अर्थ/बजारशुक्रबार, फाल्गुण २, २०७०
समृद्धिको इन्जिन
– रमेश कुमार
निक्षेप वृद्धिको अनुपातमा कर्जाको माग नबढ्दा ब्याङ्क तथा वित्तीय संस्थाको ढुकुटीमा रु.५० अर्बभन्दा बढी रकम थन्किएको छ। कुल रु.१० खर्ब ९५ अर्ब निक्षेप रहेको वाणिज्य ब्याङ्कहरूले रु.८ खर्ब १५ अर्ब हाराहारीमा मात्र लगानी गर्न सकेका छन्। निक्षेप गर्ने बचतकर्तालाई ब्याज दिनुपर्ने दायित्व बोकेका ब्याङ्कहरूलाई ऋण लगानी हुन नसकेको समस्याले थप प्रतिस्पर्धी बनाएको छ। ब्याङ्क ब्याज ८ प्रतिशतको हाराहारीसम्म झर्नु यही प्रतिस्पर्धाको परिणाम हो।
कर्पोरेट र उपभोक्ता लक्षित अनुत्पादक क्षेत्रमा लगानी बढाएको आरोप खेपिरहेका ब्याङ्कहरू यतिवेला लगानीको नयाँ क्षेत्र खोज्दैछन्। उनीहरूका लागि दीर्घकालीन विस्तारमा फाइदाजनक, जोखिम न्यून तर प्रतिफल आकर्षक भएको साना तथा मझौला व्यवसाय (एसएमई) लगानीको आकर्षक क्षेत्र बन्ने देखिन्छ। ब्याङ्कबाट ऋण लिएर व्यवसाय गर्ने योजना बनाउनेहरूका लागि त यो उद्यमको राम्रो मौका हुँदै हो। योजना र सम्भावना भएर पनि रकमको अभावमा निष्क्रिय हुन बाध्य भएकाहरूका लागि प्रशस्त तरलता व्यवसायको वित्तीय स्रोत जुटाउने अवसर हो।
सानो र मझौला पूँजीमा चल्ने कृषि, हस्तकला, उपभोग्य वस्तुको व्यापार तथा सेवा लगायत घरेलु र मझौला खालका उद्यम गर्ने मौका दिन सक्छ– एसएमईले। सानो पूँजीका व्यवसायमा बन्द हड्ताल, राजनीतिक अवरोध, श्रम समस्या आदि बाह्य अप्ठ्याराले कम असर पार्ने तथा ठूलो रकम डुब्ने जोखिम पनि कम रहेको ब्याङ्कहरूको आकलन छ।
एसएमई कर्जाले साना व्यवसाय गरिरहेकाको जीवनमा सकारात्मक प्रभाव पारेको छ भन्ने उदाहरण धनुषाको लोहना ५ का पवनकुमार साह (४५) हुन्। साहले २०६० मा नेपाल ब्याङ्कबाट रु.१ लाख ५० हजार ऋण लिएर थालेको कोल्ड स्टोरेजले अहिले सफल व्यवसायी बनाएको छ। उनले कोल्ड स्टोरका आडमा थालेको जग्गा कारोबारको व्यवसायबाट अहिले जनकपुरको क्याम्पस चोकमा करीब रु.१ करोड मूल्य पर्ने जग्गा किनेका छन्।
२०५७ सालमा कृषि विकास ब्याङ्कबाट रु.५ हजार ऋण लिएर सुवित ढाका उद्योग शुरू गरेका नवलपरासीको दाउन्नेदेवीका सूर्यबहादुर आले (३९) ले उत्पादन गरेको ढाकाका विभिन्न आइटमले अहिले काठमाडौं र पोखरासम्म बजार विस्तार गरेको छ। दुई वटा तानबाट शुरू भएको उनको उद्योगमा अहिले रु.३० हजार पर्ने १५ तान छन्, १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। वार्षिक रु.२० लाखको कारोबार गर्ने उनले अहिले पनि ब्याङ्क तथा वित्तीय संस्थाबाट रु.२० लाख कर्जा लिएका छन्।
ब्याङ्कको भविष्य
रु.५ करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई सानो र रु.५ देखि रु.१० करोडका कम्पनीलाई मझौला मानिन्छ। एसएमई कर्जाको सीमा भने ब्याङ्कपिच्छे फरक छ। केही लाखदेखि करोडौं रुपैयाँसम्मका कर्जालाई ब्याङ्क तथा वित्तीय संस्थाले एसएमई कर्जाका रूपमा राखेका छन्। तर, ब्याङ्क अफ काठमाण्डू (बीओके) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठ बढीमा रु.१० लाखसम्मका कर्जालाई एसएमईका रूपमा अर्थ्याउनुपर्ने बताउँछन्।
उता राष्ट्र ब्याङ्कले रु.१ करोडसम्मको कर्जालाई एसएमई मानेको छ। रु.५० लाखसम्मको कर्जालाई कर्जा तथा निक्षेप सुरक्षण निगमले क्रेडिट ग्यारेन्टी बस्ने हुँदा यसलाई चलनचल्तीको एसएमई कर्जा भन्नुपर्ने राष्ट्र ब्याङ्कका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन्। कर्जामा विशेष दखल भएका ब्याङ्कर पर्शुराम कुँवर क्षेत्री पनि रु.१ करोडसम्मकै कर्जालाई साना र मझौला कर्जाका रूपमा राख्नुपर्ने बताउँछन्।
राष्ट्र ब्याङ्कले साना तथा मझौला र उत्पादनमूलक क्षेत्रमा जोड दिन ब्याङ्क तथा वित्तीय संस्थाले कुल कर्जाको २० प्रतिशत यस्तो क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ। प्रवक्ता ज्ञवाली दुर्गममा शाखा विस्तार, ग्रामीण क्षेत्रमा कर्जा वितरण आदि मार्फत केन्द्रीय ब्याङ्कले लिएको नीतिले साना र मझौला व्यवसायलाई सघाउने बताउँछन्। लगानीका लागि प्राथमिकता परिवर्तन गरिरहेका ब्याङ्कहरू आफैं पनि पछिल्ला केही वर्षदेखि साना र मझौला कर्जामा केन्द्रित हुन थालेको ब्याङ्कर क्षेत्रीको अनुभव छ।
ब्याङ्कहरूले उपत्यका बाहिर शाखा विस्तारमा दिएको ध्यान तथा कर्जाको विविधीकरणमा गरेको पहल त्यसैको उदाहरण हो। जोखिम व्यवस्थापनको दृष्टि तथा ब्याङ्किङमा विविधीकरण बढाउन ब्याङ्कहरू एसएमईमा केन्द्रित हुन थालेको क्षेत्री बताउँछन्। “ब्याङ्कको ठूलो लगानी डुब्दा कैयौं वर्ष ब्यालेन्स सिटमा असर पार्छ, तर साना र मझौला व्यवसाय कर्जा डुब्दा सडकमा पुग्नुपर्दैन”, ब्याङ्कर क्षेत्री भन्छन्, “यसै कारण पनि एसएमई ब्याङ्कहरूका लागि दीर्घकालीन हितमा छ।”
सेवा र वस्तु उत्पादन गरिरहेका उद्योग तथा व्यवसायको बजार सजिलै पाउने हुँदा यस्तो क्षेत्रमा लगानी गर्न ब्याङ्कहरूलाई अप्ठ्यारो छैन। राजनीतिक स्थिरता आइनसकेकाले ठूला लगानीका उद्योग व्यवसाय शुरू हुनसकेको अवस्थामा ब्याङ्कहरूका लागि एसएमई उत्तम विकल्प भएको लक्ष्मी ब्याङ्कका सीईओ सुमन जोशी बताउँछन्। गत तीन–चार वर्षदेखि नै ब्याङ्कहरू स–सानो ऋणमा केन्द्रित हुन थालिसकेको र एसएमईलाई विस्तार गर्न सक्दा यो नेपाली ब्याङ्कहरूको मुख्य हिस्सा बन्न सक्ने बताउँछन्।
नबिल ब्याङ्कका सीईओ अनिल ज्ञवाली पनि ब्याङ्कहरू साना र मझौला व्यवसायमा केन्द्रित हुन थालिसकेको बताउँछन्। लगानी रकमको हिसाबले कम देखिए पनि ब्याङ्कहरूले गर्ने अधिकांश कारोबार साना र मझौला स्तरकै रहेको बताउँदै ज्ञवाली भन्छन्, “एसएमई अब सबै ब्याङ्कको मुख्य प्राथमिकता हो।”
एसएमई ग्राहक विविधीकरणको साधन पनि हो। ‘चप्पल लगाउने मानिस’ को पहुँच ब्याङ्कमा पुर्याउन एसएमई नै बलियो उपाय भएको कुमारी ब्याङ्कका एसएमई प्रमुख ईश्वर गुरुङ बताउँछन्। एभरेष्ट ब्याङ्कका डेपुटी महाप्रबन्धक एचपी कुलकर्णीले रोजगारी सिर्जना, पूँजी निर्माण तथा अर्थतन्त्रलाई नै गति दिने क्षेत्र भएकाले साना तथा मझौला व्यवसायमा लगानी बढाइरहेको बताए। कुलकर्णीले भने, “कृषि, टुर तथा ट्राभल्स, मझौला अस्पताल, पर्यटन एवं साना र मझौला उद्योगहरू हाम्रो प्राथमिकतामा छन्।”
ब्याङ्कहरूले प्रतिस्पर्धालाई खरो बनाउन ऋण लिन आउनेलाई मात्रै होइन, घरघरै ग्राहक खोज्दै गएर पनि लगानीको सम्भावना हेरिरहेका छन्। ब्याङ्कहरू यसरी सामान्य व्यवसायीको पहुँचमा पुग्न सके भने ब्याङ्किङ प्रणाली मजबूत बन्ने विश्वास छ एनबी ब्याङ्ककी कर्जा विभाग प्रमुख सलोनिका सिंहको। उनी भन्छिन्, “ब्याङ्कमा पुग्दै नपुगेकाहरूलाई समेत तान्न हामी आफैं एसएमईको सम्भावना देखाइदिने अभियानमा छौं।”
ब्याङ्कहरूको लगानीको प्राथमिकता कर्पोरेट र उपभोक्ता लक्षित कर्जाबाट साना र मझ्ौला व्यवसाय चलाउनेहरूमा सर्न थालिसकेको छ। अहिले नै ब्याङ्कहरू आफ्नो कुल कर्जाको औसतमा २० प्रतिशत लगानी एसएमईमा पुगिसकेको बताउँछन्। बीओकेले रु.२५ अर्बको आफ्नो पोर्टफोलियोमध्ये २५ प्रतिशत एसएमईमा लगानी गरेको छ। एनबी ब्याङ्कले कुल कर्जाको २०, एभरेष्टले २०, लक्ष्मीले ३० र नबिलले २५ प्रतिशतको हाराहारीमा एसएमईमा लगानी गरेको जनाएको छ।
सन् २००८ मा एसएमई कर्जा शुरू गरेको स्ट्यान्डर्ड चार्टर्डले यसमा रु.३ अर्ब लगानी गरेको छ। तर, कुल कर्जाको ५० प्रतिशत साना तथा मझौला व्यवसाय गर्नेहरूमा पुगे मात्रै स्थिति बदलिन सक्छ। बीओकेका सीईओ श्रेष्ठ भने अहिले ब्याङ्कहरूले ठूला उद्योग मार्फत अप्रत्यक्ष रूपमा मात्र एसएमईमा लगानी गरेको बताउँछन्। उनको भनाइमा, सानो कर्जामा प्रक्रियागत जटिलता एवं सहकारी र फाइनान्सको ध्यान बढी रहेकाले ब्याङ्कहरू अपेक्षित रूपमा जान नसकेको हो। तर, बजारको प्रतिस्पर्धा र दीर्घकालीन लाभका हिसाबले यसमा जानै पर्ने बताउँदै श्रेष्ठ भन्छन्, “अहिलेको पैसा फालाफालको अवस्थामा ब्याङ्कका लागि कम जोखिमयुक्त र सम्भावनायुक्त क्षेत्र एसएमई नै हो।”
आवश्यकता लचकताको
धितो लिएरै एसएमई कर्जा प्रवाह गर्ने भए पनि यसमा लचकता नअपनाए नफैलने ब्याङ्कहरू बताउँछन्। स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कका कर्पोरेट ब्याङ्किङ प्रमुख दिवाकर पौडेल वित्तीय मापनका आधारमा अन्य कर्जा जस्तो ग्राहकलाई कडिकडाउ गरे यो कर्जा जान गाह्रो हुने बताउँछन्। साना र मझौला स्तरको कारोबार गर्ने व्यवसायीले ब्याङ्कले खोजे जस्तो चुस्त लेखा प्रणाली नराख्ने हुँदा कर्जा प्रवाहमा केही लचकता आवश्यक रहेको पौडेल बताउँछन्। एनबी ब्याङ्ककी सिंह प्रस्ताव चित्तबुझदो लागे अडिटेड ब्यालेन्स सिट नहुने ग्राहकलाई पनि कर्जा दिन सकिने बताउँछिन्।
नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूको पहुँच सामान्य ग्राहकसम्म पुग्न थालेको धेरै भएको छैन। ब्याङ्कहरूले उपभोक्ता कर्जा दिन थालेपछि मात्र धेरै ग्राहकले ब्याङ्कको दैलो टेकेका हुन्। ब्याङ्कहरू आफैं ग्राहकको घरघरै पुगेर सम्भावना पहिल्याउन भने बाँकी रहेको कुमारी ब्याङ्कका गुरुङ बताउँछन्। अझ् ग्रामीण क्षेत्रमा वित्तीय स्रोत जुटाउन नसकिरहेकाहरूसम्म त ब्याङ्क पुगेकै छैनन्।
राष्ट्र ब्याङ्ककै अध्ययनले पनि कुल निक्षेपको ६० प्रतिशत उपत्यकाबाटै संकलन भएर ४० प्रतिशत यही लगानी भएको देखाएको छ। त्यसैले ब्याङ्कहरूका लागि विस्तारको ठूलो क्षेत्र बाँकी नै रहेको बताउँछन, ब्याङ्कर कुँवर क्षेत्री। तर, यसका लागि ब्याङ्कहरूकै पहल आवश्यक रहेको देख्छन् हिमालयन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणा। “प्रतिस्पर्धाको जमानामा आफैं ग्राहक खोज्नुपर्छ, एसएमईमा त्यो पहल चाहिएको छ”, राणा भन्छन्।
स–सानो ऋण भएकाले एसएमईमा प्रशासनिक लागत बढी हुने हुँदा ब्याजदर केही महँगो पर्न सक्छ। तर, प्रतिस्पर्धाका कारण त्यो अवस्था पनि नभएको ब्याङ्कहरू बताउँछन्। एनबी ब्याङ्ककी सिंहले बढ्दो प्रतिस्पर्धामा टिक्न ब्याजदर बढी गर्ने अवस्था नै नभएको बताइन्। तरलता खुकुलो भएका कारण अहिले ब्याङ्कहरूले साना तथा मझौला व्यवसायीहरूलाई पनि ९–१० प्रतिशत हाराहारीको ब्याजदरमा कर्जा दिन थालेका छन्। कर्जा घरजग्गा लगायतका अनुत्पादक काममा ओइरिने खतरा पनि छँदैछ। ब्याङ्कर क्षेत्री भन्छन्, “यसलाई रोक्न पनि एसएमई कर्जातिर ध्यान बढाउनुपर्छ।”
—————————————————————————————————————————————————-
सुकुम्बासीदेखि करोडपतिसम्म
बुटवल, प्रगतिनगरको सुकुम्बासी टोलकी यामकुमारी थापा एकताका इलमका लागि ऋण खोज्न निकै भौंतारिइन्, तर विना धितो ऋण पाइने कुरै थिएन। त्यसवेला रोजगारीका लागि भारत गएका श्रीमान्ले पठाएको रकमले तीन छोराछोरी सहितको परिवारको गुजारा चलाउन कठिन थियो उनलाई। त्यहीवेला पश्चिमाञ्चल ग्रामीण विकास ब्याङ्कले लघु ऋण दिने थाहा पाएपछि थापाले हतार–हतार वरपरका महिला बटुलेर पाँच जनाको समूह बनाई २०५७ मा ब्याङ्कबाट विना धितो रु.१० हजार ऋण लिइन्।
त्यसबाट बाख्रा पालेकी उनले त्यसपछि चियापसल र त्यसको केही समयपछि होटल खोलिन्। होटलपछि फर्निचर उद्योगमा हात हालेकी उनले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएकी छन्। अहिले उनीसँग भाडाका दुई वटा व्यापारिक सटर र आफ्नै पाँचकोठे घर छ। व्यवसायमा छोराछोरीको साथ पाएकी थापा भन्छिन्, “पश्चिमाञ्चल ग्रामीण विकास ब्याङ्कले विना धितो रु.१० हजार ऋण नदिएको भए आज म यो अवस्थामा पुग्ने थिइनँ।”
————————————————————————————————————————————————–
विस्तारको योजना
कृषि विकास ब्याङ्कको रु.७ लाख ऋण लगानीमा १९ वर्षअघि ललितपुरको ठैबमा स्थापित कृष्ण टेक्सटायल इन्डष्ट्रिजलाई विस्तार गर्न संचालक कृष्णबहादुर महर्जनले २०६५ मा स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कबाट रु.१ करोड १५ लाख ऋण लिए। चार्टर्डसँग काम गर्न निकै झन्झटिलो हुन्छ भन्ने सुनेका उनले अटो लोनबाट प्रक्रिया अघि बढाएका थिए। महर्जन भन्छन्, “तर, प्रक्रिया थालेपछि मैले सुनेको गलत रहेछ भन्ने थाहा पाएँ।”
ब्याङ्कको प्रक्रिया सहज लागेपछि उनले एनआईसी ब्याङ्कबाट लिएको रु.१ करोड १५ लाख ऋण पनि चार्टर्डमा सारे। त्यसको ६ महीनापछि उद्योगको क्षमता बढाउने कुरा गर्दा ब्याङ्कले सहजै स्वीकारेको उनी बताउँछन्। अनि नेपालमै पहिलो पटक तीव्र गतिको एयर जेड मेशीन ल्याएर उत्पादन थालेको उनले बताए। “चार्टर्डले ग्राहकको चाहना र पीरमर्का बुझेर काम गरिदिंदा सजिलो भयो”, महर्जनले भने।
करीब रु.४ करोडको लगानीमा ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको कृष्ण टेक्सटायलले अहिले मासिक सरदर रु.३५ लाखको कारोबार गरिरहेको छ। उद्योगलाई थप विस्तार गर्ने योजनामा काम गरिरहेको महर्जनले बताए।
—————————————————————————————————————————————————
बढ्यो योजना
२०६४ मा एभरेष्ट ब्याङ्कबाट ऋण लिएर काठमाडौंको सतुङ्गलमा प्लास्टिक उद्योग खोलेका जनकपुरका कृष्णप्रसाद घिमिरेको आर्थिक अवस्थामा ६ वर्षमै ठूलो परिवर्तन आयो। ब्याङ्कबाट रु.४० लाख ऋण लिएर शुरू गरिएको तिरुमाला प्लास्टिक उद्योगका अध्यक्ष घिमिरे अहिले मासिक करोड रुपैयाँको कारोबार गर्छन्। अहिले उद्योगसँग रु.२० करोड बराबरको सम्पत्ति छ।
प्लास्टिकको बोतल, जार, बिर्को आदि उत्पादन गर्ने उद्योगको मुख्य बजार विराटनगर, जनकपुर, नारायणगढ, बुटवल लगायतका क्षेत्र हुन्। बढी माग डिष्टिलरीहरूबाट आउँछ। पानीको गुणस्तरीय जार खोज्ने काठमाडौंका उपभोक्ताले तिरुमालाको उत्पादन किन्ने गरेको घिमिरे बताउँछन्। भारत, ताइवान, इन्डोनेशिया, सिंगापुर र मलेशियाबाट झिकाएको कच्चा पदार्थले गुणस्तर कायम गरेको उनले बताए।
पहिलो ६ महीनाको कारोबार हेरेपछि एभरेष्ट ब्याङ्कले मागेजति ऋण दिएको घिमिरे सम्झन्छन्। ब्याङ्कप्रति आभारी घिमिरेले एउटा पार्टनरको रूपमा एभरेष्टले आफूलाई राम्रो सहयोग गरेको बताए। उनको उद्योगमा प्रत्यक्ष रोजगारी पाएका ३० जनामध्ये अधिकांश महिला छन्। महिलाले कमाएको पैसा घरमा सदुपयोग हुने भएकोले उनीहरूलाई प्राथमिकता दिइएको घिमिरे बताउँछन्। अब अत्याधुनिक मेशीन ल्याएर अझ गुणस्तरीय सामान उत्पादन गर्ने घिमिरेको योजना छ।
————————————————————————————————————————————————–
नयाँ बजारको खोजी
सन् १९९० मा काठमाडौंमा कार्पेट व्यवसाय शुरू गरेका सुमोद बस्ताकोटीले हिमालयन ब्याङ्कबाट रु.७७ लाख ऋण लिएका थिए। शुरूमा ग्रीण्डलेज ब्याङ्कसँग काम गरेका उनले त्यहाँका धेरै कर्मचारी हिमालयन ब्याङ्क गएपछि काम गर्न सहज हुने ठानेर हिमालयन ब्याङ्कबाटै ऋण लिएका हुन्। बस्ताकोटी भन्छन्, “विस्तारित व्यवसायको आधार नै हिमालयन ब्याङ्क हो।”
ब्याङ्कको ऋण सहित डेढ करोडमा शुरू भएको उनको कारोबार अहिले चार करोडको हाराहारीमा पुगेको छ। केही नाफा कमाएपछि ब्याङ्कको ऋण तिर्दै फेरि लिंदै व्यवसाय अघि बढाइएको उनी बताउँछन्। नेपाली कार्पेट व्यवसाय फस्टाएको वेला १२०० सम्म कामदार राखेका बस्ताकोटीले अहिले पनि करीब १०० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।
उनी न्यूजिल्याण्ड र तिब्बतबाट ऊन तथा भारतबाट धागो ल्याएर हातले बुनेको गुणस्तरीय कार्पेट जर्मनी निर्यात गर्छन्। बस्ताकोटीका अनुसार, २०५० सालतिर नेपालबाट ३४ लाख स्क्वायर मिटर कार्पेट निर्यात गरिएकोमा गत वर्ष तीन लाख ८० हजार स्क्वायर मिटर मात्र गयो। “तैपनि, निकासी गर्ने उत्कृष्ट २० मा हामी पर्छौं”, उनले भने, “नयाँ बजारको खोजीका लागि अमेरिका जाने तयारीमा छु।”
—————————————————————————————————————————————————
दुई वर्षअघि लक्ष्मी ब्याङ्कबाट रु.२० लाख कर्जा लिएर १२ वर्षदेखि चलाइरहेको आयुर्वेदिक औषधि व्यवसाय विस्तार गरेका छन् नरदेवीको लक्ष्मी आयुर्वेदिक फर्मका संचालक रविन लम्सालले। अहिले उनी आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी शुरु गर्दैछन्। लम्साल भन्छन्, “सरल ब्याज र लामो अवधिको किस्ताका कारण हामी जस्ता व्यवसायीलाई एसएमई कर्जा लाभदायक बनेको छ।”
—————————————————————————————————————————————————
ब्याङ्कलाई श्रेय
नारायणगढ पुग्ने जो–कोही मासु पारखी भेटघाट रेस्टुरेन्टमा पुगेकै हुन्छन्। नारायणगढको यो नामी रेस्टुरेन्ट संचालक गोविन्द तिवारी (५१) आफ्नो व्यवसाय यसरी जम्नुको श्रेय ब्याङ्क र फाइनान्स कम्पनीलाई दिन्छन्।
२०४५ सालमा कास्कीबाट चितवन झरेका उनले शुरूका आठ वर्ष किराना पसल चलाए। श्रीमतीको उपचार खर्च जुटाउन राम्रो चलिरहेको पसल बेच्नुपरेपछि उनले थोरै लगानीमा रेस्टुरेन्ट शुरू गरे। “व्यवसाय विस्तारका लागि शुरूमा नारायणी फाइनान्सबाट रु.३० हजार ऋण लिएँ”, तिवारी सम्झन्छन्, “त्यो रकम चुक्ता गरेपछि ब्याङ्क र अरू वित्तीय संस्थाबाट पनि धेरै पटक ऋण लिएर व्यवसाय बढाएँ।”
काठमाडौंमा समेत भेटघाटको शाखा खोलेका उनको व्यवसायमा अहिले करीब रु.४ करोडको लगानी छ। भरतपुर सामुदायिक अस्पताल र भेटघाट सहकारी संस्थामा पनि तिवारीको लगानी छ। “एउटा छोरालाई एमबीए, अर्को छोरा र छोरी डाक्टरी पढ्दै छन्”, यसमा ब्याङ्क र सहकारीहरूले मलाई ठूलो गुन लगाएका छन्।”
साथमा ईश्वरचन्द्र झा, जनकपुर; सविता श्रेष्ठ, नारायणगढ र दीपक ज्ञवाली, बुटवल।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
