समाचारआइतबार, फाल्गुण ४, २०७०

हिउँदमा किन पर्‍यो पानी

senchhelung

राजधानी सहित देशका विभिन्न ठाउँमा तीन दिनदेखि भएको वर्षाले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै डडेल्धुरामा वर्षा भएको छ । धनकुटामा भने सबैभन्दा कम पानी परेको छ ।

डडेल्धुरामा ४९ दशमलव ९ मिलिमिटर र धनकुटामा शुन्य दशमलव एक मिलिमिटर पानी परेकोे महाशाखाले जनाएको छ ।

कहाँ–कति पानी पर्‍यो?

मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा यो वर्ष दोस्रोपटक हिउँ परेको छ । तस्वीरः सुरजकुमार भुजेल/मकवानपुर

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा दिपायलमा ३८.९ मिलिमिटर, वीरेन्द्रनगरमा १९.९, नेपालगञ्जमा २०.३, जुम्लामा १४.९, दाङमा १७.८ र पोखरामा ५.४ मिलिमिटर वर्षा भएको छ । यस्तै, भैरहवामा २५.६, सिमरा ६.८, ओखलढुंगामा ०.६, विराटनगरमा ५.१, लुम्लेमा ७.६ र काठमाडौंमा २.९ मिलिमिटर पानी परेको छ ।

जोमसोम र ताप्लेजुङमा वर्षा भएन भने धनगढीमा वर्षा मापन नगरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी नेपालका केही ठाउँ बाहेक ४ फागुनमा पनि धेरै ठाउँमा वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद मणिरत्न शाक्य । तस्वीरः हिमाल अर्काइभ

राजधानीमा बिहान र दिउँसो केही वर्षा भएको छ । वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्छन्, “यो प्रि–मनसुन शुरु हुनु अघिको वर्षा हो ।”

अन्तिम हिउँदे झरी

अहिले हिउँद सकिनै लागेको छ । हिउँदमा पश्चिमी वायु पूर्वतर्फ वहन्छ । तर, वर्षा याममा त्यसको ठीक उल्टो पूर्वी क्षेत्र हुँदै वायु पश्चिमतर्फ वहन्छ ।

वरिष्ठ मौसमविद शाक्यका अनुसार हिउँद सकिन थाल्दा पश्चिमबाट चल्ने हावा कम हुँदै गएको र पूर्वबाट हावा वहने समय शुरु हुनै लाग्दा वर्षा भएको हो । तर, यो वर्षा प्रि–मनसुनको नभई हिउँदे यामकै अन्तिम चरणको वर्षा हो ।

उनी भन्छन्, “पश्चिमी वायुको प्रभावका कारण ‘लाष्ट फेज’को वर्षा भएको हो ।” मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जनाएको छ ।

महाशाखाले अब मौसम सुधार हुँदै जाने दावी गरेको छ । पश्चिमीबाट पूर्व हुँदै मौसम सफा हुँदै आएको महाशाखाले दावी गरेको छ । शाक्य भन्छन्, “भोलीदेखि नै मौसममा सुधार हुन थाल्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>