अर्थ/बजारशुक्रबार, माघ २४, २०७०
चितवनमा ‘तोरी’ फर्किंदै
सविता श्रेष्ठ, चितवन
२०४७/४८ ताका चितवनमा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेकोमा २०६०/६१ मा सात हजार हेक्टरमा झारेको थियो। यो वर्ष ११ हजार ९१० हेक्टरमा १२ हजार टन तोरी उत्पादन हुने अनुमान छ।
२०६० मा चितवनमा तोरीको उत्पादकत्व प्रति हेक्टर ०.७ टन रहेकोमा यो वर्ष प्रतिहेक्टर १.२ टनभन्दा बढी हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारी अनुमान गर्छन्। फिल्डमा अनुगमन गरेर यस्तो अनुमान गरिएको उनको भनाइ छ।
माटोमा खाद्यतत्वको अभाव भएर तथा कीराको प्रकोप बढेर चितवनमा तोरी उत्पादन घटेको थियो। माटोमा सल्फर र बोरन कम हुँदा तोरी उत्पादन कम हुने र त्यही कारण किसानले तोरी खेती गर्न छाडेको कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउँछन्। पछिल्लो समय माटोको गुणस्तर सुधार्न किसान सचेत बनेको र तोरीमा लाग्ने लाई, डढुवा (पात र डाँठ कालो भएर मर्ने) रोग हराएकोले तोरी खेती र उत्पादन बढेको उनको भनाइ छ।
किसान उत्साहित
पश्चिम चितवनका मेघौली, दिव्यनगर, शुक्रनगर, शारदानगर, गुञ्जनगर, मंगलपुर र फूलबारी तथा पूर्वी चितवनका बछौली, जुटपानी, शक्तिखोर, पदमपुर, कुमरोज, कठार र रत्ननगर तोरी खेतीका लागि पकेट क्षेत्र मानिन्छ। गत वर्ष साढे चार क्वीन्टल तोरी बेचेका शारदानगर–४ का जीवनराम महतो (४१) यो वर्ष बाली सप्रिएकाले त्योभन्दा बढी बेच्न सकिनेमा विश्वस्त छन्। उनका अनुसार, तोरीमा मिहिनेत कम लाग्ने र आम्दानी पनि बढी हुने गर्छ।
चितवनमा तोरी खेती कम हुन थालेपछि कृषि विकास कार्यालयले बखान सहकारी संस्था शारदानगरलाई तोरीको बीउ उत्पादन गर्न सहयोग गरेको थियो। २०६८ बाट शुरू गरिएको त्यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष शारदानगरको १७ हेक्टरमा परीक्षणको रूपमा तोरी खेती गरिएको थियो। कृषि उपज केन्द्र गुञ्जनगरसँगको सहकार्यमा सहकारीले सञ्चालन गरेको सो कार्यक्रम यो वर्ष शारदानगर, दिव्यनगर, मेघौली, गुञ्जनगर, शुक्रनगर, मंगलपुर र शिवनगर क्षेत्रमा विस्तार गरिएको छ। सहकारीले शारदानगरमा २०६७ देखि तोरी पेल्ने मील पनि संचालन गरेको सहकारीका अध्यक्ष मोहनसिंह लामा बताउँछन्।
पहिलो वर्ष मीललाई चाहिने तोरी नपाएपछि सहकारीले कृषि विकास कार्यालयसँगको सहकार्यमा किसानलाई बीउ उपलब्ध गराउँदै तोरी पनि किनिदिन थालेको छ। सहकारीले उत्पादन गर्ने तेल गाउँबजारमै बिक्री हुने गरेको सहकारीका व्यवस्थापक अर्जुन ढकाल बताउँछन्। सहकारीले गत वर्ष बीउ तोरी रु.८२ र तेल पेल्ने तोरी रु.७५ प्रतिकेजीमा किसानबाट किनेको थियो।
सहकारीलाई तोरी पेल्न जिल्ला कृषि विकास कार्यालयले फिल्टर मेशीन पनि उपलब्ध गराएको छ। गत वर्ष सहकारीले कृषि विकास कार्यालयलाई १० टन तोरीको बीउ उपलब्ध गराएको थियो। यो वर्ष तोरीको बीउ अरू बढी उत्पादन हुने सहकारीका अध्यक्ष लामा बताउँछन्। बाहिरबाट आउने बीउको तुलनामा यहीं उत्पादन गरिएको बीउ गुणस्तरीय हुने भएकाले कृषि विकास कार्यालयले बीउ उत्पादनमा जोड दिएको छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
