आफ्नो पसलमा मात्रै दैनिक १०० देखि १५० लिटर दूध खपत हुँदै आएकामा हाल त्यति परिमाणको दूध पाउन कठिन भएको व्यापारी शनिचरण साह बताउँछन् ।
जिल्लामा सरकारी स्तरबाट भैँसीभन्दा जर्सी गाईपालनमा बढी जोड दिन किसानलाई प्रेरित गर्ने गरेकाले किसानहरू कमै मात्रामा भैँसीपालनतर्फ आकर्षित हुँदा दूधको अभाव हुने गरेको उनीहरूको भनाइ छ ।
पेडाको शुद्धता र गुणस्तरबारे विराटनगरबाट खाद्यान्न तथा गुणस्तरका टोली बेलाबेलामा आएर परीक्षण गर्ने नाममा सबै पसलबाट एक÷एक किलो पेडा लैजाने गर्दछन् तर उक्त पेडाको गुणस्तर कस्तो छ त्यसबारे प्रतिवेदन नदिएकै कारणले उपभोक्ताहरू बारम्बार ठगिने गरेका छन् ।
झोलामा लिएर बस बसमा बेच्ने पेडा कम गुणस्तर तथा कम तौलको भएपनि यसतर्फ सम्बन्धित निकाय मौन रहेकाले यस्ता पेडाको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको व्यवसायीहरू बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
