अर्थ/बजारमंगलबार, फाल्गुण ६, २०७०
बैंक डकैती प्रकरणमा म्यानेजरका भाइ पक्राउ
दुई महिनाअघि महेन्द्रनगरमा नबिल बैंक डकैती गरेको अभियोगमा प्रहरीको अनुसन्धान टोलीले प्रबन्धकका भाई दिलबहादुर सिंहलगायत शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाएको छ ।
कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितको नेतृत्वमा गठित छानबिन टोलीले केही दिनयता शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ । बैंक कर्मचारी र तिनका आफन्तसमेत अनुसन्धानमा तानिएका छन् ।
यसअघि पक्राउ गरी हिरासतमा राखिका कर्मचारीलाई पनि पुनः सोधपुछका लागि पक्राउ गरिएको छ ।
प्रहरी नायब उपरीक्षक पण्डितले डकैतीमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको बताए । ठेकेदार व्यवसायी सिंहलाई चाँदनीबाट पक्राउ गरिएको हो । यसैगरी बैंकका कर्मचारी र सवारी चालकसमेत अनुसन्धानका लागि तानिएका छन् ।
२४ मंसीरमा नबिल बैंक शाखा कार्यालय महेन्द्रनगरबाट धनगढीस्थित राष्ट्र बैंकमा रकम जम्मा गर्न जाने क्रममा मुखमा नकाब लगाएका हतियारधारी समूहले कैलाली र कञ्चनपुरको सीमा क्षेत्र मालाखेतीबाट रु दुई करोड ३१ लाख लुटपाट गरेका थिए । त्यसपछि प्रहरीले बैंकका सवारी चालकसहित २० जनालाई नियन्त्रणमा लिएर छानबिन गरेको थियो ।
गत महिना कैलाली प्रहरीले अनुसन्धानमा केही प्रगति हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अनुसन्धानमा प्रगति नहुँदा प्रहरीको चौतर्फी आलोचना भएको थियो ।
पछिल्लो पटक सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले नबिल प्रकरणलाई प्रमुख प्राथमिकता राखेर अुनसन्धान टोली दुवै जिल्लामा खटाएका थिए । यसबाहेक शुरुदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि डकैती प्रकरणको अनुसन्धान गरिरहेको छ ।
स्रोतका अनुसार दुई सातासम्म शङ्कास्पद व्यक्तिहरूको सूचना सङ्कलन गरी अनुसन्धान टोलीले सोधपुछका लागि पक्राउ गर्न थालेको हो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
