टिप्पणीशुक्रबार, फाल्गुण २, २०७०

टिनएज प्रेगनेन्सीः सम्बोधन अत्यावश्यक

डा. सुमनराज ताम्राकार

अघिल्लो साता हिमाल खबरपत्रिकामा छापिएको ‘कर्णालीका किशोरी आमा’ शीर्षकको सामग्री वास्तवमा नेपालले भोगिरहेको अनेक गम्भीर समस्यामध्ये एउटाको तस्वीर हो। नेपालको कुल जनसंख्या २ करोड ६६ लाखमध्ये ८८ लाख (३३ प्रतिशत) १०–२४ वर्ष उमेर समूहका छन्। सन् १९६० यता नेपालको जनसंख्याको मुख्य हिस्सा युवाको रहँदै आएको छ र आगामी दुई दशकसम्म यही अवस्था रहने अनुमान छ।

नेपाली केटाहरूको २१.६ वर्षमा विवाह हुने र केटीहरूले औसत १७.५ वर्षमा विवाह गरेर १९.६ वर्षमा पहिलो बच्चा जन्माउने गरेको अध्ययनले देखाएका छन्। बिहेको दुई वर्षमा पहिलो सन्तान जन्माउने ८० प्रतिशत दम्पतीमध्ये १७ प्रतिशत आमा १३ देखि १९ वर्षभित्रका हुन्छन्। नेपालमा घरमै सुत्केरी भएकाहरूको यकिन तथ्याङ्क छैन, तर जनगणना– २०६८ को आँकडा केलाउँदा ‘टिनएज प्रेगनेन्सी’ को समस्या चर्को छ भन्ने बुझिन्छ। संसारमा वार्षिक करीब एक करोड ३० लाख बच्चा किशोरी आमाबाट जन्मिरहेका छन्। त्यसमध्ये ९० प्रतिशत विकासोन्मुख देशहरूमा जन्मन्छन्।

‘टिनएज प्रेगनेन्सी’ र गर्भपतनबीच अन्योन्याश्रित सम्बन्ध छ। अमेरिकामा ‘टिनएज प्रेगनेन्सी’ का कारण गर्भ तुहाउनेहरूको संख्या उच्च छ। गरीब मुलुकहरूका लागि कम उमेरका आमाहरूको संख्या एउटा प्रमुख स्वास्थ्य तथा सामाजिक समस्या बनेको छ। नेपाली गाउँघरमा यो समस्या कति चर्को छ भन्ने कुरा हिमाल को सामग्रीले देखाएकै छ।

उमेर नपुगी गर्भवती बन्ने निरक्षर किशोरीहरूको संख्याले शिक्षाको महत्व दर्शाउँछ। १३–१७ वर्षमा गर्भवती हुने निरक्षर किशोरीको संख्या एसएलसी वा त्यसभन्दा बढी पढेकाको भन्दा तीन गुणा बढी छ। ‘टिनएज प्रेगनेन्सी’ समस्या मूल रूपमा गरीबी र अशिक्षासँगै जोडिएको छ। त्यसमाथि, गरीब देशहरूको कानूनले बालविवाहको परम्परालाई रोक्न सकेको छैन।

कारण र असर

किशोरीहरू मद्यपान तथा नशालु पदार्थको सेवन एवं सहपाठीहरूको करकाप वा लहैलहैमा यौन गतिविधिमा संलग्न हुन पुग्छन्। बढीजसो ‘टिनएज’ केटीहरू आफ्ना दौंतरीभन्दा वयस्कहरूबाट गर्भवती भएको पाइएको छ। ‘टिनएज प्रेगनेन्सी’ का घटनाबाट घरेलु हिंसाले पनि प्रश्रय पाइरहेको छ।

बाल्यावस्थामा घरेलु हिंसा, पारिवारिक बेमेल, दुर्व्यवहार भोगेका बालिकाहरू सानै उमेरमा आमा बन्ने सम्भावना बढ्ता हुन्छ। सौतेनी आमाको छत्रछायाँमा हुर्केका, निरक्षर वा कम साक्षर युवतीहरू चाँडै आमा बन्ने गरेको पाइएको छ। १३–१९ वर्षको उमेरमा सुत्केरी हुँदा मृत्यु हुने सम्भावना दोब्बर हुन्छ। गर्भपतन निषेध भएका मुलुकहरूमा यस्तो मृत्यु दर अझ् बढी छ।

विकासोन्मुख देशहरूमा वर्षेनि ७० हजार किशोरीको ज्यान गइरहेको विश्व स्वास्थ्य संगठनको आँकडाले देखाउँछ। मातृ–शिशु मृत्युदर बढाउने यो प्रवृत्तिले बाँचेका आमाहरूलाई पनि कम्पन छुट्ने, पिसाब चुहिने लगायतका समस्यामा पार्छ। किशोरी उमेरमै अभिभावकत्व वहन गर्नुपर्दा सामाजिक, आर्थिक, मानसिक प्रभाव पनि पर्छन्। ‘टिनएजर’ आमाले बच्चाको संवेगात्मक विकासमा ध्यान दिन सक्तैनन्। कालान्तरमा त्यसको असर बच्चामा देखिन्छ।

त्यसकारण, समयसापेक्ष यौन शिक्षा, परिवार नियोजनका साधनहरू सम्बन्धी सेवा–परामर्शमा जोड दिनुको विकल्प छैन। युवा वर्गमा यौन सम्बन्धले निम्त्याउन सक्ने समस्याबारे निर्धक्क छलफल, जोखिममा रहेकाहरूलाई लक्षित कार्यक्रम संचालन र प्रताडित व्यक्तिहरूलाई सघाउने वातावरण बनाउनु आजको आवश्यकता हो। किशोरी आमाहरूले समाजिक प्रताडना होइन, उनीहरूको शिक्षाको निरन्तरता र शिशु स्याहारमा सहयोग चाहिएको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>