रिपोर्टबुधबार, फाल्गुण ७, २०७०

सुन होला नेपालमा ?

हिमालखबर

-रमेश कुमार

नेपालका नदीकिनारका बालुवामा सुनका कणहरू भेटिए पनि सरकारले खोज्न प्राथमिकता नदिएकाले नेपालमा कति सुन छ भन्ने अझै थाहा हुनसकेको छैन । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक हिफजुर रहमान स्वीकार्छन्, “भौगर्भिक रूपले नेपालमा सुन खानी भएकोमा शंका नभए पनि खोजी प्रभावकारी नहुँदा कुन परिमाणमा छ भन्ने पत्ता लागेको छैन ।”

विभागको अध्ययनले ६१ स्थानमा सुन हुनसक्ने सम्भावना देखाएको छ, जसमध्ये अधिकांश स्थान ‘प्लेसर गोल्ड’ भनिने बालुवाका कणमा भेटिने प्रकारका छन् । सुनकोशी, कालीगण्डकी, चमेलिया, राप्ती, मादी, म्याग्दी, मारोडी, मोदी, महाकाली, त्रिशूली, मस्र्याङ्दी, सेती सहितका दुई दर्जन नदी किनारको बालुवामा सुन भेटिएको छ । ती नदीमा सुन भेटिनुले उद्गममा सुन खानी हुनसक्ने सम्भावना देखाउँछ । भौगर्भिक हिसाबले सुन रहने आधार पत्थर (सोर्स रक) नेपालको हिमालय, चुरे र महाभारत पर्वत क्षेत्रमा भेटिएको विभागका उपमहानिर्देशक रहमान बताउँछन् ।

अधुरो खोजी

नदी किनारको बालुवामा सुन चाल्ने चलन धेरै पुरानो भए पनि सुन पाइने सम्भावनाबारे अध्ययन हुन थालेको आठ दशक पुगेको देखिन्छ । सन् १९३५ ताका भारतीय वैज्ञानिक एस के चटर्जीले कालीगण्डकी नदी क्षेत्रमा अध्ययन गरेर त्यहाँ ४ लाख १३ हजार ४८७ ग्राम सुन रहेको निष्कर्ष निकालेका थिए । १९५८ मा जेआर मानन्धर सहितको टोलीले मारोडी खोलामा गरेको अध्ययनले पनि सुन भएको संकेत दिएको थियो । विभागको अध्ययनले बूढीगण्डकी नदीको बालुवामा १८ किलो सुन हुनसक्ने देखाएको छ । एक दशकअघि रोल्पाको लुङ्ग्री खोलामा गरिएको अध्ययनले एक टन ढुङ्गामाटोमा ६.७ ग्रामसम्म सुन रहेको देखाएको थियो । त्यहाँको २५ किमी लामो र २० मिटर चौडा क्षेत्रमा सुनका कणहरू भेटिएको थियो । बैतडीको बाङ्गाबगर, गोरङ्ग, जमारीगाढ, डडेलधुराको बामनगाउँमा गरिएको अध्ययनले पनि प्राइमरी भनिने चट्टानभित्र एक टन ढुङ्गामाटोमा ०.२ देखि ५.६ ग्राम सुन रहेको देखाएको थियो । विभागले प्रकाशित गरेको ‘मिनरल रिसोर्सेज अफ नेपाल’ नामक पुस्तकमा नेपालका १४ स्थानमा पत्थरमा र ४७ स्थानमा बालुवामा सुन देखिएको उल्लेख छ ।

विभागको प्रारम्भिक अध्ययनले नदी किनारको एक टन बालुवामा ०.१ देखि ४ ग्रामसम्म २४ क्यारेटको सुन रहेको देखाउँछ । आँखाले नदेखिए पनि सुनको घनत्व बढी हुने भएकाले बालुवा छान्दा सुन फेला पर्छ । अन्तर्राष्ट्रिस्तरमा एक टन बालुवा छान्दा औसत ३ ग्राम सुन भेटिंदा आर्थिक सम्भावनाका दृष्टिले लाभदायक मानिए पनि नेपालमा भने प्राविधिक क्षमताको अभावका कारण एक टन बालुवा छान्दा ५ ग्राम सुन भेटिंदा मात्र लाभदायक हुने विभागका भूगर्भविद् धर्मराज खड्का बताउँछन् । त्यही कारण नदीको बालुवामा भेटिने सुन छान्नु आर्थिक रूपले लाभदायक नहुने र खानीको सुन निकाल्न लाग्नु उपयुक्त हुने उनको धारणा छ ।

रोल्पाको लुङ्ग्री खोलामा भेटिएको सुन ।

रोल्पामा पाइएको एक टन ढुङ्गामाटोमा ६.७ ग्राम सुन नै नेपालमा पाइएको सबैभन्दा राम्रो अनुपात हो । तर, दुइटा निजी कम्पनीले गरिरहेको अन्वेषणले त्यहाँको विस्तृत जानकारी दिन सक्ने विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झ बताउँछन् । बैतडीमा पनि त्यति अनुपातमा सुन हुनसक्ने संकेत देखिएको वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्लेको भनाइ छ । यो हिसाबले मुलुकको पूर्व भन्दा पश्चिमी भेगमा सुनको सम्भावना बढी रहेको देखिन्छ । तर, इलामको बेरिङ खोला, मकवानपुरको चण्डीखोला, भोजपुरको छिर्लिङखोला जस्ता ठाउँमा पनि खानीको सुन भेटिने सम्भावना देखिएको छ ।

खानीमा तामा, फलाम सहितका धातु वा क्वार्जसँग मिलेर सुन बसेको हुन्छ । ताप र चापका कारण आग्नेय चट्टानमा सुन भेटिने सम्भावना बढी हुन्छ । तर, नेपालको हिमालयमा हुने पत्रे र महाभारतमा हुने मेटामर्फिक चट्टानमा पनि सुन पाइने उपमहानिर्देशक रहमान बताउँछन् ।

विभागले अहिलेसम्म मध्य पहाडी भूभागमा मात्र अध्ययन गरेको छ । हिमाली र पूर्व तथा पश्चिमी पहाडी क्षेत्रको गरेको छैन । विभागका वरिष्ठ इन्जिनियर झका अनुसार खनिजको सम्भावना रहेको ६० प्रतिशत क्षेत्रको अध्ययन हुनसकेको छैन । सुनका लागि हिमालय उच्च सम्भावना रहेको क्षेत्र भएको झ बताउँछन् भने भूगर्भविद् खड्का पनि हिउँले ढाकिएको उच्च हिमाली क्षेत्रमा सुनको सम्भावना हुनेमा सहमति जनाउँछन् ।

किन भएन अध्ययन

कालीगण्डकीको बालुवा चाल्दा भेटिएको सुन ।

खनिज अन्वेषण र उत्खनन् सरकारी प्राथमिकतामा नपरेकाले सुनबारे अध्ययन गर्न नसकिएको विभागका अधिकारीहरूको भनाइ छ । त्यही कारण विभागसँग अध्ययन गर्न चाहिने नयाँ प्रविधि, फिल्ड अध्ययन गर्ने प्रविधि र परीक्षण गर्ने गतिलो ल्याब नभएको भूगर्भविद् खड्का बताउँछन् । फलाम, तामा, सुन जस्ता खनिज उत्खनन् गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ । परिमाण थाहा पाउने ‘रासायनिक परीक्षण’ गर्ने प्रविधि नेपालमा भए पनि धातुको अवस्था तथा उत्खनन्, प्रशोधन गर्ने र नमूनाको विस्तृत परीक्षण गर्ने प्रविधि नेपालमा छैन । धातुजन्य खनिजको अध्ययन गर्न सम्भावित स्थानको नमूनालाई ‘मिनरल प्रोसेसिङ’ गर्दा मात्र उत्खनन्को सम्भावना, प्रविधि, फाइदा/नोक्सानीको विस्तृत तथ्य पाउन सकिन्छ । नेपालमा ती प्रविधि नभएकाले भारत वा अरू देशमा नमूना परीक्षण गर्दा लाखौं रुपैयाँ खर्च हुने बताउँदै भूगर्भविद् खड्का भन्छन्, “हामीसँग हिउँ जमेको क्षेत्रमा अन्वेषण गर्ने प्रविधि पनि छैन ।”

तर, बालुवाको सुन संकलन गर्न चिनियाँ कम्पनीहरूले उल्लेखनीय चासो देखाएका छन् । तिब्बतको नदी किनार र ल्हासा सहितका पठारमा चिनियाँ सरकारले निजी कम्पनीहरूलाई सुन खोज्न रोकेपछि उनीहरू नेपाल भित्रिएको विभागका अधिकारीहरूको भनाइ छ । गत आर्थिक वर्षसम्म विभागबाट सुन खोज्न अनुमति लिएका ६ दर्जनमध्ये ६० भन्दा बढी चिनियाँ कम्पनी रहेको र नदी किनारका करीब ८५ प्रतिशत सुन भेटिएका क्षेत्र उनीहरूले दर्ता गराइसकेको विभाग स्रोत बताउँछ । तर, नमूना परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले चीन लगेर परीक्षण गराउँदा सुनको परिमाण पर्याप्त नपाएपछि चिनियाँ कम्पनीहरूले काम रोकेको विभागका इन्जिनियर झले बताए । “धेरैजसो कम्पनी सम्पर्कमै छैनन्” उनको भनाइ छ । विभागका अर्का एक उच्च अधिकारी भने नेपालमा सुन खोज्न भित्रिएका चिनियाँहरूको भिसा लिने उद्देश्य मात्र रहेको दाबी गर्छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...