रिपोर्टआइतबार, माघ २६, २०७०
४ महीना स्कूल, ६ महीना ईटाभट्टा
देविका घर्ती मगर, घोराही
नयाँबस्तीका टोपबहादुर गन्धर्व गएको ५ पुसमा पाँच छोराछोरी र श्रीमती लिएर दक्षिणकालीस्थित ईटाभट्टामा काम गर्न काठमाडौंतिर लागे । ऐलानी जग्गामा बनेको उनको घरमा ताला लागेसँगै नजिकैको बालकल्याण प्राथमिक विद्यालयमा ६ महीनाका लागि दुई विद्यार्थी घटेका छन् । “छोराछोरी पढाउन मन लागेर मात्र के गर्नू”, टोपबहादुर भन्छन्, “पहिला त तिनलाई र आफूलाई बचाउनु पर्यो !”
यो वर्ष पटक–पटक बिरामी परेर नेपालगञ्जमा उपचार गराउँदा धेरै ऋण लागेकोले खर्च जुटाउन परिवारै राजधानीको ईटाभट्टामा जानुपरेको उनले बताए । अब हिउँदभर उनका परिवारका सक्ने जति सबैले ईटा बोक्ने छन् । डाक्टरले भारी नबोक्नू भनेकाले टोपबहादुर चाहिं वरिपरिका गाउँघरमा सारङ्गी रेट्न जानेछन् । दायाँ हातको नशाको अप्रेशन गर्नुपर्ने भए पनि पैसा नहुँदा रोग पालेर हिंड्नुपरेको उनले बताए । नयाँबस्तीकै पे्रम गन्धर्व पनि तीन छोराछोरी र श्रीमती लिएर भक्तपुरको ईटाभट्टामा काम गर्दैछन् ।
विद्यालयको बेहाल
यो वर्षको पुस पहिलो सातासम्ममा नयाँबस्तीका २५ घरका ढोकामा ताल्चा लागेसँगै बस्ती बीचको प्राविमा १७ विद्यार्थी घटेका थिए । कुल ८० विद्यार्थी भर्ना भएको यो विद्यालयमा ५९ जना गन्धर्व समुदायका बालबालिका छन् भने २१ जना अन्य समुदायका । ८४ घर गन्धर्व रहेको यो बस्तीको जनसंख्या करीब ४०० छ । यहाँका ६० प्रतिशत गन्धर्व सारङ्गी बजाउने परम्परागत पेशा छाडेर अन्य रोजगारीतर्फ लागेका छन् ।
हरेक वर्ष मंसीरदेखि पुस मसान्तसम्ममा बाबुआमासँगै राजधानीका ईटाभट्टाहरूमा पुगिसक्ने विद्यार्थी जेठतिर फर्केपछि विद्यालयमा एक पटक रौनक छाउँछ । “जेठमा नाम लेखाएर असारमा पढ्ने, साउनमा बर्खे विदामा बस्ने, भदौमा पढ्ने, असोज–कात्तिकमा दशैं–तिहारको विदा मनाउने अनि मंसीरमा आठ–दश दिन पढेर अभिभावकसँगै गाउँ छाड्ने क्रम चल्छ”, सहायक प्रधानाध्यापक टेकबहादुर डाँगी भन्छन्, “यो क्रमलाई कसै गर्दा पनि भंग गर्न सकिएन ।”
जेठमा फर्किने विद्यार्थीले परीक्षा दिन नपाएपछि पुनः सोही कक्षामा भर्ना हुन्छन् । यसरी केही वर्ष एउटै कक्षा दोहोर्याउने क्रममा उमेर बढेपछि उनीहरू पढाइ छाड्छन् । नियमित आउने विद्यार्थी अत्यन्तै कम भएको सहायक प्रअ डाँगीले बताए । जिल्ला शिक्षा कार्यालयबाट ५६ विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम अन्तर्गत खाजा आइरहे पनि विद्यार्थीको अभाव भएको उनले बताए ।
गन्धर्व बालबालिकालाई लक्षित गरी २०५१ सालमा खुलेको विद्यालयमा १ देखि ५ कक्षा संचालित छ । विद्यालयमा दरबन्दीका ३, राहतका १, निजी १ र बाल विकासका १ गरी ६ शिक्षक छन् । गाउँलेलाई स्थानीयस्तरमै रोजगारी वा इलमधन्दाको अवसर उपलब्ध नगराएसम्म विद्यालयको उद्देश्य पूरा नहुने शिक्षिका लक्ष्मी गन्धर्वले बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
