रमझमशुक्रबार, फाल्गुण २, २०७०

भुलेको बटुवा

हिमालखबर

– सरला गौतम
२०३९ सालमा अष्ट्रेलियाको संचार मन्त्रालयको प्रतिनिधित्व गर्दै काठमाडौं आएका माइकल पियस नेपालमा फिल्म बन्छ भन्दा चकित परेका थिए। कारण, त्यो वेलासम्म अस्ट्रेलियामा सिनेमा बन्दैनथ्यो। अस्ट्रेलिया मात्र होइन, नेपालभन्दा पछि फिल्म बनाउन थालेका इरान र कोरिया पनि कहाँबाट कहाँ पुगिसके। २०२० सालमा पहिलो फिल्म बनेको नेपाल किन पछि पर्‍यो त? धेरैजसो विश्लेषकको भनाइ छ– बम्बईया फर्मूलाको बाधा परेर।

चलचित्र माइतीघरको दृष्य । तस्वीर साभारः आर्टिष्ट नेपाल

नेपाली फिल्ममेकरहरू भने दर्शकको ‘टेस्ट’ ले चार गीत, चार फाइट अनि ‘ब्वाइ मिट्स गर्ल’ फर्मूला नै मन पराउने हुनाले त्यस्तै फिल्म दिने गरेको बताउँछन्। निर्माता छवि ओझा नेपालमा धनी हिरोइन, गरीब हिरो अनि पारिवारिक द्वन्द्वका बीच उनीहरूको मिलन देखाउने फिल्म नै चल्ने बताउँछन्।

सिने समीक्षक प्रकाश सायमि बलिउडमा समेत सिनेमा बदलिसकेको प्रति नेपाली सिनेमेकरहरू सचेत नभएको परिणाम मान्छन्, काठमाडौंमा अधिकांश झूर फिल्म बन्नुलाई। हुन पनि, भारतमा सामाजिक भेदभाव विरुद्धको विद्रोह र गुजरातको हिन्दू–मुस्लिम हिंसादेखि राजनीति प्रेरित अनेक दंगाफसादसम्मका घटनालाई सिनेमाले मिडियाले भन्दा राम्ररी छिमलेको मानिन्छ। “नेपालमा त्यस्तो सिनेमेटिक सोच नै भएन”, सायमि भन्छन्।

नेपाली दर्शकको ‘टेष्ट’ पनि निकै स्तरीय भइसकेको वरिष्ठ निर्देशक यादव खरेलको विश्लेषण छ। “समस्या नेपाली दर्शकमा होइन, सिनेमा बनाउनेहरूमा छ, जो धेरै मिहिनेत नगरी फटाफट बिकाउ माल बनाउन चाहन्छन्”, खरेल भन्छन्, “हामी त्यो फर्मूलामा फँस्यौं, जसले हिन्दुस्तानी फिल्म उद्योगलाई समेत पीडित र आलोचित बनायो।”

हिन्दीको छायाँ

बम्बईया फिल्मको प्रभाव दक्षिण एशियाका सबै देश र भाषाका फिल्महरूमा छ। २००७ सालमा नेपाली भाषाको पहिलो फिल्म भारतमै बन्यो। नेपालमा आफ्नै फिल्मको सुरुआती वर्ष २०२० सालतिर दुई दर्जनभन्दा बढी सिनेमा हल थिए, सबैमा हिन्दी फिल्म चल्थ्यो। नेपालीले पढ्न जाने ठाउँ भारत, सिनेमाको अधिकांश काम हुने ठाउँ पनि त्यही। दर्शकका रोलमोडल इन्डियन स्टार, मेकरका रोलमोडल इन्डियन सिनेमा। नेपाली सिने उद्योग यही ‘टेष्ट’ मा अडियो।

नेपाली सिनेमा बनाउनेहरूले भारतीय सिनेमा बढी हेर्दा पर्दामा नेपाली समाज, परिवेश र कथा अटाउन सकेन। सिनेमामा अर्ति–उपदेश पक्कै बिक्दैन, तर त्यसो भन्दैमा यो फोटोकपी या सस्तो मनोरन्जनको माध्यम होइन। श्रव्य–दृश्यको यो विधाले सामाजिक यथार्थहरूलाई मनोरन्जनको किस्तीमा पस्कने खुवी देखाउनुुपर्ने खरेल बताउँछन्। यसका लागि प्रविधि पनि सहज भएको छ, तर नेपाली सिनेमाले त्यसबाट फाइदा उठाउन सकेको छैन।

नेपालमा फर्मूला र अश्लीलताको बीचमा राम्रा फिल्म हराएको साय्मि बताउँछन्। नायिका करिश्मा मानन्धर पहिला फर्मूला भए पनि लेखनमा स्तर भएकोले ढुक्कले ‘साइन’ गर्न मिल्ने तर, अहिले त त्यो पनि नरहेको बताउँछिन्। नेपाली सिनेमाकी सुरुआती नायिका भुवन चन्द मनलागी फिल्म बनाउने छूट दिने हो भने ग्रेड तोक्नुपर्ने बताउँछिन्।

प्रायः मूलधारको नेपाली फिल्मको प्रतिरक्षामै उत्रने नायक राजेश हमाल पनि आजको सिनेमाले निश्चित दिशा समात्न नसकेको स्वीकार्छन्। नेपाली सिनेमाले पुरानो ढर्रा छाडे पनि नयाँ दिशा ठम्याउन नसकेको हमाल बताउँछन्। तर, समीक्षकहरूको विचारमा, नेपाली सिनेमाले सन् १९६० र ७० को दशकमा चलेको हिन्दी फिल्मको ढर्रा नछोड्दा समस्या भएको हो।

ढुकुटीमा अनिकाल

नेपाली समाज विविधता, चमक र रौनकपूर्ण परिवर्तनका साथ अगाडि बढिरहेको छ। यति सानो भूगोलमा यतिको विविधता संसारमा नेपालसँग मात्र छ। यहाँको प्राकृतिक, सांस्कृतिक, जातीय जनजीवन, चाडबाड र परम्परा अपरम्पार छ। एउटै संस्कृतिमा पनि ठाउँपिच्छे पृथकता छ। धर्म, लोकगीत, लोककथा, बोलचाल, चालचलन जेमा हेर्‍यो त्यसमै भिन्नता देखिन्छ। पाइला पाइलामा मौलिक कथा र जीवित पात्रहरू छन्। तर, हामी आफैं भने बन्द कोठाभित्र अश्लीलता खिचेर सिनेमा बनाएको गुड्डी हाँकिरहेका छौं।

समीक्षक साय्मि बजार हेरेका निर्माताहरू आफैं कथाकार बन्दा नेपाली सिनेमाको कथालेखन सामाजिक र निर्देशकीय दृष्टिबाट अगाडि नबढेको बताउँछन्। टेलिफिल्मलाई नेपाली समाजको दर्पण बनाउँदै आएका मह जोडीका हरिवंश आचार्य मौलिकता विना चलचित्र स्तरीय नहुने बताउँदै भन्छन्, “कथाको भण्डारमा कथैको अनिकाल पर्दा हाम्रो सिनेमा उकालो लाग्नसकेको छैन।”

राम्रो सिनेमाको लागि नेपाली समाज तयार छ, दर्शक तयार छन्। सिनेमा बनाउनेहरूले दर्शकको रुचि, विधागत विकास र परिवर्तनको बहावलाई समाउनै पर्छ। फिल्म निर्माणमा गम्भीर अध्ययन–अनुसन्धानको परम्परा पनि बसाउनुपर्ने देखिन्छ। सिनेमा बजारिया उत्पादन मात्र नभएकोले यसमा साहित्यिक लेखन हुनुपर्ने समीक्षक साय्मि बताउँछन्। सिनेमा क्यामेराको विधा भए पनि कमजोर कलमबाट काम नचल्ने साय्मिको धारणा छ। भारतमा गुलजारले सिनेमा लेख्न छोडे पनि गीत लेखिरहेका छन्। नेपालमा यस्तो अभ्यास नभएको होइन। ‘वासुदेव’ धु्रवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’ बाट बन्यो भने ‘कन्यादान’ को कथा सशक्त साहित्यिक चेत भएका चेतन कार्कीले लेखेका थिए।

सिनेमा बनाउने मात्र होइन, खेल्नेले पनि विकासको बहावलाई आत्मसात गर्नुपर्छ। यो क्षेत्रमा २५ वर्ष बिताएकी करिश्मा सेटमा गयो, आज मेरो के ‘सिन’ छ भन्यो, अनि त्यही अनुसार गरेर हिंडेको तर सिनेमाको वजन र त्यसले समाजमा पार्ने प्रभावबारे कहिल्यै नसोचिएको बताउँछिन्। “अमेरिका गएपछि हामीले खेल्ने/बनाउने नेपाली फिल्मको औकात बुझें”, उनी भन्छिन्, “सिनेमाको कथा, पटकथा, स्त्रि्कप्ट, प्रस्तुति र कला पक्षमा ‘टीम वर्क’ अत्यावश्यक भइसकेको छ।”

हराएको विकास

पहिलो चलचित्र ‘आमा’ र २०२३ मा ‘माइतीघर’ फिल्म बनेपछि २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान गठन भयो। चलचित्र संस्थानका पहिलो अध्यक्ष यादव खरेल २० र ३० को दशकमा कथालाई राम्रोसँग प्रस्तुत गर्न मुश्किल पर्ने भद्दा प्रविधि भए पनि एक से एक फिल्म बनेको बताउँछन्। सिनेमा निर्माणको गति धिमा भए पनि त्यो समयमा परालको आगो, मनको बाँध, कुमारी, सिन्दुर, जीवनरेखा लगायतका दर्शकलाई धित मारेर हलबाट फर्काउने फिल्महरू बने। ४० को दशकमा बनेका कुसुमे रुमाल, सम्झ्ना, सन्तान, चेलिबेटी, कन्यादान, लाहुरे र ५० को दशकको देउकी, झुमा, अधिकार, लोभीपापी आदि फिल्म पनि आफ्नो समयमा अविस्मरणीय छाप पार्न सफल भए।

बसुन्धरा भुषालको विचारमा, त्यतिवेलाका सिनेमा नेपाली समाजको कथा बोकेरै सफल भए। यसरी उठेको नेपाली फिल्म उद्योग धरासायी हुन लाग्यो भन्ने रोना–धोना चल्दा अहिलेका फिल्ममा न नेपाली कथा छ न त सशक्त हिरोइनको प्रस्तुति। यो अवस्थामा सिनेमालाई सबल बनाउन राज्यले पनि चासो दिनुपर्ने खरेल बताउँछन्।

उनको विचारमा, सरकारले फिल्मलाई सांस्कृतिक उद्योग मानेर विदेशी लगानीप्रति माथिको अंकुश हटाउनुपर्छ, जसबाट ताजगीको हावा चलोस्। यसैगरी, सरकारले मौलिक नेपाली चलचित्रहरूलाई देश–विदेशको महोत्सवहरूमा सामेल हुने वातावरण बनाउनुपर्छ। औपचारिक शिक्षामा सिनेमा मेकिङको विषय राखेर अनि लाइब्रेरी र आर्काइभ बनाएर पनि नेपाली सिनेमाको दिन फिराउन मद्दत गर्न सकिने खरेल बताउँछन्।

मेकरहरूको तहबाट नेपाली फिल्मलाई उम्दा बनाउने अरू पनि थुप्रै उपायहरू छन्, जसमा अहिलेसम्म काम भएको छैन। जस्तो, कथा र कलाकारको उत्कृष्टताका लागि सिनेमाले थिएटरसँग मिलेर जान सक्छ। सिनेमाले प्रमोसनका लागि टीभीलाई प्रयोग गर्न सक्छ। तर, बलिउडबाट ‘आइटम डान्स’ सम्म टिप्न भ्याएको नेपाली सिनेमाले भारतमा झ्लक दिखलाजा, अन्ताक्षरी, सारेगम आदि टीभी कार्यक्रमले हिन्दी सिनेमालाई राम्रो सहयोग पुर्‍याएको ख्यालै गरेको छैन।

सिनेमा पढेर अनि व्यावहारिक रूपमा सिकेर आएका नयाँ फिल्ममेकरहरूप्रति नेपाली दर्शकले ठूलो अपेक्षा राखेका छन्। सिनेमाले राष्ट्रिय ध्वजावाहक विमानले जस्तै देश र समाजको पहिचान बोकेको हुन्छ भन्ने कुरालाई व्यवहारमा देखाउने गरी उनीहरूबीच सहकार्य भयो भने गतिलो आधार तयार गरिसकेको नेपाली चलचित्रले फड्को मार्न धेरै समय लाग्ने छैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>